
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ- सुरेन्द्र श्रेष्ठ । काउन्सिलमा पुग्नै पर्ने खालको सिए भनेर विश्लेषण गरिएका एक ‘क्यान्डीडेट’ । नेपाल बोर्डका ‘प्रोडक्ट’, अधिकांस सिएका प्यारा पात्र । अध्यापनकर्ममा समेत लागेकाले पढाउने र सिकाउने दुवै काममा अब्बल । विद्यार्थीका समेत प्यारा पात्र । बजारमा ‘इथिक्स’मा टेकेर मात्रै काम गर्ने ‘ट्याग’ पाएका व्यक्ति । झट्ट हेर्दा पनि नेवारी फिल्मको हिरोजस्तो । काउन्सिलमा पुगेपछि आफुले के गर्छु वा सबैले के गर्नुपर्छ भन्ने स्पष्ट एजेन्डा लिएर हिंडेका व्यक्ति । चुनाव जित्ने लिष्टमा मज्जाले अटाउँछन् भन्ने आश गरिएका पात्र हुन् श्रेष्ठ । तर चुनाव हो, यहाँ कसैले कसैलाई आफ्नो वा विरानो भन्दैन । यस्तै सम्भावना र खतराले पिल्सिएका छन् सुरेन्द्र श्रेष्ठ।
असोचनीय साथको सम्भावना !
सीधा अर्थमा भन्दा सुरेन्द्र श्रेष्ठ र क्षेत्र गोपाल प्रधान नेपाल बोर्डको भलो चाहाने एउटा ‘आइक्यान एक्सट्रिमिष्ट’ समूहले उठाएका पात्रहरु हुन् । यसो त चुनाव उठ्नका लागि धेरै मान्छे नभेटिएपछि सुरेन्द्र श्रेष्ठजस्तो कन्फीडेन्स् भएका र क्षेत्र गोपालजस्तो निकै कम कन्फीडेन्स् भएका उम्मेदवारको ‘कक्टेल’ बनाइएको छ । आइक्यानका प्रोडक्टमध्ये थुप्रैले सुरेन्द्र श्रेष्ठलाई साथ मात्र दिएका छैनन्, अरु भोट बढाईदिने कसरत पनि गरेका छन् । भारतीय बोर्डबाट सिए उतिर्ण गरेका थुप्रैले पनि उनलाई साथ दिने प्रतिबद्धता जनाएका छन् । उठ्न नेपाल बोर्डको प्रतिनिधित्व गरेर उठेपनि सबैलाई समेटेर लैजाने क्षमता भएका श्रेष्ठलाई यस्तै आइक्यान राम्रो बनाउनुपर्छ भन्ने तर्क भएका अन्य थुप्रैले पनि साथ दिने सम्भावना बढी छ । नेता नै हुने गुण ठ्याक्कै नभएपनि उनले कन्भिन्स भने धेरैलाई गरेका छन् ।
आफ्नैको घातको खतरा !
यसपाली आइक्यानका प्रोडक्ट रहेका दुवै उम्मेदवारलाई जिताउन लागि परेको आइक्यानको ‘एक्सट्रिमिष्ट’वाला समूहले दुबैलाई जिताउन खोज्दा कतै दुबैले हार्ने त होइन ? भन्ने खतरा पनि बढेको छ । नेपाल बोर्डकै प्रतिनिधित्व गरेर बिगतमा काउन्सिलमा उठेकाहरुले पनि यी दुईमध्ये जसलाई भोट हाले पनि हुन्छ भन्दै हिंडेका छन् । अझ त्यतिमात्र होइन केहिले त सुरेन्द्रले जित्ने पक्का भो अब क्षेत्रलाई भोट हालौं भन्दै पनि हिंडेका छन् । चुनावको अन्तिम समयमा आफ्नैले गरेको यस्तो व्यवहार उनका लागि घातक हुन सक्छ । उनको २ नम्बरले क्षेत्रले पनि चुनाव जित्ने सम्भावना छ । तर यहाँ त उनले जिते भन्ने हल्ला पिटाएर उनको भोटसमेत क्षेत्रलाई तान्ने वा बाड्ने दुष्साहस भएको छ । गत चुनावमा यसरी नै भरत रिजालले भोट बाँड्दा उनको सोचिएभन्दा निकै कम भोट आएको थियो । यसपाली त्यस्तै भयो भने त फेरि उनको चुनाव पनि ‘ट्राइ एगेन’ नहोला भन्न सकिन्न । उनी र उनको साथमा रहेकाहरुले यो कुरा बुझ्न जरुरी छ ।
उनलाई अर्को घातको खतरा किरण डंगोलबाट पनि छ । जति नै पढेलेखेको बर्गका रुपमा कहलीए पनि सिए क्षेत्रमा क्षेत्रीयता हावी छ । पोखराकोले पोखराकैलाई भोट दिनु पर्ने, मधेशीले मधेशीलाई नै भोट दिनुपर्ने, नेवारले नेवारलाई नै भोट दिनुपर्ने भन्ने गलत प्रथा अहिले पनि हावी छ । गत चुनावमा यहि कारण सुनील जाकिबन्जाले चुनाव जितेका थिए । यसपाली विद्यावारिधिलाई थुप्रै पोष्टल पोखराबाट आउनुले त्यो प्रवृति सकिएको छैन भन्ने स्पष्ट हुन्छ । सुरेन्द्र श्रेष्ठलाई भोट हाल्न तयार भएका केहि सिएहरुलाई सुरेन्द्रले त जितिहाल्छ किरण डंगोललाई भोट हाल्नुपर्यो भन्दै केहि नेवारी सिएहरु उफ्रीरहेको चर्चा उस्तै छ ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया दिनुहोस्