Skip to content

‘आइक्यानको बिपीए अवार्ड दिलाईदिने सर्त’मा पार्षद उप्रेतीको कृषि विकास बैंकसँग ‘स्वार्थपूर्ण कारोबार’, भन्छन्- ‘अरुले पनि गर्छन्’

काठमाडौँ । लेखापरीक्षकहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले बार्षिक रुपमा दिने निकै सम्मानित मानिएको अवार्ड विवादमा तानिएको छ । आइक्यानकै पार्षद् रहेका सिए अमन उप्रेतीले स्वार्थपूर्ण कारोबार गरेको पाइएपछि अवार्ड विवादमा तानिएको हो । उप्रेतीले बार्षिक प्रतिवेदन प्रस्तुतीकरणलाई परिस्कृत बनाउने नाममा कृषि विकास बैंकसँग भुक्तानी लिनु, र सोहि पटक उनी नै पार्षद रहेको संस्थाले बैंकलाई एक्लो प्रतिष्पर्धी बनाएर अवार्ड दिएपछि यो विवाद सतहमा आएको हो ।

भएको के हो ?

गत सालको कुरा हो, अमन उप्रेतीले कृषि विकास बैंकको बार्षिक प्रतिवेदनको प्रस्तुतीकरणका नाममा कृषि बिकास बैंकलाई आफ्नो कम्पनीमार्फत मु.अ. करसहित ५ लाख रुपैयाँको बिल काटे । केहि दिन सामान्य काम गरेजस्तो गरेर ५ लाख रुपैयाँको बिल काटेपछि बैंकभित्र आन्तरिक प्रश्न उठ्यो । त्यसअघि सो शीर्षकमा काम नै नभएको र एकासी किन त्यति रकम खर्च गरियो भन्ने प्रश्न उठेपछि बैंकका सिनियर कर्मचारीहरुले ‘यो अवार्ड लिनका लागि गरिएको काम’ भनेर बैंकभित्र ब्रिफिङ गरे । छवि धुमिलिएका बेला अवार्ड लिने कुरामा बैंकभित्र प्रश्न उठाउने अधिकारीहरु पनि ‘कन्भिन्स’ भए ।

नभन्दै कृषि विकास बैंकले केहि दिनपछि बिपीए अवार्ड पायो । यतिसम्म कि कृषि बिकास बैंकले जुन विधामा अवार्ड पाएको थियो, त्यो विधामा बैंक एक्लै प्रतिष्पर्धी थियो । अझ खास कुरा त के छ भने, कृषि बिकास बैंकले जुन अवार्ड पाएको थियो, यसअघि आइक्यानले वितरण गर्ने अवार्डमा सो विधा नै थिएन ।

‘एक त अन्तराष्ट्रिय चलन भनेर पहिला नभएको विधा थप्न लगाईयो । त्यसमाथि एक्लो प्रतिष्पर्धीलाई अवार्ड नदिउँ भन्ने कुरा पनि भएको थियो । तर पार्षद उप्रेतीले अन्तराष्ट्रिय चलन भन्दै दिनुपर्छ भनेर जोडबल नै गरे । ठिकै छ नि त, भनेर ओके भनियो, तर पछि उहाँको बैंकसँग लेनदेन रहेछ ।’ आइक्यानका एक उच्च अधिकारीले भने, ‘सकेसम्म यो विषय बाहिर नल्याउँ भन्ने थियो । तर उप्रेतीले यसपाली पनि अवार्डको ठेक्का लिएजसरी काम लिएछन् । सो विधामा अवार्ड नदिने गर्नुहुन्न भनेर दबाबसमेत आएको छ । एक्लो प्रतिष्पर्धी भएकाले कृषि बिकास बैंकलाई नै सो अवार्ड दिनैपर्ने छ ।’

ती अधिकारीका अनुसार केहि समय अगाडी सिटिजन्स बैंकलेसमेत यसैगरी अवार्ड लिएको पाइएपछि केहि नियम नै परिवर्तन गरिएको थियो । ‘सिटिजन्स बैंकले केहि समय अगाडि आइक्यानलाई एउटा प्रतिवेदन बुझाउने, पब्लिकलाई एउटा प्रतिवेदन बुझाउने गरेको रहेछ । अनि, आइक्यानलाई बुझाउने प्रतिवेदन राम्रो देखाउने नाममा एक जना सिएले ७ लाख्र रुपैयाँ लिएका रहेछन् । यो थाहा पाएपछि सेयरधनीलाई दिने वित्तीय प्रतिवेदन र आइक्यानलाई दिने प्रतिवेदन उही हुनुपर्छ भन्ने नियम बसाईयो । त्यसपछि सिटिजन्स बैंकले सो अवार्ड नै पाएन ।’ आइक्यानका एक अर्का अधिकारीले भन्छन्, ‘अवार्ड भनेको त सम्मान हो, यहाँ त व्यापार भईरहेको रहेछ । यसलाई नरोके संस्थाको गरिमा सकिन्छ ।’

