Skip to content

तपाई सिए कसरी बन्ने ? सिए केपी उपाध्यायको लेख

सिए बनेको भोलिपल्ट साथीले फोनमा सोध्यो,”चाडो भन् त पैसाको बोरा कहाँ लुकाको छस्?” ठट्यौली जवाफ मैले पनि फर्काए,”खै यार तीन दिन भैसक्यो गोजि छाम्या छाम्यै छु एक पैसो फेला पर्दैन” ।साथीले आफ्नो भाइ पनि सिए पढ्छु भन्छ सम्झाउन भन्दैथ्यो,मैले लेखेरै सम्झाउछु भनेको थिए जो यस प्रकार पाठकमाझ पेश छ।

काडाको प्रवाह नगरी फुलमात्रै देखेर गरिने सिएको यात्रा कष्टपुर्ण बनेको मैले देखेको छु,सुझबुझपुर्ण निर्णय गर्न यो लेख सहयोगी बनोस् भन्ने कामना लेखकको रहेको छ।गत साल “तपाईं सिए किन बन्ने?” शिर्षकका दुई भाग प्रकाशित भएका थिए,भर्खरै कक्षा १२को परिक्षा सकिएको छ,परिक्षा सकिएसंगै कति भाइबहिनीहरुले सिए बन्ने सपना देखेका होलान् यो लेख मुलतः कसरी बन्ने भन्नेमा केन्द्रित रहेको छ। आशा छ सिएको यात्रा तय गर्न चाहनेहरुलाई थोरै भएपनि अगाडिको बाटो देखाउन यो लेखले मद्दत गर्नेछ ।
कतिपयले सोच्नुभएको होला पहिले सिए कोसिस गरौं भएन भने अरु केही पढ्न पर्ला।यात्रा सुरु नहुदै सजिलो ब्याकप प्लान नबनाउनुहोस,भोलिको दिनमा कम्फर्ट जोनबाट तपाईं बाहिर निस्कन नसकी ब्याकप प्लानतिरै लाग्ने सम्भावना ज्यादा रहन्छ।म जन्मेकै सिए बन्न हो अथवा यो जुनिमा सिए बाहेक केही बन्दिन जस्ता सोचका साथ यात्रा तय गर्नेहरु ढुक्कसाथ सिए बन्नुहुनेछ,तपाईंलाई रोक्ने कोहि हुने छैन एउटा उखान छ नि बनेरै छोड्नेहरुलाइ इन्द्रेको बा चन्द्रेले रोक्न सक्दैन ।
कथमकदाचित समय लागे पनि सपनाले तपाईंलाई छोड्ने छैन,मुम्बईमा बाबु र छोरी संगै सिए बनेको उदाहरण छ।तसर्थ पहिले आफ्नो लक्षप्रति स्पष्ट रहनुहोस।स्पष्ट रहनाले तपाईंको यात्रा सहज रहनेछ अनि सफलताको सम्भावना पनि बढ्नेछ ।
सिए पढ्न धेरै प्रतिशात चाहिदैन । ५०-६० प्रतिशात प्राप्त गर्नेले पनि सिए पढ्न सक्नुहुनेछ।सिएको पढाईनै त्यस्तो क्षेत्र हो जहाँ  कुनै आरक्षण छैन अर्थात सतप्रतिशत खुल्ला प्रतिस्पर्धा।न त कुनै सरकारी छात्रवृत्ति छ,पेशागत पढाईमध्यको सस्तो पढाई नै सम्भवत सिएको पढाई हो,तसर्थ पैसाका बिटा र सोसफोर्स अनि भनसुनका छिटाले कुनै लछारपाटो नलाग्ने क्षेत्र यहि हो,बिशुद्ध तपाईंको मेहनत र पढाईले नै सन्जिवनी बुटिको रूपमा काम गर्ने छ।
