काठमाडौँ । आइक्यानले आइसीएआईबाट उतिर्ण सिएहरुलाई सिमित विषयको परीक्षा पास गर्न लगाएर आफ्नो सदस्यता दिन्छ । आइक्यानको सदस्यता नलिई लेखापरीक्षण गर्ने लाइसेन्स पाईदैन, अर्थात ‘प्राक्टिस’ गर्न पाइदैन । कतिपयले आइसीएआईबाट सिए पास हुनेबित्तिकै नेपाल आएर आइक्यानको परीक्षा दिन्छन्, पास हुन्छन् । कतिपयले दिँदैनन् । यसरी आइक्यानको सदस्यता नभएका भारतीय बोर्डबाट पास भएका सिएहरुको संख्या नेपालमा धेरै छ । यतिसम्मकि, नेपाली सिए क्षेत्रमा ‘नेता’का रुपमा चिनिएकाहरुसँग पनि आइक्यानको सदस्यता छैन ।
अव बुझौँ, कसरी जोडिएको छ परीक्षा सजिलो बनाउने विषय ।
नेपाली सिए क्षेत्रमा सिएहरुले ‘पोलिटिक्स’ गर्न सकिने २ ठाउँ छन् । एउटा आइक्यान भईहाल्यो । अर्को नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) ।
विषय बुझ्न पहिला एक्यानको राजनीति बुझ्नुपर्छ । एक्यानमा नेतृत्व अन्तर्गतका पदाधिकारी हुन आइक्यानको सदस्य हुनुपर्दैन । अर्थात, आइक्यानको सदस्य नभए पनि एक्यानको पदाधिकारी हुन पाइन्छ । आइक्यानको राजनीति गर्छु, वा भोटर बन्छु भन्दा आइक्यानको सदस्य भएको हुनुपर्छ । एक्यानमा आइक्यानको सदस्य नभएको भारतीय बोर्डबाट सिए पास भएको व्यक्ति पनि मतदाता हुन पाउँछ ।
एक्यानमा खुब चुनाव लाग्छ । यतिसम्मकि एक्यानको चुनावमा अध्यक्ष पद जित्नका लागि २३ देखि २५ लाख रुपैयाँसम्म उम्मेदवारको खर्च भएको छ । महँगो खर्च मात्र होइन, एक एक भोटरलाई कन्भिन्स गर्नुपर्ने बाध्यता हुन्छ । त्यहि बाध्यताका बीच एउटा एजेण्डा केहि बर्ष अघि नै छिरेको थियो- ‘आइक्यानको मेम्बरशिप नै पास गर्न सकिएन, यसलाई सजिलो बनाउनुपर्यो ।’
एक होइन, दुई होइन, यसरी परीक्षा दिएर पटक पटक पास गर्न नसकेकाहरुको संख्या १२०० हाराहारी छ । र, त्यो १२०० हाराहारी भोट, एक्यानमा कसलाई अध्यक्ष वा पदाधिकारी बनाउने वा नबनाउने भन्ने विषयमा निर्णायक छ ।
अव एक्यानको राजनीति सकेर आइक्यानमा राजनीति गर्न जानेहरुलाई एक्यानको चुनावमा गुन लगाएकाहरु (जो आइक्यानको सदस्य छैनन्)ले पटक पटक सिए सदस्यता परीक्षा सजिलो बनाउन पोलिसीमै चलाउनुपर्ने दबाब दिईरहेका थिए । र यसपटक मात्र होइन, अलि अघिदेखि नै राजनीतिक रोटी सेक्न सिए सदस्यता परीक्षालाई सजिलो बनाउने कम हुँदै आएको थियो ।
केहि समय अगाडीसम्म ट्याक्स र ल विषय छुट्टाछुट्टै पास गर्नुपर्थ्यो, पास मार्क्स ५० थियो । विस्तारै एक्यानको राजनीति हाबी हुन थालेपछि ग्रुप सिष्टम हटाइयो, पास मार्क्स ४० बनाइयो ।
यति गर्दा पनि पास नहुनेहरुको संख्या धेरै भयो । जव जव एक्यानको चुनाव आउँछ, तवतव तिनै भोटरहरु सिए सदस्यता परीक्षा सहज बनाउनुपर्ने एजेण्डा लिएर आउँथे ।
