Skip to content

गैरकानुनी ‘अण्डरकटिङ’ मा संलग्न गुरु पोखरेलको प्रष्टीकरण – ‘प्राविधिक त्रुटी भयो’, तर तथ्यले भन्छ- ‘जानेरै बदमासी’

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)का कार्यकारी सदस्यसमेत रहेका गुरु पोखरेल गैरकानुनी अण्डरकटिङमा संलग्न रहेको खबर सिए सरोकारले सार्वजनिक गरेपछि उनले यस विषयमा आफ्नो स्पष्टिकरण दिएका छन् । सामाजिक संजालमार्फत उनले प्राविधिक त्रुटी भन्दै आफ्नो बचाउ गरेका छन् ।

उनले लेखेको प्रष्टीकरण:

तर, तथ्यले भन्छ- ‘जानेरै बदमासी’

पोखरेलले स्पष्टिकरणमार्फत आफुले सम्बन्धित संस्थाको लेखापरीक्षण नगरेको बरु बिडिङ प्रक्रियामा प्राविधिक त्रुटीका कारण भ्रम सिर्जना भएको दाबी गरेका छन् । तर, तथ्य के देखिएको छ भने उनले बिडिङ प्रक्रियामा भाग लिँदा प्राविधिक त्रुटी नभई लापरवाही गरेका छन् । सामान्यतया: बिडिङमा भाग लिँदा अघिल्लो पटकको लेखापरीक्षण शुल्क हेरिनुपर्छ वा थाहा नभए आफुले बिड गरेको रकम अघिल्लो पटकको अडिट फी भन्दा कम हुन नहुने बुँदा राखेर बिड गरिनुपर्छ । तर उनले त्यस्तो केहि गरेका छैनन् । धनगढीमा बस्ने आफ्ना साथीमार्फत सो बिडिङ प्रक्रियामा भाग लिएका उनले लेखापरीक्षकले बिडिङ गर्दा अपनाउनुपर्ने सामान्य प्रक्रियासमेत अपनाएका छैनन् ।

उनले सो लेखापरीक्षण कार्य गर्न औपचारिक नियुक्ति पत्र नपाएको र सम्झौता नगरेको बताएका छन् । तर, के यसबारे समाचार सार्वजनिक नभएको भए उनले सो काम छाड्थे त ? भन्ने प्रश्नको जवाफ भेटिने ठाउँ छैन । अनि उनकै कारण संस्थाले फेरी अर्को प्रक्रियामार्फत अडिटर नियुक्ति गर्नुपर्ने भएको, साधारणसभाका सदस्यहरुले नियुक्ति गर्दासमेत उनले त्यति बेला नै केहि पनि नबोलेको विषयमा उनी चुप छन् ।

उनले आफुले थाहा पाएदेखि नै व्यवस्थापनलाई मौखिक जानकारी गराएको र नियुक्ति पत्र प्राप्त गरेपछि अस्वीकार गर्ने तयारी गरेको बताएका छन् । तर सिए सरोकारमा समाचार प्रकाशन हुनु अघिल्लो दिनसम्म पनि उनले त्यस्तो कुनै पनि जानकारी नगराएको सहकारीका अधिकारीहरु बताउँछन् । ‘यो त हामीमाथि पनि धोका भयो । हामीले त जसले कम मूल्यमा लेखापरीक्षण गर्छौं भन्यो, उसैलाई काम दियौँ । मिल्ने नमिल्ने कुरा त सुरुमै भन्नुपर्थ्यो नि ।’ नवजीवन सहकारीका एक अधिकारीले साधारणसभाबाट नै नियुक्ति पाईसकेको अडिटरले ‘मैले त गर्न नै नमिल्ने रहेछ’ भन्नु लापरवाही र गैरजिम्मेवारीको पराकाष्टा भएको गुनासो गरेका छन् ।

उनले एक्यानको जिम्मेवार सदस्य भएकाले आफु व्यावसायिक आचारसंहिता र आइक्यानको न्यूनतम शुल्क निर्देशिका प्रति पूर्ण प्रतिबद्ध रहेको दाबी गरेका छन् । तर स्वयम् धनगढीका अन्य सिएहरुले भने पटक पटक गुरु पोखरेललाई अन्डरकटिङ नगर्न भनेको, यस विषयमा आइक्यानको धनगढीस्थित कार्यालयमा समेत जानकारी दिएको बताएका छन् ।

उनले आफुलाई यस विषयमा सजग गराउनुहुनेहरुलाई धन्यवाद दिएका छन् । यसैबीच अण्डरकटिङजस्तो अनप्रोफेसनल र गैरकानुनी कामको विरोध गरेकोमा धनगढीका अन्य सिएहरुले भने सिएसरोकारलाई धन्यवाद दिँदै पोखरेलको स्पष्टिकरण ‘लाज छोप्ने औपचारिकता’ मात्र भएको टिप्पणी गरेका छन् ।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।