नेपाली समाजमा एउटा भ्रम छ कि सिए अन्तिम तह पास नभए फेरि सुरुबाट पढ्नुपर्छ।सुरुबाट पढ्नुपर्छ भनेको पहिलो तहबाट पढ्नुपर्छ भनेको नभै जुन तह असफल भएको हो त्यही तहमात्रै पढ्नुपर्छ भनेको हो।त्यसैले अप्ठ्यारो हुन सक्ला,असम्भव नठान्नुहोस तपाईं जस्तै लक्ष बोक्नेहरु सिए बनेका छन्।
जम्मा तीन तहमा बाडिएको सिएको पढाइ तहगत रूपमा उत्तिकै रोचक र घोचक बन्दै जान्छ। पाइला पाइलामा गर्नुपर्ने मेहनतले तपाईंलाई बाहिरी दुनियाँसंग साक्षात्कार गराउनेछ।अन्य पेशाको तुलनामा धेरै लामो तीन बर्षको आर्टिकल्शिप तालिमले तपाईको ब्यबहारिक ज्ञानलाई मजबुत बनाउनेछ।
पहिलो तह प्रवेश परिक्षा सरह हुन्छ।दोस्रो तहका केही या सबै बिषय पास गरेर कम्प्युटर तालिमपछि सुरु हुने तीन बर्षे आर्टिकलसीपले तपाईंलाई सफल सिए बन्न ठूलो मद्धत गर्नेछ।तालिमको पछिल्लो खण्डमा अन्तिम तहको परिक्षा दिन पाइन्छ। अन्तिम तह पास भएसंगै जिएमसिएस नामको ब्यबस्थापन र सञ्चारसम्बन्धि तालिम पश्चात् तपाईं चाटर्ड एकान्टेन्ट बन्नुहुनेछ।
हास्य टेलिसिरियल मेरी बास्सैको एक पात्रले भनेझैं पर्यापर्यै पर्यापर्यै गर्नु त पर्दैन तर हरेक दिन निश्चित घण्टा नियमित हिसाबले भने जरुर पढ्नुपर्छ।पहिलो र दोस्रो तहमा दिनमा अधिकत्तम नौ-दस घण्टासम्म पढे प्रयाप्त हुने गर्छ भने अन्तिम तहको बेला अधिकतम एघार-बार घण्टा पढे फाइदा पुग्छ।
कुनै पनि नतिजा तपाईंको बौद्धिक क्षमता र मेहनतमा भर पर्छ।विलक्षण प्रतिभावान विद्यार्थीहरुले कम समयमै ठूलो सफलता हात पारेका छन्।तसर्थ सफलताकोलागि आफ्नो क्षमता अनुसार समय दिनैपर्ने हुन्छ।यति समय दिनुपर्ने कुनै बैज्ञानिक नियम त होइन तर सामान्यतया पास हुन चाहिने समय भने यसकै हाराहारीमा हुन्छ। यसो हुनुको कारण कोर्स धेरै भएर हो।यसै पनि जति लामो कोर्स उति बढी समय लाग्नु स्वभावभिकै हो ।
घन्टौ पढ्दा बोर हुन गइ उत्पादकत्त्व घट्न जान्छ।तसर्थ बेलाबेलामा मन परेको संगीत,फिल्म,कार्यक्रम हेर्नुहोस,सामाजिक संजाल/इमेल/ईन्टरनेटको कम प्रयोग गर्न निश्चित समय छुट्टाउनुहोस।पढ्दा बेलाबेलामा घरपरिवारसंग सम्पर्कमा रहनुहोस तपाईंको मनोबल उच्च राख्न मद्दत मिल्नेछ।सकारात्मक सोच भएका साथीहरुसंग मात्रै सङगत राख्नुहोस।सबै साथीले पढेर सकेपछिमात्रै छलफलमा भाग लिनुहोला नत्र गफ ज्यादा हुनगइ समय नाश हुनेगर्छ।एकदिनमा कति पढ्ने हो निश्चित गर्नुहोस् तार्गेट भन्दा न कम न ज्यादा पढ्नुहोस।
