Skip to content

एक्यान इलेक्सन बहस: प्रहरीको फरार सूचीमा रहेको व्यक्ती उम्मेदवार हुन पाउँछ ?

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनावी सरगर्मी बढिरहेका बेला प्रहरीको फरार सूचीमा रहेका व्यक्ती संघको पदाधिकारीमा लड्न पाउँछ कि पाउँदैन भन्ने बहस सुरु भएको छ । प्रहरीले फरार प्रतिवादी बनाई अदालतमा मुद्दा दायर गरेका एक चार्टर्ड एकाउन्टेन्टले पदाधिकारीमा लड्ने भन्दै चुनावी क्याम्पेन सुरु गरेपछि यस्तो बहस सुरु भएको हो ।

ठगी मुद्धामा प्रतिवादी बनाईएका ती सिएको मुद्धा अदालतमा विचाराधीन छ । प्रहरीले फरार भने पनि उनी भने नियमित कामकाजमै छन् ।

संघकी महासचिव संजिता नेपाल विधानले फरार प्रतिवादीका बारे प्रष्ट नबोले पनि निर्वाचन कार्यविधिमा यस विषयमा प्रष्ट पारिने बताउँछिन् । ‘फरार प्रतिवादी चुनावमा उठ्न पाउने कि नपाउने भन्ने विषयमा संघको विधानले केही बोलेको छैन । तर, निर्वाचन कार्यविधिले यस विषयमा प्रष्ट पार्नेछ ।’ सिए सरोकारसँग कुरा गर्दै नेपालले भनिन्, ‘अदालतमै प्रहरीले फरार भनेर मुद्धा दायर गरेको स्थितिमा त्यस्ता सदस्य उम्मेदवार बन्न नपाउनेगरी व्यवस्था गर्छौँ ।’

पदाधिकारीमा लड्ने योजना बनाएका ती सिएका प्रस्तावक बन्ने योजनामा रहेका सिए भन निर्वाचन अगाडि नै आफ्ना उम्मेद्वार निर्दोष ठहर हुने दाबी गर्छन् । ‘संलग्नता नै नभएको विषयमा उनलाई फसाउने काम भएको छ । उहाँलाई संघको निर्वाचन अगाडि नै अदालतले निर्दोष सावित गर्नेछ ।’ ती सिएले भने ।

यता कानुन व्यवसायीहरुको तर्क पनि फरार सूचीमै रहेको अवस्थामा चुनाव लड्न नपाइने भन्ने छ । `एक त फरार सूचीमा रहेको व्यक्ती कुनै पनि बेला पक्राउ पर्न सक्छ । यो संघको इज्जतको कुरा पनि हुन सक्छ । अर्कोतर्फ उनी चुनाव अघि निर्दोष ठहर भए पनि अर्को तहको अदालतमा सरकारले पुनरावेदन गर्न पाउने हुनाले मुद्धाको अन्तिम किनारा नलागुन्जेल ती सिए संघको चुनावका लागि अयोग्य हुन्छन् ।’ कानुन व्यवसायी गोपी थापाले सिए सरोकारसँग भने, ‘कुनै पनि पेशागत संघमा निर्वाचनमा फरार सूचीको मान्छे उम्मेदवार हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।