काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को ८औँ दीक्षान्त समारोह शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको उक्त समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्स् दीक्षित भएका छन् ।
दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रमुख अतिथि रायाले दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रायाले सुशासनमार्फत राष्ट्र निर्माणमा योगदान गर्न चार्टर्ड एकाउन्टेन्टहरूलाई आग्रह गरे । उनले सरकार, नियामक निकाय र सरोकारवालाबीच सहकार्यको आवश्यकता औंल्याउँदै उच्च नैतिकतासहितको पेसागत विकासमा जोड दिए । चार्टर्ड एकाउन्टेन्ट राष्ट्रको आर्थिक विकासका लागि आवश्यक विशिष्ट पेसा रहेको बताउँदै महालेखापरीक्षक रायाले नवदीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई शुभकामना पनि दिए ।
सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणालीको सुनिश्चितता गर्न चार्टर्ड एकाउन्टेन्टस्को भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । पेसागत निर्णयमा नैतिकता, स्वतन्त्रता र विवेकको समुचित प्रयोग गर्न सुझाएका महालेखापरीक्षक रायाले प्रविधि र उपकरणमा जतिसुकै परिवर्तन आए पनि नैतिक मूल्यमा सम्झौता गर्न नहुनेमा जोड दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले यतिबेला सरकारी वित्त दबाबमा रहे पनि बाह्य क्षेत्र ठिकठाक रहेको र मुद्रस्फीति पनि वाञ्छित सीमाभित्रै रहेकोले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
समारोहमा आइक्यान अध्यक्ष सिए निलबहादुर सारु मगरले नयाँ सिएहरूलाई स्वागत गर्दै संस्थाले लिएको पहलकदमीबारे जानकारी गराए । सो अवसरमा आइक्यानले आयोजना गरेको क्विज र पब्लिक स्पिकिङ प्रतियोगिताका विजेतालाई मेडल र पुरस्कार वितरण गरेको थियो । तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक:




प्रतिक्रिया दिनुहोस्