काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले सुरु गरेको क्याम्पस प्लेसमेन्ट कार्यक्रम ‘सुपर फ्लप’ भएको छ । आइक्यानले सोचे अनुसार कम्पनीहरु उपस्थित नहुँदा र सहभागीहरुले सोचे अनुसारको काम नहुँदा क्याम्पस प्लेसमेन्ट कार्यक्रम औपचारिकतामा सिमित देखिएको हो ।
‘सोचेझैँ क्याम्पस प्लेसमेन्ट रैनछ’ : सहभागी
कार्यक्रममा सहभागी कतिपय सिएहरुले क्याम्पस प्लेसमेन्ट कार्यक्रमका नाममा क्वालिफिकेसनकै हुर्मत लिने काम भएको गुनासो गरेका छन् । ‘म सेमि क्वालिफाइड हुँदै ४५ हजार तलव खाएको मान्छे हो, क्याम्पस प्लेसमेन्टमा ४० हजार तलव अफर गरियो । मैले तलव अलि सोचेजस्तो भएन भन्दा इन्टरभ्यु लिनेहरु हाँसे मात्र ।’ एक सहभागीले भने, ‘प्याकेजको डिल होला भनेर सोच्नु पनि गलत थियो, तर यतिसम्म कमजोर तलव अफर हुन्छ भन्ने सोचिएको थिएन ।’
अझ केहि सिएहरुले त क्याम्पस प्लेसमेन्टमा हुने भनिएको व्यवहार नै नभएकोसमेत दुखेसो पोखे । ‘कतै जागिर नपाएर आइक्यानको क्याम्पस प्लेसमेन्टमा आएको जस्तो व्यवहार भयो । केहि नजानेकोजसरी व्यवहार गरियो ।’ ती अर्का सहभागीले भने, ‘क्याम्पस प्लेसमेन्टमा गएर जागिर खाएको भन्दा पनि लाज हुने अवस्था रहेछ ।’
कम्पनीहरुसँग आइक्यानको आन्तरिक ‘डिल’- ‘जागिर दिनु पर्दैन, सहभागीमात्र भईदिए हुन्छ’
कतिपय कम्पनीहरुसँग त आइक्यानका अधिकारीहरुले जागिर दिनुपर्दैन, सहभागी मात्र भईदिए हुन्छ भनेर उनीहरुका प्रतिनिधि ल्याएकोसमेत पाइएको छ । एक कम्पनीले त आन्तरिक रुपमा आफ्नो एचआरसँग कुनै सल्लाह नै नगरी यस्तो अन्तर्वार्ता लिएकोसमेत पाइएको छ ।
आइक्यान स्रोतका अनुसार आइक्यानका केहि अधिकारीअरु विभिन्न कम्पनीमा गएर आइक्यानको क्याम्पस प्लेसमेन्टमा सहभागी भईदिन अनुनय विनय नै गरेका थिए । ‘फलानोले भनिहाल्नुभयो, लौ न त लोगो रखिदिउँ, एक जना मान्छे पठाईदिउँ’ भन्ने शैलीमा कम्पनीहरुले गरेको व्यवहार पनि सो क्याम्पस प्लेसमेन्टमा प्रष्ट देखिन्थ्यो ।
के भन्छ आइक्यान ?
आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोलले क्याम्पस प्लेसमेन्टमा ९२ जना सिए सहभागी भएको जानकारी दिए । तर कति सिएले क्याम्पस प्लेसमेन्टमा जागिर पाए भन्ने जानकारी उनले दिएनन् । आइक्यान स्रोतका अनुसार ९२ जनामा जागिरको फाइनल डिल ६ जनाको मात्र भएको छ, त्यो पनि कमजोर तलवमा । क्याम्पस प्लेसमेन्टको इज्जत जोगाइन थप केहि सिएहरुलाई जागिरमा राख्न, आइक्यानले नै दबाब दिईरहेकोसमेत पाइएको छ ।
केहि कम्पनीहरुले त आफ्नो लोगो मात्र राखेको र जागिरका लागि सिए लिने कुनै पनि उद्देश्य र सम्भावना नभएकोसमेत प्रष्ट पारेका छन् । ‘आइक्यानबाट क्याम्पस प्लेसमेन्टको कुरा आयो, हामीले हुन्छ भन्यौँ, तर, जागिर दिने कुनै पनि सम्भावना वा भ्याकेन्सी अहिले हाम्रोमा छैन ।’ क्याम्पस प्लेसमेन्टमा सहभागी एक सदस्यले भने, ‘आइक्यानको कुरा पनि सहभागी भईदिनुहोस्, मान्छे राखिहाल्नुपर्दैन भन्ने थियो ।’
छनोटमा परेकाको जागिर पनि विवादमा तानिने सम्भावना !
कतिपय कम्पनीमा सिएहरु छानिएका त छन्, तर ती कम्पनीमा भएको एचआर पोलिसी अपडेट नभएको स्थितिमा यसरी छनोटमा परेका सिएहरुको एडजष्टमेन्ट निकै गाह्रो हुने प्रष्ट देखिन्छ । ‘अहिलेलाई केहि सिए राखियो । तर क्याम्पस प्लेसमेन्ट नै विवादित हुने देखिएको छ । छनोट गरिएको भनिएकाहरुलाई जागिरमा कहिलेसम्म राख्ने, राख्ने कि नराख्ने भन्ने विषयमा कम्पनीले धेरै सोचिसकेको छैन ।’ सो कार्यक्रममा सहभागी अर्को एक कम्पनीका प्रतिनिधिले भने ।
(क्याम्पस प्लेसमेन्टमा जागिर खानु भनेको इज्जतको विषय पनि हो । ती सबै नियुक्तिहरु सार्वजनिक चासोका नियुक्ति हुन् । हामी क्याम्पस प्लेसमेन्ट हुनुपर्छ, तर ढंगको हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छौँ । यसरी भएको हरेक नियुक्तिमा हाम्रो चासो, सकारात्मक र रचनात्मक सहयोग र खबरदारी दुवै हुनेछ । – सम्पादक

प्रतिक्रिया दिनुहोस्