Skip to content

भूकम्पबाट सिर्जित चुनौती र अवसर,सिए सुरेन्द्र भुषण श्रेष्ठको लेख

संकटको घडीले सिर्जना गरिदिएको यो ठूलो चुनौतीलाई ठूलै अवसरका रूपमा
ढाल्न सके नेपालले नयाँ काँचुली फेर्ने कुरामा कुनै आशंका छैन । खालि कुशल
व्यवस्थापकीय कला र अल्पकालीन तथा दीर्घकालीन रणनीतिको खाँचो छ ।

गत वैशाख १२ गते आएको महाभूकम्प र त्यसपछि आएका शक्तिशाली परकम्पले यतिबेला
समग्र मुलुकलाई क्षतविक्षत पारिदिएको छ । आर्थिक, सामाजिक–सांस्कृतिक
पाटोसँगै यसले राजनीतिलाई समेत प्रभाव पारेको छ । पर्यटन व्यवसाय धराशायी
बनेको छ भने व्यापार, उद्योग–कारखाना र अन्य सेवाक्षेत्र पनि यतिबेला
ठप्पजस्तै भएको छ । अझ २ छाक खान धौधौ हुने, गरिब र निम्न वर्गका
मानिसहरूलाई यसले थप पीडा दिएको छ ।
विश्वमै नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको तथ्य हामीलाई
सर्वविदितै थियो । यद्यपि हामीले कहिल्यै त्यस कुरामा मनन गर्न सकेनौं र
यसलाई राज्य तथा सरकारले पनि सधैं बेवास्ता नै ग¥यो । त्यसैको परिणाम आज
हामीले भोगेका हौं । सर्वप्रथम यसरी बारम्बार आउन सक्ने जोखिम कम गर्न भवन
तथा संरचनाहरू निर्माण गर्ने मापदण्ड अझ बढी पक्का र जनतालाई ढुक्क हुन
सक्ने हुन जरुरी छ । आजको युगमा जहाँ संसार एउटा ‘ग्लोबल भिलेज’का रूपमा
चिनिन्छ यी मापदण्डहरू र यससँग सम्बन्धित प्रावधानहरू बढी वैज्ञानिक तथा
व्यावहारिक हुने गरी तयार गर्न सक्नुपर्छ भन्ने साधारण चेतना सम्बन्धित
सरोकारवालालाई हुनु जरुरी छ । यसका लागि नीति–निर्माण र कार्यान्वयन पक्ष
चुस्त हुन अझ जरुरी हुन्छ । युगौंदेखि संरक्षण गर्दै र सम्हाल्दै आएका
संरचनाहरू एकाएक भग्नावशेषमा परिणत भइदिँदा हामी र हाम्रा पुर्खाले एकपल्ट
यो हाम्रो देशको र हाम्रो दोष के रहेछ ? भनेर सोच्नुपर्ने आवश्यकता देखिएको
छ ।


शान्तिका प्रतीक गौतम बुद्ध जन्मेको देश, संसारको सर्वोच्च शिखर सगरमाथा
अवस्थित यो देश, श्वेत ताराका रूपमा चर्चित भृकुटीले बास गरेको देश,
शिल्पकलामा बहुप्रतिष्ठावान् अरनिकोले रचेको यो देश आज एकपल्ट रोक्किएको छ र
आफ्ना नेपाली सन्ततिहरू भूकम्पको निशाना बन्दा एकपल्ट सबै नेपाल
भक्कानिएको छ । देशको धरोहर नै सम्हाल्न सक्ने शक्ति भएकोे ऊर्जा उत्पादनका
लागि देनका रूपमा अवस्थित यहाँका नदीहरू र यिनको उत्पादनका लागि निर्मित
संरचनाहरूलाई पनि निकै जोखिम तेस्र्याउँदै यो भूकम्प र यससँग गइरहेका
हजारौं ससाना परकम्पले मानसपटलमा हाम्रा सबै इन्द्रियलाई सुस्त बनाउन बाध्य
पारेको छ ।
यसरी हाम्रा सम्पूर्ण वेदना तथा समवेदनाहरू प्रस्तुत गरिरहँदा हामीलाई
हारेको मानसिकता भन्न पनि मिल्ला तर एकपल्ट सोचौं, हामीलाई भूकम्पले होइन,
हामी आफैंले निर्माण गरेका संरचनाहरूले पिरोलेका हुन् । अब यी जोखिम कम
गर्ने क्रममा हामीले आफ्ना मान्यताहरूमा पनि फेरबदल गर्नुपर्ने पो हो कि ?
हाम्रा रुचिका विषयहरू अग्ला भवनमा नभई दुईतले भवनमा नै सीमित राख्ने पो हो
कि ?

