Skip to content

सिए सुरेश देवकोटाले नेतृत्व सम्हालेपछि सुध्रियो सिन्धु विकास बैंकको वित्तीय अवस्था, कर्जा असुलीमा पनि प्रगति !

काठमाडौँ । सिन्धु विकास बैंकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । बैंकको कार्यकारी प्रमुखमा सुरेश देवकोटा नियुक्त भएसँगै सिन्धु विकास बैंकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार आएको हो ।

बैंकको रिपोर्टअनुसार गत आर्थिक वर्ष २०८१-८२ मा सिन्धु विकास बैंकको वित्तीय सूचकहरुमा व्यापक प्रगति देखिएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.४६ प्रतिशतबाट बढेर ३१.७६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा ६५ रुपैयाँ ५० पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०८२ असार मसान्तमा बढेर ९७.२४ रुपैयाँ पुगेको छ । देवकोटाले नेतृत्व सम्हालेसँगै बैंकका निष्कृय कर्जाको असुलीमा उल्लेखनीय सुधार हुँदा बैंकको वित्तीय सूचकहरुमा पनि प्रगति देखिएको हो ।

गत आर्थिक वर्षमा १०.६३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात २०८२ असार मसान्तसम्ममा घटेर ६.०८ प्रतिशतमा झरेको छ । त्यस्तै, असार मसान्तमा बैंकको पूँजीकोष अनुपात पनि १३.०७ प्रतिशत पुगेको छ ।

यसो त विगतमा पूँजीकोष अनुपात ६ प्रतिशत हाराहारीमा भएकै कारण सिन्धु विकास बैंकलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको थियो । तर, हाल पूँजीकोष अनुपात तोकिएको सीमा भन्दा माथि रहेकाले छिट्टै बैंकमाथि गरिएको शीघ्र सुधारात्मक कारवाही हट्ने बैंकले विश्वास गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइसकेको छ ।

यता नेटवर्थमा उल्लेख्य सुधार भए पनि विगतका वर्षहरुको संचित नोक्सानीको कारणले यसवर्ष बैंकले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । हाल प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा आफ्नो २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टर मार्फत करिब डेढ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।