Skip to content

अवार्ड दिलाउने काममा ५ लाख लिएको प्रमाणित हुँदा पनि पार्षदलाई उन्मुक्ति !

काठमाडौँ । नियामक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रदान गर्ने ‘नेशनल बेष्ट प्रिजेण्टेड एनुअल रिपोर्ट’को अवार्डमा सहभागी हुन कृषि विकास बैंकले सो वित्तीय प्रतिवेदन प्रस्तुतीकरणलाई अझ राम्रो बनाउने भन्दै आईक्यानकै पार्षदकै ५ लाख रुपैयाँको काम बनाएर दिएको र सोही प्रतिवेदनका आधारमा कृषि विकास बैंकले अवार्ड जितेको प्रमाणित हुँदा पनि आइक्यानले भने पार्षद अमन उप्रेतीलाई उन्मुक्ति दिएको पाइएको छ । प्रष्ट रुपमा स्वार्थको द्वन्द देखिँदा र पैसा लिएर अवार्ड खरिदबिक्रीको दुष्प्रयास भएको प्रष्ट आधार र प्रमाण हुँदा पनि उप्रेतीको करियर जोगाउने नाममा र उनलाई संस्थाको आगामी उपाध्यक्ष बन्न सो केसले असर नगरोस् भन्ने उद्देश्यका साथ उप्रेतीलाई उन्मुक्ति दिएको पाइएको हो ।

आइक्यानका एक अर्का पार्षदका अनुसार उप्रेतीले गर्न नहुने काम गरेको विषय काउन्सिलमा समेत उठेको थियो । तर, यस्ता काम अरु सिएहरुले पनि गरेको कुरा उप्रेतीले उठाएको र यस्ता केसमा अनुशासनको कारवाही गरिए अन्य सिएहरु पनि कारवाहीमा पर्ने देखिएपछि संस्थाका अन्य अधिकारीसमेत हच्किएका थिए । त्यसमाथि अहिलेका अध्यक्ष र उपाध्यक्षलाई पदमा पुर्याउन अमन उप्रेतीले राम्रो भूमिका खेलेको र उप्रेती पनि आगामी उपाध्यक्षको उम्मेदवार भएकाले केस फासफुस पारिएको ती पार्षदको भनाई छ ।

‘अमनजीले जे गर्नुभयो, यो अख्तियार लाग्ने केस हो । आइक्यानले अनुशासनको कारवाही गरेर, आइक्यानको गरिमा जोगाउँ, यो केस अख्तियार वा अरु कुनै निकायमा जान नदिएको राम्रो भन्ने विषय उठेको हो । तर उप्रेतीलाई कारवाही गर्नुको साटो उन्मुक्ति दिईयो ।’, ती पार्षदले भने, ’एउटा केसमा जोगिएपछि घुमाएर अमनजीले फेरी कृषि बिकास बैंकमा अर्को यस्तै कामसमेत गर्नुभएछ । फेरी कृषि बिकास बैंकले नै अवार्ड पायो । एक त कृषि बिकास बैंक एक्लो रेसमा थियो । त्यो पनि सो अवार्डका लागि बैंकले र त्यति पैसाका लागि अमनजीले मरिहत्ते नगरेको भए हुन्थ्यो ।’

यता उप्रेतीले पनि आफुले वित्तीय रिपोर्ट प्रस्तुतीकरण अझ राम्रो बनाउने नाममा पैसा लिएको स्वीकार गरेका छन् । उनका अनुसार उनका अन्य क्लाइण्टले पनि अवार्ड जितेका छन् भने यसरी अरु सिएहरुले पनि काम गरेको छन् ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।