Skip to content

यसरी काम गर्छन् नक्कली अडिटर !

‘अडिटर’ अर्थात् लेखापरीक्षक भन्नाले कुनै पनि संस्थाको व्यवस्थापनले तयार गरेको लेखालाई परीक्षण गरी आफ्नो सुझावसहितको प्रतिवेदन पेस गर्ने व्यक्ति बुझिन्छ । नियमतः लेखापरीक्षकलाई संस्थाको साधारणसभाबाट नियुक्त गरिन्छ । तर, हाम्रोमा कैयौं स–साना कम्पनी वा सीमित प्रयोजनका लागि मात्र ‘अडिट रिपोर्ट’ चाहिने संस्थाहरु भने नक्कली लेखापरीक्षकको फन्दामा पर्ने तथ्य भेटिँदै आएका छन् ।

को हुन् नक्कली अडिटर ? 
नेपालको सन्दर्भमा दुईखाले लेखापरीक्षक हुन्छन् । चार्टर्ड एकाउन्टेन्ट (सिए) र रजिस्टर्ड अडिटर (आरए) । जसलाई नेपाली लेखा व्यवसायलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले लाइसेन्सको रूपमा सर्टिफिकेट अफ प्राक्टिस (सीओपी) दिने गर्छ, जसको आधारमा लेखापरीक्षकले कुनै पनि संस्थाको लेखापरीक्षण गर्न पाउँछन् । आइक्यानले स्पष्ट रूपमै आरए र सीएले कुन–कुन निकायको लेखापरीक्षण न्यूनतम कति शुल्कमा गर्न पाउने भन्ने नियम बनाएको छ । आइक्यानले रजिस्टर्ड अडिटर र चार्टड एकाउन्टेन्टको सदस्यता दिएका व्यक्ति र तीनमा पनि लेखा परीक्षण गर्न पाउने इजाजत पाएका व्यक्तिले मात्र लेखा परीक्षण गर्न पाउँछन् । यस्तो इजाजत नलिई अरुको लाइसेन्स दुरुपयोग गरेर वा भाडामा लिएर आफैँ लेखापरीक्षण प्रतिवेदन बनाई छाप र कीर्ते सही गर्नेहरु नक्कली अडिटर हुन् ।
कति संख्यामा छन् यस्ता नक्कली अडिटर ? 
यसरी अरूको छाप प्रयोग गरेर आफैँलाई अडिटर भन्दै हिँड्नेहरुको यकिन संख्या थाहा नभए पनि काठमाडौंमा मात्र यस्ता नक्कली अडिटरको संख्या पाँच सयभन्दा बढी रहेको सरोकारवाला बताउँछन् । काठमाडौंमा रही काम गर्ने रजिस्टर्ड अडिटर रमेश थापा भन्छन्, ‘यस्ता नक्कली अडिटरले हाम्रो व्यवसायमा असर गरिरहेका छन् । अरुको छाप प्रयोग गर्ने र प्रयोग गर्न दिनेहरुलाई कारबाही नभएकाले पनि समस्या अझ बल्झिएको छ ।’ विशेषगरी करदाता सेवा कार्यालयलगायत स्थान वरपर यस्ता नक्कली अडिटरहरुको चहलपहल हुने उनी बताउँछन् । ‘यसखाले व्यक्तिले कुनै पनि संस्थाको भ्याट विवरण बुझाउनेदेखि अडिट रिपोर्ट बनाउने कामसम्म गर्छन्,’ उनले भने ।

