काठमाडौँ। विवादित एमाले कार्यकर्ता हरि सिलवाललाई राष्ट्रिय वाणिज्य बैंकबाट राजिनामा गर्न सरकारले ताकेता गरेको छ। सो पदबाट राजिनामा दिन नमान्नेलाई बर्खास्त गरिने भएको हो ।
प्रचलित व्यवस्था विपरीत हुनेगरि हरि सिलवाल राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनेका थिए। सञ्चालकको नियुक्ति लिँदासम्म उनी सोही बैंकको ऋणी थिए । उनले गाडी किन्नका लागी राष्ट्रिय वाणिज्य बैंकबाट अटो लोन लिएका थिए ।
प्रचलित व्यवस्था अनुसार बैंकको ऋण सोही बैंकको सञ्चालक बन्न पाइन्न । तर, सो व्यवस्थाको धज्जी उडाउँदै सिलवाल बैंकको सञ्चालक बनेका थिए । उनको सञ्चालक नियुक्तिको विषयमा बैंकभित्रै विवाद चलिरहेको थियो ।
यता तीन वटै सरकारी बैंकका अध्यक्षले पनि हालै राजीनामा दिएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले राजीनामा दिएका हुन् ।
उनीहरु तीनैजनाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सहयोग भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको बताएका छन् । उनीहरुले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका छन् ।
तीनवटै बैंकका अध्यक्षसँगै अन्य सञ्चालकहरुले समेत राजीनामा दिएका छन् । अध्यक्षसँगै सरकारले नियुक्त गरेका र अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व भएका सञ्चालकहरुले बुधबार नै राजीनामा दिएका हुन् ।
यसो त सरकारले ल्याएको अध्यादेशले राष्ट्र बैंक र बैंकका अध्यक्ष र सञ्चालकलाई छोएको थिएन । तर, सरकारले सरकारी बैंकमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार बैंकका अध्यक्ष र सञ्चालकले राजीनामा बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्