काठमाडौँ। प्लस टुको परीक्षा सिएसँगै सिए पढाउने कोचिङ्ग सेन्टरहरुमा विद्यार्थीको भिजिट बाक्लै छ । आफैंले बुझेर, आफ्ना शिक्षकहरुले भनिदिएर, गुगलमा खोजेर, सिए सरोकारमा हेरेर, अङ्कल, आन्टी, काका काकीसँग सल्लाह गरेर प्लस टु सकेकाहरु विभिन्न कोचिङ्ग सेन्टरहरुमा काउन्सिलिङ्गका लागि पुगिरहेका छन् ।
सिएका बारे बुझ्नदेखि, सिएको चार्म, र चुनौतीबारे सुन्न विद्यार्थीहरु सिएको कोचिङ्ग सेन्टर पुगिरहेका छन् । सिए राम्रो स्कोप भएको पढाई हो, सस्तो छ, हामीकहाँ राम्रो पढाई छ त सबैले भन्छन् नै, तर सिएमा धेरै विद्यार्थी किन फेल हुन्छन् ? यो प्रश्नको जवाफ धेरैले पाएकै छैनन् । यो जवाफ जरुरी छ, किनकि फेल किन भईन्छ भन्ने जाने, त्यसले पास हुने बाटोमा डोहोर्याउन सजिलो गर्छ ।
नेपालमा प्लस टु लगत्तै सिए तीनखाले विद्यार्थीले पढ्छन् । एउटा एसइइ लगत्तै प्लस टु पछि सिए पढ्ने हो भनेर सोचेरै मेनेजमेन्ट पढेका । अर्काथरी छन्, प्लस टु मेनेजमेन्ट पढीयो, तर त्यसपछि अलि राम्रो के पढ्ने भन्ने विषय खोज्दै गर्दा सिएको स्कोप बुझेर सिए पढ्ने निर्णय गरेका । अनि अर्काथरी छन् साइन्सवाला । प्लस टुमा साइन्स पढियो, अव सिए पढ्ने । वा डाक्टरमा नाम निस्किएन, अव सिए पढ्ने । प्लस टुमा साइन्स पढियो, कमाउनुपर्ने पैसा रहेछ, अव सिए पढ्ने । डाक्टर इन्जिनियरहरु बेरोजगार छन् रे भन्ने पो सुनियो, अव सिए पढ्ने ।
प्लस टुमा साइन्स पढियो अव सिए पढ्न मिल्छ ? भन्नेहरु धेरै छन् । यो प्रश्नको सहज जवाफ हो मिल्छ । साइन्स मात्र होइन, साइन्स, मेनेजमेन्ट, ह्युमानिटिज वा ल पढेकाहरुले पनि प्लस टु पछि सिए पढ्न मिल्छ । अझ रिजल्टहरुले त के देखाईरहेको छ भने साइन्स पढेर सिए गर्नेहरुलाई सुरुमा पढ्न गाह्रो भए पनि उनीहरुको मेहेनत गर्ने बानीले उनीहरुलाई सफल बनाएको छ । मेनेजमेन्ट पढ्नेहरुलाई अकाउण्ट्स लगायतका विषयमा बेसिक नलेज हुने भएकाले उनीहरुका लागि सिएको पहिलो तह केहि सहज हुन्छ ।
सिए पढ्ने विद्यार्थी, पढाउने अभिभावक र सिएका बारेमा सुनेकाहरुमध्ये धेरैको प्रश्न छ, सिएमा विद्यार्थीहरु किन धेरै फेल हुन्छन् त ? आउनुहोस् बुझौँ ।
१. सिएको पहिलो तह धेरै गाह्रो हुँदैन । बेसिक कुराहरुमात्र पढिने हुनाले सिएको पहिलो अर्थात फाउन्डेसन तह विद्यार्थीहरुले केहि सहज रुपमा पास गर्छन् । एक त सिए गाह्रो हुन्छ, पढ्नुपर्छ भन्ने दिमागमा हुन्छ, अर्कोतर्फ प्लस टुपछि विद्यार्थीहरु केहि सिरियस भएर पढेका हुन्छन् । त्यसमाथि कोचिङ्ग सेन्टरको गाइडेन्स राम्रै हुन्छ । आइक्यानले पुग्नेगरी स्टडी मेटेरियल नदिए पनि कोचिङ्ग सेन्टरहरुले यसको राम्रै जोहो गरिदिएका हुन्छन् । क्वालिफाइड सिएहरु गज्जबसँग पढाउने र विद्यार्थीले पनि मेहेनत गर्ने हुनाले सिएको पहिलो तहमा विद्यार्थीहरु पास बढी हुने गर्छन् । अर्कोतर्फ दोश्रो र फाइनल तहको तुलनामा सिएको पहिलो तह केहि सहज पनि हुन्छ । त्यसैले विद्यार्थी सामान्यतया सिएको पहिलो तहमा पास भईहाल्ने गर्छन् ।
