नयाँ भवन भएर के गर्नु, व्यवस्थापन कमजोर र लाचार भएपछी…! सबैभन्दा आवश्यक आइक्यानको काउन्टरलाई कुनामा राखिएका कारण विद्यार्थीहरुले कम दु:ख पाएका छैनन् । अहिले परिक्षाको फारम बुझ्ने बेला छ ।
बर्षौं देखि क्याप टुमा थलिएका, क्याप थ्रीमा पिरोलिएकादेखि क्याप वानका जोसिला अनुहारहरुसम्म लामबद्ध छन् आइक्यानमा परिक्षाको फारम बुझाउन । भीड उदेक लाग्दो छ । ५०० रुपयाँ जरिवाना तिर्न देखि फर्म बुझाउन समेत लाइन लामै बस्नुपर्छ । लाइन बसेर मात्र हुँदैन, बलियाहरु ठेलमठेल गरेर अगाडी जान्छन्, कमजोर विद्यार्थी वा महिला विद्यार्थीलाई सास्ती छ ।
विचरा पालेदाइले कति गरुन् । फारम कहाँ बुझाउनेदेखि कहाँबाट लिने सम्मको जानकारी दिनु उनको ड्युटी बनिसकेको छ । कता मात्र कराउन् उनी । रसिद काट्ने कर्मचारीहरुलाई भ्याईनभ्याई छ । सकेसम्म विद्यार्थीलाई सेवा दिनै पर्यो । अव ठुला बढाको के कुरा गर्नु ? आइक्यान परिसरमा गाडी पार्क गरेर बल्लबल्ल पाएको कुर्सिमा हल्लिंदै विदेश भ्रमणको तयारी गर्नु छ । अनि कसले सुनोस् विद्यार्थीका समस्या ?
तल्लो तहका कर्माचारीहरुलाई फुर्सद नै छैन । खटाइ कडा छ । जागिरको टुंगो नभए पनि ठुला बढाको गाली खाइएला भन्ने पिर छ ।
नाकाबन्दीको मारमा परेको देशका यी कठै विद्यार्थी । हिंडेर बल्ल बल्ल आइक्यान पुगेका । ठेलमठेल भिडमा बल्लबल्ल फारम बुझाउने लाइन बसेका छन् । कुन बेला पालोआउँछ थाहा छैन । आइक्यानको आँगनमा रहेको चिल्लो कार देखेर सम्झंदा हुन् ,’ सायद हामीलाई मात्र नाकाबन्दी आएको रहेछ ।’
नयाँ विद्यार्थीको समस्या झन् बढी छ । कहाँ के गर्ने, फर्म कता बुझाउने सबै पाले दाइलाई नै सोध्नु पर्छ । लामो लाइन बस्यो, बल्ल बल्ल आएको पालोमा यो मिलेन र उ मिलेन भन्ने थाहा पाएपछी फेरि उही लामो लाइन । कसैलाई मतलव छैन विद्यार्थीको यो समस्या ।
विद्यार्थीका लागि के के न गर्छु भनेर चुनाव ताका रन्किएकाहरु के गर्दैछन् ती बिचरा विद्यार्थीहरुलाई के थाहा ? उनीहरुलाई त यति थाहा छ, आइक्यान मेरो लागि सधैं आमा हुन् तर आइक्यानले मलाइ सौतेनी छोरो / छोरीको व्यवहार गरिरहेछ । र त बल्ल बल्ल साँझ पर्दै जाँदा पालो आएपछि फर्म बुझाएर फर्किंदै गर्दा क्याप टु पढ्ने एक विद्यार्थी बोले, ‘ यत्रो ‘बिल्डङ’ भएर के गर्नु नयाँ बोतलमा पुरानै रक्सी भने जस्तो !’
हेर्नुहोस् तश्वीरमा आइक्यानमा विद्यार्थीको भीड ।




प्रतिक्रिया दिनुहोस्