आफैं बोक्सी आफैं झाँक्री
कुनै पनि लेखापरीक्षकको काम भनेको व्यवस्थापनले बनाएको लेखा ठीक छ वा छैन भनेर आफ्नो सुझाव दिने हो । तर, बजारमा रहेका यस्ता नक्कली लेखापरीक्षकले विभिन्न संस्थाहरुको लेखा समेत आफैँ बनाइदिन्छन् । अडिटर रमेश थापा भन्छन्, ‘आफैँले बनाएको लेखाको आफूअनुकूल व्याख्या गरी प्रतिवेदन बनाउँदा, लेखा परीक्षण गर्नुको खास अर्थ नै भएन । सीमित उद्देश्यका लागि मात्र चाहिने प्रतिवेदनमा मनपरी हुँदा त्यसले दीर्घकालीन रुपमा नेपालको अर्थतन्त्रमै असर गर्छ ।’
किन भयो बिगबिगी नक्कली अडिटरको ?
कुनै पनि कम्पनीले लेखा परीक्षण गराउनु अनिवार्य काम हो । कुनै पनि सरकारी काम गर्दा वा संस्थागत रूपमा बैंकसँग विभिन्न काम गर्दा वा संस्थागत रुपमा ऋण लिँदा विभिन्न ठाउँमा अनिवार्य रूपमै लेखा परीक्षण प्रतिवेदन माग गरिन्छ । ‘यसरी चाहिने लेखा परीक्षण प्रतिवेदनमा साना कम्पनीको अडिटरसँग पहुँच नहुँदा वा सक्कली लेखापरीक्षकसँग चिनजान नहुँदा यस्ता नक्कली लेखापरीक्षणको बिगबिगी बढेको हो । सेवाग्राहीलाई सेवा चाहिने हो । उसले त्यो काम गर्न पाउँछ वा पाउँदैन भन्ने खासै हेक्का हुँदैन । छाप अरूको नाममा भए पनि मतलब हुँदैन । नक्कली अडिटरले आफ्नै हिसाबले त्यसको व्याख्या गरिदिएको हुन्छ,’ लेखापरीक्षक रमेश थापाले भने ।
भाडामा पाइन्छ लाइसेन्स 
आइक्यानले उचित नियमन नगर्दा सक्कली लेखापरीक्षकले नै नक्कली लेखापरीक्षकलाई आफ्नो छाप भाडामा दिने गरेका छन् । आफ्नो कीर्ते सही गर्न पनि छुट दिएका छन् । यसबापत मासिक वा वार्षिक रुपमा सक्कली लेखापरीक्षकले तोकिएको भाडाबापतको रकम लिने गर्छन् । विशेषगरी आइक्यानबाट लेखापरीक्षण गर्ने इजाजत पाएका तर आफ्नै व्यवसाय गरेकाले यसरी भाडामा आफ्नो छाप प्रयोग गर्ने दिने गरेको अर्का लेखा परीक्षक एस थापा बताउँछन् ।
नक्कलीले काम बिगार्दा सेवाग्राहीलाई तनाव
काठमाडौं, कोटेश्वरस्थित एक ट्युसन सेन्टर सञ्चालक यस्तै नक्कली अडिटरको फन्दामा परेर तनावमा छन् । बिग्रिएको वासलातमा अडिटरले ठीक छ भनेर सही गरेका छन् । र, त्यही प्रतिवेदन उनले कर कार्यालयलगायत विभिन्न निकायमा बुझाइसकेका छन् । ‘पछि मात्र थाहा भयो, रिपोर्ट नै गलत रहेछ । लेखा पनि उसैले बनायो, रिपोर्ट पनि उसैले बनाइदियो । अडिटरको सही पनि छ । तर पछि हेर्दा त कुल खरिद नै मैले भ्याट विवरणमा बुझाएको खरिदसँग मिलेन । अरु थुप्रै गल्ती पनि रहेछन्,’ उनले भने ।
बुझ्दै जाँदा आफूलाई अडिटर भनेर काम लिने व्यक्ति अडिटर नभएको र अरुको छाप प्रयोग गरेर दिएको भन्ने तथ्य थाहा भएको उनले बताए । ‘पछि मैले यसबारे बुझेँ । हुन त यसखाले एजेन्टको काम गर्न कुनै पनि कानुनले निषेध गरेको छैन, तर पनि आफूलाई एजेन्ट भने भैहाल्यो नि ! लेखा परीक्षक भनेर किन ढाँट्नु ? ढाँटेर भए पनि काम त ठीक गर्नु,’ उनले भने ।
कानुन व्यवसायीसमेत संग्लग्न 
नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी चलाएर बसेका ईश्वर श्रेष्ठ भन्छन्, ‘मैले त लेखा परीक्षणलगायत सबै काम गर्न एकजना वकिललाई विगत तीन वर्षदेखि लगातार लगाइरहेको छु । लेखा बनाउने कामदेखि कर चुक्ता ल्याउने कामसम्म उसैले गरिरहेको छ ।’ आफैं लेखा बनाउनु र आफैं लेखापरीक्षण गर्नु गैरकानुनी भएको थाहा नभएको बताउँदै उनी भन्छन्, ‘हामीलाई कसले के काम गर्न पाउँछ भन्ने मतलब हुँदैन । हामीलाई त काम भए पुग्यो ।’ आफूले चिनेका साथीको कम्पनीको काम पनि वकिलले नै गर्ने गरेको बताउँदै उनले कसले के काम गर्न पाउँछ भन्ने हेक्का राख्न आफूहरुलाई आवश्यक नरहेको समेत जिकिर गरे ।
सिए फेल भएका वा छोडेका पनि संग्लग्न
यसरी अरुको छाप दुरुपयोग गरेर काम गर्नेमा सिए फेल भएका वा सिए छोडेका पनि पर्छन् । ‘काम गर्न जानेको छ, पास भइएको छैन । पेट त पाल्नैपर्यो । अरुको छाप भाडामा लिएर भए पनि काम त गर्नैपर्यो नि,’ हाल आइक्यानअन्तर्गत सिएको अन्तिम तहमा अनुत्तीर्ण भई यसखाले काम गरिरहेका एक विद्यार्थीले राटोपाटीलाई सुनाए । आफ्नो नाम नबताउने सर्तमा उनी भन्छन्, ‘लेखा बनाउनेदेखि प्रतिवेदन बनाउनेसम्मको काम आफैंले गर्नुपर्छ । हेर्दा छाप अर्कैको हुन्छ, लेखा व्यवस्थापनले बनाएको भन्ने भान भइहाल्छ । गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि काम गर्नुपर्ने अवस्था छ ।’
सिएको अन्तिम तह अनुत्तीर्ण भएका अधिकांश विद्यार्थी यस्तो काममा लागेको उनले जिकिर गरे ।