२. सिएको फाउन्डेसन सकेपछि पढिने दोश्रो तहमा विद्यार्थीहरु बढी फेल हुने गर्छन् । यसको कारणचाहिं के हो भने गाह्रो भनेर पढ्न सुरु गरेको सिए, फाउन्डेसन त सजिलै हुने रहेछ, सिए यस्तै त रहेछ नि भन्ने भ्रम हुन्छ धेरैलाई । त्यसपछि मेहेनत गर्न नै छाडिन्छ । सिए पढ्ने धेरै विद्यार्थीको कारण यहि हुन्छ । अर्को भनेको सिएको पहिलो तह र दोश्रो तहमा पढ्नुपर्ने कोर्सको भेरिएसन अलि धेरै नै हुन्छ । सिएको दोश्रो तहमा पढ्नुपर्ने कुरा धेरै हुन्छ र सिएको पहिलो तहको तुलनामा अलि गाह्रो पनि हुन्छ । त्यसपछि धेरै विद्यार्थीहरु आत्तिने गर्छन् । जसको कारण सिएको दोश्रो तहमा विद्यार्थीहरु धेरै फेल हुने गरेका छन् । गाह्रो छ भने मनोविज्ञान, समय मिलाउन नसक्ने कारण र दिनहुँ नपढ्ने कारण विद्यार्थी फेल हुन्छन् । फाइनलमा गएपछि अव त सिए पास भइन्छ, दोश्रो त सकियो तेश्रो सकीहालिन्छ भन्ने भ्रम एकातर्फ हुन्छ भने अर्कोतर्फ आर्टिकलशिपमा हुने कामको लोड थपिन्छ । डेली रुटिन बनाएर पढ्न छोडिएपछि विद्यार्थीहरु सिएको तेश्रो तहमा पनि एकै पटकमा पास हुन गाह्रो हुन्छ ।
३. धेरै विद्यार्थी फेल हुने सिएको दोश्रो त तेश्रो तहको तयारी कसरी गर्ने त ? विज्ञ सिएहरु भन्नुहुन्छ- रुटिन बनाएर पढ्ने । धेरै पढेर सिए पास हुने होइन, बुझेर पढे नतिजा राम्रो आउँछ । धेरै भन्दा पनि स्मार्ट तरिकाले पढ्ने । सबै विषयलाई समय छुट्याएर पढ्ने । सिए गाह्रो छ भन्दा पनि पढे पास भईन्छ भन्ने सोचेर पढ्ने । यसरी पढ्दा सिएको परीक्षा क्रयाक गर्न सकिन्छ ।
४. एउटा तितो यथार्थचाहिं के हो भने सिए पास गर्न अनावश्यक समयको नास गर्ने बानिचाहीं त्याग गर्नुपर्छ । पढ्ने काम बाहेक, यो कसको बिहे, कसको ब्रतबन्ध, कसको बर्थ डे पार्टीजस्ता काम छाड्नुपर्छ । एउटा च्याप्टर पढ्ने अनि २ घण्टा च्याट गरेर बस्ने बानी पढुन्जेल छाड्नुपर्छ । सोसल मिडियामा धेरै झुम्मिने, पारिवारिक काममा धेरै समय दिने, सोसल फंसनहरुमा धेरै समय दिने गरियो भने सिए पास गर्न सकिन्न । ध्यान दिएर पूरापूर समय, स्वास्थलाईसमेत ध्यान दिएर पढे सिए पास गर्न गाह्रो नभएको विज्ञहरु बताउँछन् । सिएको परीक्षा टप गर्नेहरुको दाबी पनि यस्तै छ ।
५. सिए पास गर्न सबैभन्दा महत्वपूर्ण कुराचाहिं तपाईंले पढ्ने कोचिङ्ग सेन्टरमा शिक्षकहरुसँगको तपाईंको इन्टरएक्सन पनि महत्वपूर्ण हुन्छ । नबुझेको कुरा सोधिहाल्ने, त्यसको समाधान निकालिहाल्ने गर्दा पढाईमा सजिलो हुन्छ । नजानेको कुरा सोध्दा कसले के भन्ने हो भनेर बसियो भनेचाहिं त्यसले नतिजा पक्कै बिगार्छ । पूराना प्रश्नहरु सल्भ गर्ने, नयाँ सम्भावित प्रश्नहरुमा ध्यान दिने त छँदै छ, त्यो भन्दा पनि बढी पढेका कुराजति कन्सेप्ट नै बुझियो भनेचाहिँ यस्तो पढाईले नतिजा राम्रो ल्याउन सहयोग गर्छ ।
प्रतिक्रिया दिनुहोस्