Skip to content

‘दिनको ८ घण्टा समय दिए सिए पास गर्न सकिन्छ’- अन्जल श्रेष्ठ

काठमाडौँ। अल इन्डिया ३१ हासिल गरेका अन्जल श्रेष्ठले चार्टर्ड एकाउन्टेन्सी (सिए) जस्तो चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत र सही रणनीतिका साथ सजिलै पार गर्न सकिने बताएका छन्। श्रेष्ठले सिए सरोकारसँग कुराकानी गर्दै चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत गरे सिए सजिलै पास गर्न सकिने बताएका हुन्।

अन्जल श्रेष्ठले ७३ प्रतिशत अंकसहित अल इन्डिया ३१ प्राप्त गरेका हुन् । उनी एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरत थिए। उनले नियमित अध्ययन, समय व्यवस्थापन र अभ्यासलाई सफलताको मुख्य आधारका रूपमा औंल्याएका छन् ।

‘यदि विद्यार्थीले निरन्तर मेहनत, अनुशासन र धैर्यता कायम राखे भने सिए पास गर्न गाह्रो हुँदैन,’ उनले भने। साथै, केवल रटाइभन्दा अवधारणा बुझेर अध्ययन गर्नुपर्नेमा उनले जोड दिए।

श्रेष्ठले तयारीका क्रममा टेस्ट, नियमित पुनरावृत्ति तथा फोकसलाई प्राथमिकता दिन सुझाव दिएका छन्। उनका अनुसार लामो यात्राजस्तो देखिने सिएको तयारी सही मार्गदर्शन र समर्पणका साथ सहज बनाउन सकिन्छ।

उनले मानसिक सन्तुलन र धैर्यतालाई पनि सफलता प्राप्त गर्ने आधारका रूपमा औंल्याएका छन् । ‘सिए छोटो यात्रा होइन, यसमा उतारचढाव आउँछन्। त्यसैले आत्मविश्वास नघटाई निरन्तर अघि बढ्नु आवश्यक हुन्छ,’उनले सुझाव दिए।

चार्टर्ड एकाउन्टेन्सी (सिए) परीक्षामा अल इन्डिया ३१ हासिल गरेका अन्जलले आफ्नो सफलताको यात्रा संघर्ष र परिवर्तनले भरिएको बताएका छन्। श्रेष्ठका अनुसार उनी विद्यालय स्तरमा खासै पढ्ने विद्यार्थी थिएनन्। ‘म पहिले खासै पढ्दिनथेँ, १२ कक्षापछि मात्र गम्भीर भएर मेहनत गर्न थालेँ,’ उनले भने।

उनले आफ्नो जीवनमा आएको यही मोड नै सफलताको आधार बनेको बताए। निरन्तर अभ्यास, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले आजको उपलब्धि सम्भव भएको उनको भनाइ छ।

‘जब मैले मेहनत गर्न सुरु गरेँ, बिस्तारै सुधार देखिन थाल्यो। आज मैले जे परिणाम हासिल गरेको छु, त्यो निरन्तर प्रयासकै फल हो, मलाई घर परिवारले पनि निकै साथ दिनुभएको छ, म घरको कान्छो छोरा हुँ, मलाई कुनै कुरामा रोक टोक थिएन, ‘उनले भने।

श्रेष्ठले फेल हुने विद्यार्थीहरूलाई पनि पुन: प्रयास गर्न र मेहनत गर्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।