विभिन्न बहानामा पैसा मागिन्छ 
काठमाडौं नयाँ बानेश्वरमा कन्सल्टेन्सी नै चलाएर बसेका सुमन दवाडी भन्छन्, ‘पहिले हाम्रो लेखापरीक्षण, भ्याटलगायत काम गरिदिने व्यक्ति नक्कली अडिटर भन्ने थाहा पाएपछि अर्कैलाई काम दिएको छु । पटकपटक विभिन्न बहानामा पैसा मागेकोभन्दा पनि सिए भनेर ढाँटेकोमा बढी रिस उठ्यो ।’
आफूले लेखा परीक्षण गरेबापत विभिन्न संघ–संस्थामा शुल्क बुझाउनुपर्ने भन्दै थप रकम मागेपछि शंका लागेको र पछि अर्कै विकल्प खोजेको उनको भनाइ छ । नक्कली लेखापरीक्षकबारे आफ्नो भोगाइ सुनाउँदै उनले भने, ‘पुस मसान्त सकिए पनि आफूले आफ्नो संस्थाको लेखापरीक्षण नगराएका कारण यसबारे जान्ने व्यक्ति खोज्दै जाँदा उनका एक साथीले ती गैरसिएलाई परिचय गराए । मसँगको भेटमा उनले आफूले सिए पढेको भन्दै त्यससम्बन्धी विभिन्न गफ दिए । उनले मलाई लेखा परीक्षण शुल्कबाहेक थुप्रै शीर्षकमा पैसा पनि मागे । मैले पनि सिए सम्झेर दिएँ । तर पछि लेखा परीक्षण रिपोर्टमा एक आरएको नाम हुने बताएपछि मैले उहाँलाई यसबारे सोध्दा आफ्नो फाइल संख्या सय भएको र फाइल संख्या नाघिसकेकाले अरुलाई सही गर्न लगाउने बताएपछि मैले यसबारे बुझेको हुँ । पछि मैले सिएहरुसँग सिओपी भन्ने नम्बर हुन्छ भन्ने थाहा पाएर उहाँलाई अप्रत्यक्ष रुपमा सोधें । ऊ अकमकिएपछि मैले अरु केरकार पनि गरें । अन्त्यमा थाहा भयो, ऊ नक्कली सिए र सक्कली दलाल रहेछ ।’
आइक्यानसँग कुनै नीति छैन 
लेखा व्यवसायको नियम गर्ने निकाय आइक्यानको नीतिअनुसार आइक्यानको सदस्यता नलिएका जो–कोहीले आफ्नो नामको अगाडि सिए लेख्न पाउँदैनन् । तर अरुलाई भन्दा सिए हुँ भन्न पाइँदैन भन्ने नियम हुनु असम्भव भएका कारण पनि यसखाले गैरसिएहरुले आफूलाई सिए भएको भन्दै अनावश्यक फाइदा लिइरहेका छन् । यता यसखाले गैरसिएहरुले ल्याएका कामहरुमा केही हजार लिएर सहीछाप लगाउने आफ्ना सदस्यलाई पनि आईक्यानले कारबाही गर्न सकेको छैन । आइक्यान सम्बद्ध एक सिए भन्छन्, ‘आइक्यानले यसबारे जनचेतना फैलाउन नसकेका कारण यस्तो भइरहेको छ ।’
राटोपाटी डटकममा सुरज प्याकुरेलको  रिपोर्ट 

प्रतिक्रिया दिनुहोस्