Skip to content

आइक्यानका कार्यकारी निर्देशक डंगोलको बदमासी (भाग-१): उजुरी देखाउँदै, चन्दा माग्दै !

काठमाडौँ । आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोलले लेखा व्यवसायको सामान्य सिद्धान्त विपरित हुनेगरी हदैसम्म बदमासी गरेको पाइएको छ । आइक्यानले अनुशासन समितिमा अनुसन्धान र कारवाहीका लागि सिफारिस गर्नुपर्नेहरुसँग नै कार्यकारी निर्देशक डंगोलको नेतृत्वमा चन्दा उठाइएको पाइएको हो । यसले एकातर्फ कोड अफ इथिक्स सिकाउने आइक्यान नै कोड अफ इथिक्स विपरित काम गरिरहेको खुलासा भएको छ भने नियामक निकायको कार्यकारी निर्देशकको पदमा बसेर कुन हदसम्म बदमासी गरिन्छ भन्ने तथ्यसमेत उजागर भएको छ ।

कारवाहीको सिफारिस गर्नुपर्ने राष्ट्रिय वाणिज्य बैंकका सीइओसँग नै कार्यक्रमका नाममा उठाइयो चन्दा !

आइक्यान नियामक निकाय हो । नियामक निकायले आफुले नियमन गर्न सक्ने व्यक्ति तथा संस्थाबाट कुनै पनि लाभ लिन खोज्नु गलत मानिन्छ । तर, आइक्यानले भने आफुकहाँ उजुरी परेकाहरुसँग छानी छानी चन्दा उठाएको पाइएको छ ।

राष्ट्रिय वाणिवा ज्य बैंकका सीइओ देवेन्द्र रमण खनाल र सोहि बैंकका अडिटर प्रकाश  लम्साल साढु दाइ साढु भाइ भएको तथ्य उजागर भएपछि लम्साल र खनाल दुबैलाई कारवाही गर्नुपर्ने माग उठेको थियो । यसै विषयमा उजुरी पनि आइक्यानमा परेको छ । तर, खनाल र लम्साललाई कारवाहीको सिफारिसका लागि अनुसाशन समितिमा पठाउनुको सट्टा डंगोलले सो उजुरी नै लुकाएर उल्टै वाणिज्य बैंकसँग आइक्यानले गर्ने कार्यक्रमका नाममा चन्दा उठाएको पाइएको हो । यसपटकको लेखा व्यवसायी सम्मेलनमा राष्ट्रिय वाणिज्य बैंक गोल्ड स्पोन्सर छ र सोको स्वीकृति तिनै खनालले गरेका छन्, र चन्दा उठाउने काम डंगोलको नेतृत्वमा भएको छ ।

आइक्यान स्रोतका अनुसार खनाल र लम्साललाई कुनै पनि कारवाही नगर्ने भन्दै डंगोल पैसा माग्ने राष्ट्रिय बाणिज्य बैंक पुगेका थिए । कारवाहीबाट जोगिने भएपछि खनालले पनि आइक्यानका नाममा चन्दा दिएका थिए । खनाल तिनै व्यक्ति हुन्, जो आइक्यानले बैंकको चन्दामा कार्यक्रम गर्नु हुँदैन भन्दै आएका थिए ।

यो प्रकरणमा स्वयम् डंगोललाई बैंकका अडीटर लम्सालले पनि धम्की दिएको बुझिएको छ । आफुहरु विरुद्ध कारवाही प्रक्रिया अगाडी बढे डंगोलले गरेका कैफियतपूर्ण कामको बारेमा आगामी अडिटका क्रममा लेख्न लगाउने भन्दै लम्सालले डंगोललाई धम्की दिएका थिए । डंगोल राष्ट्रिय बाणिज्य बैंक छाडेरै आइक्यानको कार्यकारी निर्देशक हुन गएका हुन् । यसरी एकले अर्काको पोल खोल्नु भन्दा दुवैले एक अर्कालाई सहयोग गरेर जाने भन्दै लम्साल र खनालको गलत काममा आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोल चुप लागेको आइक्यानका उच्च अधिकारीहरु दाबी गर्छन् । आइक्यानको कार्यक्रममा प्रायोजन गर्ने नाममा बैंकले आफुले भनेको एक जना मान्छेलाई कार्यक्रममा मोडरेटर राख्नुपर्ने मागसमेत गरेको थियो । डंगोलले त्यसलाई पनि हुन्छ  भनेका थिए ।

कृषि विकास बैंकमा पनि उजुरी देखाएर चन्दा !

