काठमाडौँ । आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोलको एकपछि अर्को बदमासी छताछुल्ल भएको छ । कारवाहीको सिफारिस गर्नुपर्नेहरुबाट नै चन्दा उठाएको प्रमाणित भएपछि विवादमा तानिएका डंगोलले सरकारलाईसमेत नटेरेको, आइक्यानमा परेको उजुरी नै गायब बनाउने गरेको, र अध्यक्षलाईसमेत नटेर्ने गरेको पाइएको हो । जसका कारण संस्थाको दैनिक कामकाजमै समस्या देखिएको छ ।
उजुरी नै गायब बनाउँछन्
डंगोलले आइक्यानमा परेका कतिपय उजुरी नै गायब बनाएर उनीहरूसँग नै आइक्यानको कार्यक्रमका लागि भन्दै चन्दा उठाएको पाइएको छ । आइक्यानमा कारवाहीका लागि परेका उजुरीहरुमध्ये अमन उप्रेतीविरुद्धको उजुरी तामेलीमा राखिदिने भन्दै कृषि विकास बैंकसँग चन्दा उठाएका डंगोलले राष्ट्रिय वाणिज्य बैंकका सीइओविरुद्ध परेको उजुरी नै गायब बनाईदिएको खुलेको छ । डंगोल स्वयम् बैंकका पूर्व कर्मचारी हुन् ।
अध्यक्षलाई मान्दैनन्, सरकारलाई टेर्दैनन् !
संस्थामा डंगोलको मनपरी यतिसम्म बढेको छ कि उनी अध्यक्ष निल सारुलाई रतिभर पनि टेर्दैनन् । यतिसम्मकि सारुले डेडलाइन नै दिएको काम पनि उनी ‘गर्दै गरौँला’ भन्दै टार्ने गर्दै आईरहेका छन् । स्वयम् सारुले पनि कार्यकारी निर्देशक डंगोलले आफुलाई नटेरेको र पटक पटक सम्झाउँदा पनि गर्नु भनेर अह्राएको काम नगरेको पुष्टि गरेका छन् ।
डंगोलको बदमासी संस्थाभित्र यतिसम्म बढेको छ कि उनले सरकारलाईसमेत अटेरी गर्न थालेका छन् । सरकारले संस्थाहरुले कार्यक्रम आफ्नै भवनमा गर्नु भनेको छ । तर, डंगोलले आइक्यानको हलमै गर्न सकिने कार्यक्रम पनि बाहिर गर्न स्वीकृति दिएको पाइएको छ । सरकारले सूचनाको काममा कुनै पनि विज्ञापन एजेन्सीको प्रयोग नगर्न भनेको छ । तर सो सूचनाको पनि वेवास्ता गर्दै उनले एक विज्ञापन एजेन्सीमार्फत सूचना सम्प्रेषणको काम गरिरहेका छन् ।
हेल्लो सरकारसम्म पुगे कर्मचारी !
डंगोलकै बदमासीका कारण काम गर्न अप्ठ्यारो भएपछि संस्थाकै कर्मचारीहरु हेल्लो सरकारमा उजुरी गर्न पुगेका छन् । कर्मचारीहरुले डंगोलले फजुल खर्च गरेको भन्दै हेल्लो सरकारमा उजुरी गरेका हुन् । डंगोलले पनि हेल्लो सरकारमा उजुरी परेको र आफुले सोको जवाफ लेखिसकेको बताएका छन् ।
‘हाम्रा कर्मचारी साथीहरुमध्ये, कसैलाई के चित्त बुझेनछ, हेल्लो सरकारमा उजुरी गर्नुभएछ, त्यसको जवाफ लेखिसकेको छु ।’ डंगोलले सिए सरोकारसँग भने ।
बाँकी कुरामा भने उनले प्रतिक्रिया नै दिन मानेनन् । उनको बदमासीबारे प्रश्न गर्दा उनले आफु कार्यक्रममा भएको र भेटेरै कुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्