काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा लेखापरीक्षकहरुविरुद्ध पनि मुद्धा दर्ता भएको छ । १ करोड ३५ लाख बिगो दाबी गर्दै ४ सिए विरुद्ध मुद्धा दर्ता भएको हो ।
सिआईबीका अनुसार भुवनप्रसाद गैरे, सुरेशचन्द्र श्रेष्ठ, बिनयकुमार श्रेष्ठ, केशबप्रसाद न्यौपाने तथा तुलाराम कुर्मीविरुद्ध मुद्धा दर्ता भएको छ । उनीहरुले सहि रुपमा लेखापरीक्षण नगरेको दाबी अनुसन्धान प्रतिवेदनको छ ।
नियामक आइक्यानले हेर्नुपर्ने केस भए पनि हदैसम्म लापर्वाही गरेका कारण उनीहरु विरुद्ध पनि मुद्धा दर्ता भएको सिआईबीको दाबी छ ।
बर्षौंसम्म केशब प्रसाद न्यौपानेकै अडिट
कर्णालीका लागि सदावाहार अडिटर थिए न्यौपाने । कानुनअनुसार ३ बर्षसम्म निरन्तर लेखापरीक्षण गर्ने लेखापरिक्षकले चौथो बर्ष लेखा परीक्षक भएर काम गर्न पाउँदैन । यहि कानुनका कारण बीचमा एक बर्ष सुरेशचन्द्र श्रेष्ठले बैंकको अडिट गरेका थिए । त्यसपछि पनि न्यौपानेले नै बैंकको अडिट गरिरहेका थिए ।
कर्णालीमा काम गर्ने कर्मचारीहरुले सबै ठिकठाक छ भनेर लेख्ने, कतै पनि कैफियत नदेखाउने लगायतका मौखिक सर्त राखेर न्यौपानेलाई संचालक समितिले लेखापरिक्षकको नियुक्ति दिने गरेको थियो । ३ बर्षपछि नियुक्त भएका लेखापरिक्षकको नाम पनि न्यौपानेले नै सिफारिस गरेका थिए ।
तर, कर्णालीमा भएको अपचलनबारे तथ्य बाहिर आएपछि उनले नलेखेको तथ्य बाहिर आयो । घोटाला प्रकरणमा सीआईबीले अनुसन्धान थालेपछि उनलाई प्रहरीले दोषी देख्यो, र अन्तत: उनी विरुद्ध मुद्धा दर्ता भएको छ ।
उनलाई अदालतले समेत दोषी देखेमा उनले आर्थिक क्षति त व्यहोर्नुपर्ने छ नै, उनी जेल जाने सम्भावना पनि छ । नियामक आइक्यानले पनि उनलाई यो प्रकरणमा कारवाही गर्न सक्छ । उनी कारवाहीमा परेको खण्डमा उनले पब्लिक कम्पनीको अडिट केहि समयका लागि गर्न पाउने छैनन् ।
के भन्छन् न्यौपाने ?
यता न्यौपाने भने आफुलाई सीआईबीबाट पत्र आएको र आएको पत्रको जवाफ आफुले दिएको बताउँछन् । उनले मुद्धा दर्ता हुँदासम्म आफुलाई त्यस विषयमा थाहा नभएको दाबी गरेका छन् । ‘मैले पनि समाचार पढेर हामीविरुद्ध पनि मुद्धा दर्ता भएको छ भनी थाहा पायौँ । केहि पत्र आएको थियो, हामीले जवाफ पठाएका हौँ, बाँकी थाहा छैन ।’ सिए सरोकारसँग कुराकानी गर्दै न्यौपानेले भने ।
आइक्यानले बुझेरै बोक्न चाहेन न्यौपानेलाई
यसअघि सीआईबीले कोहि सिएविरुद्ध यस्तो केसमा मुद्धा दर्ता गर्न खोज्दा नियामक आइक्यानले आफ्नो क्षेत्राधिकार भन्दै सीआईबीलाई रोक्ने कोसिस गर्थ्यो भने आफुले सो केस हेर्ने बताउँथ्यो । यस्ता अन्य घोटालाका केसमा पनि सीआईबीले समेत लेखापरिक्षकको हकमा आइक्यानलाई अनुसन्धान गर्न भनेर पत्र पठाउँथ्यो । तर यसपाली यस्तो भएन । न्यौपानेले हदैसम्म लापरवाही गरेको भन्ने प्रारम्भिक जानकारीका आधारमा आइक्यानका अधिकारीहरुले सीआईबीलाई दिएको ग्रीन सिग्नलकै कारण न्यौपानेविरुद्ध मुद्धा दर्ता भएको छ । मुद्धा दर्ता भएका अन्यमध्ये केहि लेखापरिक्षकहरुले आफुहरु पनि न्यौपानेकै कारण फसेको दाबी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्