काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण प्रतिनिधित्व गर्दै देशलाई लेखा आउटसोर्सिङ तथा वित्तीय सेवाको उदीयमान विश्वव्यापी केन्द्रको रूपमा सफलतापूर्वक प्रवर्द्धन गरेको छ। बेलायतमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा आइक्यानले विश्वका विभिन्न लेखा निकायहरू, बेलायतस्थित नेपाली पेशेवरहरू तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग रणनीतिक भेटघाट तथा सहकार्य विस्तार गरेको हो।
कार्यक्रममा आइक्यानले विभिन्न अन्तर्राष्ट्रिय एकाउन्टिङ संस्थाहरू, बेलायतस्थित नेपाली पेशाकर्मी तथा विश्वव्यापी सरोकारवालासँग रणनीतिक छलफल र सहकार्य विस्तार गर्दै नेपाली एकाउन्टिङ प्रोफेसनलको क्षमता, दक्षता तथा अन्तर्राष्ट्रिय सम्भावनालाई विश्व बजारमा प्रस्तुत गरेको जनाएको छ।
कार्यक्रमका क्रममा आइक्यानले नेपाली लेखा तथा वित्तीय क्षेत्रका जनशक्तिको दक्षता, क्षमता र अन्तर्राष्ट्रिय सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो। यस अन्तर्राष्ट्रिय सहभागिताले नेपाललाई emerging global accounting hub का रूपमा विश्व माझ चिनाउन थप मद्दत पुगेको छ।
उक्त प्रदर्शनी अकाउन्टिङ र फाइनान्स पेसाकर्मीहरूका लागि विश्वकै सबैभन्दा ठूलो र प्रभावशाली प्रदर्शनी मानिन्छ । यस प्रदर्शनीमा संस्थाको सहभागिता आइक्यानको ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल (GAIN) परियोजनाको कार्यान्वयनका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा सावित भएको छ । आइक्यानको तर्फबाट अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, काउन्सिल सदस्यहरू र कार्यकारी निर्देशक सम्मिलित प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय ‘नलेज प्रोसेस आउटसोर्सिङ (KPO) अन्तर्गत अकाउन्टिङ र वित्तीय सेवाहरूका लागि नेपाललाई एक प्रतिस्पर्धी एवं उच्चस्तरीय गन्तव्यको रूपमा विश्व बजारमा प्रस्तुत र स्थापित गर्ने उदेश्य सहित उक्त प्रदर्शनीमा सहभगिता जनाएको हो । उक्त प्रदर्शनीमा १६,००० भन्दा बढी संस्थागत प्रतिनिधिहरू, ३०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रदर्शकहरू सहभागी थिए भने १६ वटा थिएटरहरूमा २४० वटा व्यावसायिक विकास सम्बन्धी सत्रहरू सञ्चालन गरिएका थिए ।
यसै अवसरमा आइक्यानले अनुपालना(Compliance) र वित्तीय प्रविधि (Financial Technology) को परिवर्तनशील विश्वव्यापी परिवेशमा काम गरिरहेका अन्तर्राष्ट्रिय पेसाकर्मी, फर्मका सञ्चालक तथा नियामकहरूसँग सघन भेटवार्ता तथा अन्तर्क्रियाहरू गरेको थियो । आइक्यानको प्रदर्शनीमा सहभागिताले विश्वव्यापी बजारको उल्लेख्य ध्यान आकर्षण गर्न सफल हुनुका साथै अन्तर्राष्ट्रियस्तरमा अकाउन्टिङ सेवा खोजिरहेका व्यक्ति तथा संस्थाहरूबाट राम्रो सङ्ख्यामा सोधपुछ र व्यावसायिक चासो प्राप्त गरेको थियो । प्रदर्शनीको क्रममा स्थलगतरूपमा प्राप्त भएका जानकारी तथा पृष्ठपोषणहरूले नेपालले यदि आफ्नो संचालन क्षमता (Scale) विस्तार गर्ने, उन्नत प्राविधिक क्षमतामा सुधार गर्ने, सुदृढ संस्थागत सुशासन लागू गर्ने र अन्तर्राष्ट्रिय डाटा सुरक्षा एवं गोपनीयता सम्बन्धी नियमहरूको प्रभावकारी रूपमा पालना गर्ने हो भने नेपालबाट व्यावसायिक अकाउन्टिङ सेवा निर्यात गर्ने प्रचुर सम्भावनाहरू रहेको देखाएको छ ।
प्रदर्शनीमा सहभागिताको अतिरिक्त आइक्यान प्रतिनिधिमण्डलले दीर्घकालीन रणनीतिक सहयोग अभिवृद्धि गर्न विश्वव्यापी व्यावसायिक अकाउन्टिङ संस्थाहरू र डायस्पोरा (प्रवासी) सञ्जालहरूसँग सघनरूपमा उच्चस्तरीय द्विपक्षीय बैठकहरूमा भाग लियो । प्रतिनिधिमण्डलले मे १३, २०२६ मा नेप्लिज एकाउन्टेन्ट्स एशोसिएसन युनाइटेड किंगडम (NAA UK) का पदाधिकारी तथा सदस्यहरूसँग युके र नेपाल बीचको लेखा तथा वित्तीय सेवा आउटसोर्सिङको संभावना र अवसरहरूको सम्बन्धमा छलफल भएको थियो । यस भेटघाटमा दुवै पक्षले यस क्षेत्रमा पारस्परिक लाभका असीमित अवसरहरू रहेको निष्कर्ष निकाल्दै युकेमा रहेका नेपाली पेसाकर्मीहरूलाई युकेको अकाउन्टिङ कार्यहरू नेपालका दक्ष पेसाकर्मीहरूकहाँ पठाउन (Channelize गर्न) आवश्यक पहल र सहयोगका लागि आइक्यानले आग्रह गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्