काठमाडौँ। जथाभावी प्रोजेक्सन गर्ने सिएहरुको बदमासीपछि नेपाल धितोपत्र बोर्डले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ। पछिल्लो समय प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का क्रममा वित्तीय विवरणमा जथाभावी प्रोजेक्सन गर्ने प्रवृत्ति बढ्दै गएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कडाइ गर्ने भएको छ।
विशेषगरी केही चार्टर्ड एकाउन्टेन्ट (सिए) हरूको संलग्नतामा कम्पनीहरूको वास्तविक अवस्थाभन्दा फरक देखिने गरी प्रोजेक्सन प्रस्तुत गरिएको भन्दै आलोचना बढिरहेका बेला बोर्डले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो।
सेबोनको चैत २३ गते बसेको बोर्ड बैठकले ‘आईपीओको लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ लाई २०८३ साल वैशाख १ गतेदेखि लागू गर्ने निर्णय गरेको हो। यस नयाँ व्यवस्थाले अब आईपीओ प्रक्रिया अघि बढाउनुअघि कम्पनीहरूले पेश गर्ने वित्तीय प्रतिवेदनलाई थप गहिरो रूपमा परीक्षण गर्ने बाटो खोलेको छ।
हालसम्म कम्पनीहरूले आईपीओ निष्काशनका लागि पेश गर्ने वित्तीय विवरणहरू सम्बन्धित चार्टर्ड एकाउन्टेन्ट हरूद्वारा तयार तथा प्रमाणित गरिने व्यवस्था थियो। तर केही घटनामा यस्ता प्रतिवेदनहरूमा अत्यधिक आशावादी प्रोजेक्सन राखिएको, आम्दानी र नाफाको अनुमान वास्तविक क्षमताभन्दा धेरै माथि देखाइएको, तथा जोखिम पक्षहरू पर्याप्त रूपमा खुलासा नगरेको पाइएको थियो। यसले गर्दा सर्वसाधारण लगानीकर्ता भ्रमित हुने र बजारमा अस्वस्थ वातावरण सिर्जना हुने चिन्ता बढेको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै सेबोनले अब आवश्यक ठानेमा कम्पनीहरूले पेश गरेका वित्तीय विवरणहरूलाई स्वतन्त्र लेखा विशेषज्ञमार्फत पुनरावलोकन वा जाँचबुझ गराउने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो।

प्रतिक्रिया दिनुहोस्