यसो त अनैतिक चन्दा संकलनमा राष्ट्रिय बाणिज्य बैंक मात्र होइन, आइक्यान कृषि बिकास बैंकसम्म पनि पुगेको छ । कृषि बिकास बैंकको वित्तीय विवरण राम्रो बनाउने नाममा आइक्यानकै काउन्सिल सदस्य अमन उप्रेतीले रकम लिएको पुष्टी भएपछि उप्रेती विरुद्ध आइक्यानमा उजुरी परेको थियो । तर, सो प्रकरणमा उप्रेतीलाई जोगाइदिने तर आइक्यानको कार्यक्रममा रकम दिनुपर्ने भन्दै डंगोलसहितको टिम कृषि बिकास बैंक पुगेको थियो । त्यसपछि, कृषि बिकास बैंकले पनि थप ड्यामेज कन्ट्रोलका लागि आइक्यानलाई चन्दा दिएको थियो ।

एक्यानकै पदाधिकारीहरु भन्छन्- ‘आइक्यानले कोड अफ इथिक्स अव नसिकाए हुन्छ’

यसो त आइक्यानका पदाधिकारीहरु पनि आइक्यानका कार्यकारी निर्देशकको रबैयाबाट वाक्क दिक्क भईसकेका छन् । ‘आइक्यानले आफु नियामक हो भन्ने नै बिर्सेजस्तो छ । आफुले नियमन गर्ने संस्थाबाट रकम असुल गर्न आइक्यान ऐनले नै दिंदैन । तर विदेशमा अभ्यास छ भन्ने नाममा आफैंले कार्यविधिको खेस्रो बनाएर मनपरी गरिएको छ ।’ एक्यानका एक पदाधिकारी भन्छन्, ‘कुनै पनि पब्लिक लिमिटेड कम्पनीबाट आइक्यानले चन्दा उठाउन मिल्दैन । अझ, जसको नाममा उजुरी छ, उसैले स्वीकृति गरेर पैसा लिने भनेको त बसमासी मात्र होइन, अपराध हो । यस्तो अपराध गर्नेले अव कुन नैतिकताले कोड अफ इथिक्स सिकाउँछ ? अव कुन नैतिकताले आइक्यानले कारवाहीको चेतावनी दिन सक्छ र ? अव आइक्यानले कसैलाई पेशागत मर्यादा विपरित काम गरेर कारवाही गर्नुपर्छ भने त्यसको सुरुवात बिमल डंगोलबाट हुनुपर्छ ।’

 के भन्छन् कार्यकारी निर्देशक डंगोल ?

यस विषयमा डंगोलको धारणा लिन हामीले उनलाई फोन गरेका थियौँ । सुरुमा उनले व्यक्ति र संस्था फरक भएकाले आफुहरुले कर्पोरेट डिल गरेको दाबी गरे । ‘व्यक्तिलाई कारवाही  गर्नुपर्ने कुरा फरक हो, संस्था फरक हो । राष्ट्रिय बाणिज्य बैंकका सीइओ र अडिटर र सीइओलाई कारवाही गर्नुपर्ने विषय फरक हो,  हामीले त बैंकसँग डिल गरेको हो नि’ उनले भने ।

‘अनि कार्यक्रमका  नाममा पैसा माग्ने तपाईं, जो आइक्यानको कार्यकारी निर्देशक हुनुहुन्छ, अनि पैसा दिन स्वीकृति दिने बैंकका सीइओ कारवाही गर्नुपर्ने भन्दै उजुरीको पात्र हुनुहुन्छ, यस्तो बेला लेनदेन अनैतिक भएन र ?’, हाम्रो प्रतिप्रश्न पछि उनले भने, ‘अहिले कार्यक्रममा छु । पछि भेटेर कुरा गरौंला ।’

आइक्यानका कार्यकारी निर्देशक डंगोलको बदमासीको भाग २ अर्को अंकमा            

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।