Skip to content

‘फुल अडिट’ को केस घुस खुवाएर मिलाईदिने भन्दै दलाली गर्ने चार्टर्ड एकाउन्टेन्ट र कर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा !

काठमाडौँ । सेवाग्राहीको ‘फुल अडिट’का क्रममा भएको कर निर्धारण केहि घुस दिएर कम गरिदिने भन्दै घुसको बार्गेनिङ गर्ने आरोपमा कर अधिकृत एसएस पालसँगै चार्टर्ड एकाउन्टेन्ट रिझन यादव पनि भ्रष्टाचार मुद्दामा तानिएका छन् । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत पालसँग मिलेर घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका खेलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८-७९ को पूर्ण कर लेखापरीक्षण (फुल अडिट) पछि भएको कर निर्धारणसम्बन्धी काम फर्छ्यौट गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले पेस गरेका बिल–बिजक नमिलेको भन्दै करसम्बन्धी काम रोकिएपछि घुस रकमको बार्गेनिङमा यादव संलग्न भएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

कर अधिकृत र सेवाग्राहीबीचको घुसको ‘डिल’ मिलाउने भूमिकामा चार्टर्ड एकाउन्टेन्ट यादव प्रयोग भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अनुसन्धानका क्रममा पालले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साउन ७ गते उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो । पालले घुस रकम कार्यालयमै ल्याउन भनेपछि पाँच लाख रुपैयाँ बुझ्ने क्रममा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले पालले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी सेवाग्राहीसँग गैरकानुनी रूपमा घुस मागेको तथा रकम लिएको आरोप लगाएको छ । त्यस्तै, घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट यादवलाई पनि प्रतिवादी कायम गरिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दायर गरेको आरोपपत्रमा दुवै प्रतिवादीलाई कानुनबमोजिम सजाय तथा बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।