जगजाहेर छ, हामी विकसित राष्ट्रहरूको माझमा अझ पिछडिएका छौं र कम विकसित
छौं । हाम्रा नियमित योजनाहरूलाई अब थाँती राखी जोखिम न्यूनीकरण र जोखिम
व्यवस्थापनमा नै हामीले यो आगामी ६ महिना आफ्ना स्रोतसाधन परिचालन
गर्नुपर्ने हुन्छ । न्यूनतम स्रोतसाधनलाई पनि अझ बढी व्यवस्थित गर्न या
आवश्यक समयमा परिचालन गर्न भूकम्प र प्राकृतिक विपद्मा परिचालन गर्ने
जिम्मेवारीसहितको साधन–स्रोतसम्पन्न छुट्टै निकायको व्यवस्था गर्नु आवश्यक
देखिएको छ । हुन त प्राकृतिक विपद् आइपर्दा सबै कुरा सरकारबाट मात्र पनि आस
गर्न सकिँदो रहेनछ । यस्ता प्राकृतिक विपद्लाई ध्यान दिई सम्पूर्ण निजी
तथा सरकारी संयन्त्रले आ–आफ्नो कार्यस्थलमा प्राकृतिक विपद्का बेला अपनाइने
सावधानी तथा न्यूनतम कार्यस्थलमा अपनाइने सतर्कताहरू पनि लिखित रूपमा
रेकर्ड गरी राख्न तथा सबैको जानकारीमा राख्न अत्यावश्यक भएको छ ।
हालै आएको भूकम्पबाट नेपालमा क्षति कति होला भन्ने क्रममा दुईवटा पाटोमा क्षति मूल्यांकन गर्नुपर्ने लाग्छ ः
१. भूकम्पबाट सम्पत्ति तथा मानवस्रोत तथा संरचनामा आएको क्षति र सो तयार गर्न लाग्ने कुल खर्च र समय ।
२. भूकम्प नआइदिएको भए सो पुनर्संरचनाको समयमा देशले गुमाएको अन्य विकास तथा देश निर्माणका अवसरहरू ।
आर्थिक विश्लेषणको पाटो केही नकारात्मक देखिए पनि विभिन्न राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले बढाएका सहयोगी हातहरूका साथ यसले आर्थिक
पक्षभन्दा बाहिर विषयगत सकारात्मक सन्देशहरू पनि जोडिएको देखिन्छ । जस्तै,
यस विपद्को घडीमा देश विदेशका नेपाली तथा विदेशीहरूले एकजुट भई गरेको सहयोग
नेपालप्रति देखाएको भ्रातृत्व अनावश्यक राजनीतिक खिचातानीको अन्त्य र
भूकम्पलगायतका प्राकृतिक विपद्जस्ता चुनौती सामना तथा जोखिम न्यूनीकरण गर्न
पूर्वनिर्माण भइसकेका, निर्माणाधीन तथा भविष्यमा बन्ने संरचनाहरूमा जोखिम
न्यूनीकरण गर्नुपर्ने अति आवश्यक कार्यहरू, विपद् व्यवस्थापनका थप उपाय
जसबाट प्राकृतिक विपद्लाई सामना गर्न चाहिने साधनस्रोत तथा सीपको विकास
गर्ने अवसर र यी सबैबाट एक किसिमले नवनेपाल निर्माण गर्न प्रेरणा र अवसर
तथा जनतालाई अझ बढी सुनिश्चित र सुसूचित गरी सुव्यवस्थित गर्न अति
महŒवपूर्ण आधारशिला बन्न सक्नेछन् । संकटको घडीले सिर्जना गरिदिएको यो ठूलो
चुनौतीलाई ठूलै अवसरका रूपमा ढाल्न सके नेपालले नयाँ काँचुली फेर्ने
कुरामा कुनै आशंका छैन । खालि कुशल व्यवस्थापकीय कला र अल्पकालीन तथा
दीर्घकालीन रणनीतिको खाँचो छ अनि सबै पक्ष, वर्ग र निकायको समन्वय तथा
विशेष भूमिकाको अपरिहार्यता छ ।

महाभूकम्प एउटा विवेकशील नेपालीका लागि चेतना पनि हुन सक्छ, तर आधारभूत
आवश्यकताका संरचनाहरूबाट अछुतो र विपन्न हामीमा यो विपद्को घडीमा
दीर्घकालीन समस्या सिर्जना हुन्छ या हुँदैन भनेर आँकलन गर्ने बेला अब छैन ।
प्रकृतिले रचेको रचनाबाट कत्ति पनि नडराई, नडगमगाई केही समय हामीले
भोग्नुपर्ने त्रास र यसले प्रभावित क्षेत्रमा पु¥याउने पीडा, जो केही महिना
र केही समय हाम्रा अतिथि हुन्, यसलाई पनि सही हिसाबले हामीले व्यवस्थापन
गर्नु जरुरी छ यस घडीमा ।
(श्रेष्ठ नेपाल बंगलादेश बैंकका नायब महाप्रबन्धक हुन् ।कारोवार दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्