Skip to content

एक्यानकै कार्यकारी सदस्य पोखरेल गैरकानुनी ‘अण्डरकटिङ’ धन्दामा !, पोल खुलेपछि भने-‘साथीले फसायो, गल्ती सच्याउँछु’

धनगढी । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)कै कार्यकारी सदस्य नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को प्रचलित कानुनी व्यवस्था विपरित अण्डरकटिङ्गमा संलग्न रहेको पाइएको छ । संघका कार्यकारी सदस्य सिए गुरु पोखरेल प्रोप्राइटर रहेको गुरु एण्ड एसोसिएट्स गैरकानुनी ‘अण्डरकटिङ’मा संलग्न भएको पाइएको हो ।

अण्डरकटिङ भनेको अघिल्लो पटकको लेखापरीक्षण शुल्क भन्दा कममा लेखापरीक्षण गर्नु हो । यो कामलाई नियामक आइक्यानले गैरकानुनी भन्छ। यस्तो काममा संलग्नलाई कानुनअनुसार कारवाही हुने व्यवस्था छ ।

नवजीवन सहकारीको अघिल्लो आर्थिक बर्षको लेखापरीक्षण शुल्क १० लाख थियो । पोखरेलले भने ५ लाख रुपैयाँ फी तोकेर बिड गरेका थिए । सोहि अनुसार सहकारीको लेखापरीक्षण समितिले पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो भने साधारण सभाले उनको नाम स्वीकृत गरेको थियो ।

पोल खुलेपछि भने, ‘साथीले फसायो गल्ती सच्याउँछु’

यता, पोखरेलले पनि साधारण सभाले आफुलाई अडिटर नियुक्त गरेको पुष्टी गरेका छन् । तर, उनको तर्क भने आफुले अघिल्लो पटकको लेखापरीक्षण शुल्कबारे थाहा नै नपाएको भन्ने छ ।

`म अडिटर नियुक्त भएको सत्य हो । तर अपोइन्टमेन्ट लेटर आउने बित्तिकै म त्यसलाई रिजेक्ट गर्नेछु ।अहिले पनि एउटा निवेदन दिएर त्यो अडिट म गर्दिन भनिदिन्छु । ´ पोखरेलले सिए सरोकारसँग भने , `अघिल्लोपटकको फी नहेर्दा गल्ती भयो ।´

पोखरेलले फी नहेरेको दाबी गरे पनि उनले फी हेर्नुपर्ने सामान्य प्रक्रिया हो । सिएहरुले बिड गर्ने बेलामा नै अघिल्लो बर्षको लेखापरीक्षण शुल्क अनिवार्य हेरेर सो भन्दा कम रकम नहुनेगरी बिड गर्ने गर्छन् ।

यस्तो लापरवाही हुनुलाई उनले आफ्ना एक साथीलाई दोष दिएका छन् । ‘धनगढीमा एउटा साथी छ । उसले अडिटका लागि प्रपोजल हाल्नुपर्यो भन्यो । ५ लाख जति फी आउँछ भनेपछि मैले हुन्छ भनेको हुँ । सहकारीको फी २ लाख, ३ लाख, ५ लाख यस्तै हो ।’ उनले सिए सरोकारसँग भने, ‘पछि पो थाहा भयो, अघिल्लो पटकको फी १० लाख रहेछ । अव त गर्न मिलेन ।’

पोखरेलकै कुरा पत्याउने हो भने पनि उनले अघिल्लो पटकको फी नहेरी बिड गरेको, र सहकारीको कारोबार कुन तहको छ भन्ने पनि थाहा नपाई बिड गरेको प्रष्ट देखिएको छ । पोखरेलले कम शुल्कमा बिड गरेर अन्य सिएहरुको इमान, इथिक्स र काममा पनि गैरकानुनी रुपमा धक्का दिएको भन्दै आइक्यानको धनगढी शाखामा मौखिक उजुरी परेको थियो । तर शाखाका कर्मचारीले आइक्यान हेड अफिसमै उजुरी गर्न भनेपछि यो केस लिएर एक अर्का सिए सिए सरोकारको सम्पर्कमा आएका थिए ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।