ती अधिकारीले आइक्यानले नै कारवाही गरेका व्यक्तिबाट पुन: अवार्डका लागि पावर लगाईदिन अनुरोधसमेत भएको दाबी गरे । ‘जसलाई आइक्यानले अनुशासनको कारवाही गरेको छ, सो कारवाही भुक्तानीसमेत नगरी बैंकको सीइओ बनेका व्यक्तिले पुन: अवार्ड दिलाईदिन भन्दै एक सिएलाई यस्तै काम दिएका रहेछन् । उनले गर्दिन भनेका रहेछन् । सो काम अरु सीएले गरे कि गरेनन् थाहा भएन, तर पार्षदले नै यसरी स्वार्थको द्वन्द हुनेगरी काम नगरेको भए हुन्थ्यो । अमनजीले गल्ती गर्नुभयो ।’

के भन्छन् अमन उप्रेती ?

अमन उप्रेती आफुले कृषि विकास बैंकमा वित्तीय रिपोर्ट प्रस्तुतीका लागि भन्दै काम लिएको र सोको भुक्तानीसमेत लिएको स्वीकारे । उनले अवार्ड अप्लाई गर्नकै लागि आफुले काम गरेको पनि स्वीकारे । तर आफु अवार्ड वितरणमा कतै पनि सहभागी नभएकाले यो काम स्वार्थको द्वन्द नहुने उनको तर्क छ । ‘वित्तीय रिपोर्ट प्रस्तुतीकरण राम्रो बनाउने काम हामीले गरेका हौँ । त्यसवापत भुक्तानी पनि लिएको हो । सो काम अवार्डमा अप्लाई गर्नका लागि हो भन्ने पनि थाहा थियो । तर त्यसपछि मेरो कुनै पनि सहभागीता छैन ।’ उप्रेतीले भने, ‘मैले सो अवार्ड दिलाईदिन कतै पनि भनसुन गरेको छैन । मैले अवार्ड दिने पनि होइन । तर अवार्ड अप्लाई गर्न वित्तीय रिपोर्ट राम्रो बनाउने कम लिएको हो । यो मेरो काम नै हो ।’ उप्रेतीले भने ।

‘अनि अवार्ड दिने संस्थाको पार्षद तपाईं, अवार्ड लिन स्पोर्ट हुनेगरी पैसा लिएर काम गर्ने पनि तपाईं ? यो त स्वार्थको द्वन्द हुनेगरी काम भएन र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘यस्तो त अरुले पनि गरेका छन् ।’

आइक्यानमा पटक पटक उप्रेतीविरुद्ध लिखित उजुरी, के भन्छ आइक्यान ?

यसो त यस विषयमा आइक्यानमा उजुरीसमेत परेको छ । तर, आइक्यानले अरु धेरै सिएहरु पनि तानिनसक्ने भन्दै यो उजुरीउपर कारवाही सुरु नै गरेको छैन । केहि दिन अघि मात्र पनि उप्रेतीविरुद्ध आइक्यानमा उजुरी परेको छ । अवार्ड दिलाईदिने भन्दै स्वार्थपूर्ण कारोबार गरेको, रिलायन्स स्पिनिङ्ग मिल्समा हुँदै नभएको प्रोजेक्सन बनाएर सर्टिफाई गरेको लगायतका विषयउपर अनुसन्धानको माग गर्दै उनी विरुद्ध उजुरी परेको हो । तर, उप्रेतीले भने कारवाही गर्ने भए अहिलेका अध्यक्षबाटै कारवाही सुरु गर्नुपर्छ भन्दै यो विषयमा छानविन रोकिरहेको आइक्यानका अधिकारीहरुको दाबी छ ।

बैंक भन्छ -‘प्रतिवेदन हामीले बनाउने हो, उहाँ डिजाइनर हो कि !’

यता कृषि विकास बैंकले भने वित्तीय प्रतिवेदन बनाउने काम कुनै सिएले गर्ने नभई आफ्नै टिमले बनाउने गरेको दाबी गर्छ । बैंकका सूचना अधिकारी हिमलाल पौडेलले बैंकले अवार्ड पाएको वित्तीय प्रतिवेदन पनि बैंककै आन्तरिक टिमले बनाएको दाबी गरे । ‘त्यो वित्तीय प्रतिवेदन त हाम्रै टिमले बनाउने हो । त्यसका लागि कसैलाई पैसा दिएर काम लगाएको हुनुनपर्ने हो ।’ पौडेलले भने, ‘प्रतिवेदन बनाउने हामीले नै हो, अव उहाँलाई डिजाइन गर्न पो दिएको हो कि !’

‘डिजाइन त प्रेसतिरको काम होला नि, त्यो पनि ५ लाख रुपैयाँ डिजाइनको पर्छ र ?’ हाम्रो प्रश्नमा पौडेलले भने -‘यस विषयमा मलाई थप थाहा भएन । तर प्रतिवेदनचाहिं हामीले नै बनाउने हो, हाम्रै टिमले बनाउने हो ।’

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।