काठमाडौँ। जुन २०२६ को चार्टर्ड एकाउन्टेन्सी परीक्षा क्याप ३ तर्फ सक्षम पौडेलले अल नेपाल र्यांक २ हासिल गरेका छन्। चार्टर्ड एकाउन्टेन्सी (सिए ) अन्तर्गत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जुन २०२६ मा सञ्चालन गरेको क्याप ३ परीक्षामा सक्षम पौडेलले अल नेपाल र्यांक २ हासिल गरेका हुन्।
आफ्नो सफलताबारे प्रतिक्रिया दिँदै उनले सामाजिक संजालमा भनेका छन्, ‘झन्डै चार वर्षको अविस्मरणीय यात्रापछि मैले चार्टर्ड अकाउन्टेन्सी (CA) कोर्स सफलतापूर्वक पूरा गरेको कुरा अत्यन्तै खुशी र गर्वका साथ साझा गर्न पाउँदा हर्षित छु। यस उपलब्धिलाई अझ विशेष बनाउँदै, क्याप ३ जुन २०२६ परीक्षामा अल नेपाल र्यांक २ हासिल गर्न सफल भएको छु। २१ वर्षको उमेरमै चार्टर्ड अकाउन्टेन्सीको योग्यता हासिल गर्नु मेरो लागि अत्यन्तै गर्व र खुसीको क्षण हो। यो यात्रा निरन्तर मेहनत, चुनौती, त्याग र अनगिन्ती सिकाइका अनुभवहरूले भरिएको थियो। आज आएर ती सबै प्रयास सार्थक भएको महसुस भइरहेको छ। यस यात्राभरि मलाई साथ, हौसला र मार्गदर्शन प्रदान गर्नुहुने बुबा, आमा, परिवार, आफन्तजन, शिक्षकहरू, गुरु तथा मार्गदर्शकहरू, साथीहरू र सम्पूर्ण शुभेच्छुकहरूप्रति म हृदयदेखि नै आभारी छु। एउटा सुन्दर यात्राको अन्त्य भएको छ, र अब एउटा नयाँ अध्यायको सुरुवात हुँदैछ।’
चितवनका २१ वर्षीय पौडेलले कम उमेर मै हासिल गरेको यो उत्कृष्ट सफलताले उनको परिवार र आफन्तमा खुसी र गर्वको माहोल सिर्जना भएको छ। मेहनत, लगनशीलता र निरन्तर अध्ययनको परिणामस्वरूप पौडेलले क्याप ३ मा उत्कृष्ट नतिजा हासिल गरेका हुन्।




प्रतिक्रिया दिनुहोस्