काठमाडौँ। अजय चौरासिया नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हुन्। उनी नाराभन्दा नीति, भावनाभन्दा तथ्य र लोकप्रियताभन्दा उत्तरदायित्वलाई प्राथमिकता दिने नयाँ पुस्ताका प्रतिनिधि नेता मानिन्छन्।
सत्ता प्राप्ति होइन, राज्य प्रणालीलाई जनपक्षीय, न्यायोचित र अनुशासित बनाउने लक्ष्यका साथ उनी राजनीतिमा सक्रिय छन्। वि.सं. २०४९ वैशाख १६ गते जन्मिएका अजय चौरसिया पर्सा जिल्ला, वीरगञ्ज–१६ का स्थायी बासिन्दा हुन्। मधेशको सामाजिक–आर्थिक यथार्थ, सीमावर्ती व्यापार, साना तथा मझौला उद्यम, बैंकिङ शोषण, श्रमिक र युवाका समस्यालाई उनले नजिकबाट अनुभूत गरेका छन्, र उनको जीवन यात्रा सुविधाभन्दा मेहनत, सिफारिसभन्दा क्षमता र अवसरवादभन्दा सेवाभावमा आधारित रहेको छ।
शैक्षिक तथा व्यावसायिक रूपमा अजय चौरसिया दोहोरो प्रमाणित चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (ICAI) र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ICAN) बाट प्रमाणपत्र प्राप्त गर्नुका साथै वाणिज्यशास्त्रमा स्नातक उपाधि हासिल गरेका छन्। पूर्व बैंकरको अनुभवका कारण उनले नेपालको वित्तीय प्रणाली, ऋण प्रवाह, बैंकिङ संरचना र त्यसका कमजोरीलाई व्यवहारिक रूपमा बुझेका छन्। दश वर्षभन्दा बढीको अनुभवसहित उनले लेखापरीक्षण, कर प्रणाली, वित्तीय परामर्श र कर्पोरेट सुशासनका क्षेत्रमा काम गरेका छन् र हाल Ajay Chaurasiya & Associates का प्रमुखका रूपमा नेपालभर व्यवसाय र संस्थालाई सेवा प्रदान गर्दै आएका छन्।
सामाजिक तथा जनसंघर्षमा पनि अजय चौरसिया सक्रिय छन्। वि.सं. २०७८ देखि बैंकहरूको अनैतिक नाफामुखी अभ्यास, अत्यधिक ब्याजदर र जबर्जस्ती शुल्कविरुद्ध उनले निरन्तर सडक संघर्ष र जनचेतनामूलक अभियान सञ्चालन गरेका छन्, जसका कारण हजारौँ ऋणी र व्यवसायी पीडितको पक्षमा न्याय सुनिश्चित भएको छ र अतिरिक्त असुल रकम फिर्ता गराउन बैंकहरू बाध्य भएका छन्। बैंकहरूको कर्तुत सार्वजनिक गरेकै कारण NIC Asia बैंकबाट साइबर अपराधको मुद्दा झेल्नुपरे पनि उनी विचलित भएनन्। मीटर ब्याज पीडितको पक्षमा निर्णायक भूमिका निर्वाह गर्दै उनले बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारीविरुद्ध दायर मुद्दामा परमादेशसमेत गराएका छन्। साथै, बैंक तथा वित्तीय संस्थाबाट पीडितहरूलाई नि:शुल्क कानुनी तथा वित्तीय परामर्श, घरेलु हिंसाविरुद्ध कानुनी कारबाही र जनहितका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन्, जसका क्रममा पटक–पटक पक्राउ परे पनि अन्यायविरुद्ध बोल्ने साहस कहिल्यै त्यागेका छैनन्।
सार्वजनिक शिक्षा र चेतनाको क्षेत्रमा उनले १५० भन्दा बढी युवा तथा स्नातकहरूलाई कर, लेखा र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेका छन्, जसका कारण धेरै युवा आत्मनिर्भर वा रोजगारीमा आबद्ध भएका छन्। वित्तीय साक्षरता, कर सचेतना र नागरिक अधिकारका विषयमा सेमिनार, वेबिनार र सार्वजनिक संवादमार्फत उनले निरन्तर जनचेतना फैलाइरहेका छन्। उनको स्पष्ट विश्वास छ कि सूचित नागरिक नै समाजवादी लोकतन्त्रको सबैभन्दा बलियो आधार हो।
राजनीतिक रूपमा अजय चौरसियाको दृष्टिकोण नेकपाका मूल्यसँग मेल खाने खालको छ, जहाँ व्यक्तिवादभन्दा संस्थागत जवाफदेहिता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, सरल र पारदर्शी कर प्रणाली, श्रमिक-किसान-उद्यमीमैत्री आर्थिक नीति, युवाकेन्द्रित रोजगारी र उत्पादनमुखी सुधार तथा सूदखोरीविरुद्ध कडा कानुनी व्यवस्था उनका मुख्य प्रतिबद्धता हुन्। उनी विश्वास गर्छन् कि नेपाल असफल हुनुको कारण क्षमताको कमी होइन, नीतिगत इमानदारी र कार्यान्वयनको अनुशासनको अभाव हो। पत्नी पूजा चौरसिया बनारस हिन्दु विश्वविद्यालयबाट जैव-रसायनशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी र मैथिली भाषामा प्रवीण अजय चौरसिया स्थानीयदेखि राष्ट्रिय तहसम्म प्रभावकारी संवाद गर्न सक्षम नेता हुन्। यही कारण पर्सा-१ का लागि नीतिगत स्पष्टता, इमानदार संघर्ष र न्याय दिलाउने साहस बोकेको नेतृत्वका रूपमा उनी एक बलियो, विश्वसनीय र जित्न सक्ने उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।

प्रतिक्रिया दिनुहोस्