यसपटक आइक्यानले अलि क्रान्तिकारी निर्णय गर्न खोज्यो । यस्तो निर्णय गर्ने बाचा अहिलेका काउन्सिल सदस्यहरुमध्ये २ जनाले त चुनावमै बाँडेका थिए । आइक्यानको सदस्यता नभएकाहरुलाई ‘मलाई आइक्यानको चुनावमा भोट खोजिदिनू, यसपाली मेम्बरशिपमा क्रान्तिकारी निर्णय गर्ने हो’ भनेर खुलेआम हिँडेका थिए सिएहरु । र अहिले, सोहि प्लानअनुसार टास्क फोर्स बनाइएको हो ।
टास्क फोर्समा ३ जना छन् । एक जना आरए छन्- झलकमणि लम्साल, जसलाई यो विषयले खास फरक पर्दैन । अरु दुई जना हेम काफ्ले र रमेश धिताल छन् । दुई जना साढुदाई साढु भाइ हुन् । अर्थात, एकको मतमा अर्कोले फरक मत राख्ने स्थिति नै छैन । त्यसैले पनि एउटाले जे भन्यो, बाँकी २ जनाले ‘ठिकै छ’ भनिदिँदा टास्क फोर्सले यो विषय पूर्ववाट प्लान अनुसार नै मानिदियो । अव यो विषय परीक्षा समितिमा आउँछ । जसले मेम्बरशिप परीक्षा सजिलो बनाउने योजना देखाएर राजनीति गरेका थिए, तिनीहरु नै सो समितिमा छन् । त्यसैले त्यहाँबाट पनि यो विषय सजिलै पास हुने देखिन्छ ।
एनकासा कमजोर बन्नुको फाइदा उठाएको छ आइक्यानले
नेपालमा सिए पढ्ने विद्यार्थीहरुको संगठन पहिलाजस्तो बलियो छैन । आइक्यानका भित्री सूचनाहरुमा उनीहरुको पहुँच पहिलाका एनकासाका नेताहरुजस्तो बलियो छैन । यतिसम्मकि टास्क फोर्सले यो विषय पास गरेर परीक्षा समितिमा पठाईसक्यो भनेर सिए सरोकारले न्युज लेखिसक्दा पनि उनीहरु हो कि होइन भन्ने विषयमै अल्झिरहेका छन् । त्यसलाई थप कन्फ्युजन बनाउने काम आइक्यानका काउन्सिल सदस्यहरुले गरिरहेका छन् ।
सिए सरोकारले मल्टीपल च्वाइस प्रश्न सोध्नेगरी नियम बन्दैछ भनेर स्वयम् आइक्यान अध्यक्षको भनाई पुष्टी गर्दै राखेको समाचारपछि पनि एनकासा आइक्यानको आधिकारिक धारणा माग्दै विज्ञप्ति जारी गर्दै थियो । त्यसको केहि दिनमा टास्क फोर्सले पूर्ववत प्लान अनुसार सिफारिस गर्यो । सोको समाचार सिए सरोकारमा आएपछि पनि एनकासा यो विषय हो कि होइनमै अल्झिरहेको थियो । बल्लबल्ल केहि विद्यार्थी आइक्यानमा विरोध गर्न गए, तर उनीहरुलाई पनि केहि काउन्सिल सदस्यहरुले कन्भिन्स गरेर पठाईदिए । तर, आइक्यान अहिले कुनै हालतमा यो विषय पास गरेर १२०० जनालाई सहज ढंगमा आइक्यानको सदस्य बनाउने लाइनमा छ, जुन राजनीति सिए विद्यार्थीहरुले बुझेकै छैनन् ।
अझ, विद्यार्थीहरुको संगठन एनकासा फुटसलमा व्यस्त भएकै बेला ‘काम तमाम’ गर्नुपर्छ भनेर आइक्यान नेतृव लागेको विषय विद्यार्थीहरुले सोच्न पनि सकेनन् । उनीहरु झास्किंदा, आइक्यानमा काम फत्ते भईसकेको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्