टार्गेट लम्ब्याउने आदत बन्द गर्नुहोला नत्र समय भित्र कोर्स सक्न गाह्रो पर्न सक्छ।पहिलो परिक्षा दिए लगत्तै परिक्षा बिग्रेको भनेर बाकी परिक्षा नदिने/नपढी दिने गलत आदतले गर्दा कतिले धोका खाएका छन्।परिक्षा दिए लगत्तै प्रश्नपत्र कसैसंग छलफल नगर्नुहोस्/सकभर लुकाउनुहोस् अनि भोलि आउने परिक्षाको तयारीमा लाग्नुहोस।प्रश्नपत्रको छलफल गर्ने उत्तम समय सबै परिक्षा सकिएपछि मात्र हो।यसरी उचित समय र प्रेसर ब्यवस्थापनले निकै फाइदा पुग्ने छ।
सिए बन्न लाग्ने सामान्य अबधि पाँच साल हो।नेपाली बोर्ड आइक्यानबाट एकैपटक सबै तह पास गर्नेलाई पाँच साल लाग्छ।२०७३ बाट सुरु भए २०७८सम्म सिए बन्नुहुनेछ।बिदेशी सिए बनेको खण्डमा नेपालमा आएर थप एक सालको इन्टर्नसीप र दुई बिषयको सदस्यता परीक्षा दिनुपर्ने हुन्छ।कुन बोर्डको सिए बन्ने भन्ने बिषयमा गहन रुपले बुझ्न एकपटक सिनियर,कोचिङ ईन्स्टिच्युट,ईन्टरनेट आदिमा बुझ्न सक्नुहुनेछ।नेपालमै बस्ने र यतै जम्ने सोच राख्नुभएको भए एकपटक ललितपुर सातदोबाटोमा रहेको नेपाली बोर्ड आइक्यान हेड अफिसमा परामर्शको लागि पक्कै जानुहोला ।
पढ्न लाग्ने खर्चको बारेमा भन्नुपर्दा बोर्डमा लाग्ने खर्च,कोचिङ खर्च,किताबकापी,घरभन्दा टाढा भएमा बस्ने,खाने आदिजस्ता खर्च लाग्ने गर्छ,बिस्तृतरुपमा बुझ्न उपर्लिखित उपाय अपनाउनुहोला।सो बाहेक आफ्नो खर्च गर्ने बानी र आवश्यकता अनुरुप खर्च बढ्दै जाने हो।सिए बनिसकेपछी के कस्ता अबसर पाइन्छन् भन्ने विषयमा अन्य लेखहरु पढ्नुहोला,बुझ्नुहोला ।
साथसाथै आर्थिक समाचारहरु पत्रपत्रीका,टिभि बाट पढ्ने/हेर्ने गर्नुहोला।गोष्ठी,छलफलमा सक्रियतापुर्वक भाग लिने गर्नुहोला।किताबको ज्ञान संगै आफ्नो कार्य क्षेत्रसगै संबंधित बाहिरको ज्ञान पनि आफै लिने आदतले भविस्यमा पनि फाइदा पुर्याउछ।यो पढिरहदा पाठकलाई समयको अभाव महसुस हुन सक्ला तर यो नबिर्सौ यो धर्तीमा सबैसंग चौबिस घण्टा नै छ,समय ब्यबस्थापन तपाईंको जिम्मेवारी हो ।
अर्को महत्वपूर्ण विषय सिए पढ्दापढ्दै  बिश्वबिद्यालयका कोर्सहरु आफ्नो समय ब्यबस्थापन क्षमता अनुसार पढ्न सकिन्छ।सिए र मास्टर्स डिग्री संगै सक्ने पनि छन्।त्रिभुवन बिश्वविद्यालयले सिए र प्लस टु लाई स्नातक अनि सिए र स्नातकलाई स्नातकोत्तर सरहको मान्यता दिएको छ भन्ने जानकारी प्राप्त छ ।तपाईंले आफ्नो समय अनुकुल पढाई अगाडी बढाउनु सक्नुहुनेछ ।
यसरी माथी लेखिएका जानकारीले सिए कसरी बन्ने भन्ने बिषयमा मोटामोटी आइडिया दिएको ठान्द्छु।भर्खर परिक्षा सकिएको छ,केही समय दिमागलाई आराम दिनुहोस।अनि अबका केही हप्ताहरु गहनरुपमा बुझ्नतिर लगाउनुहोस,घरपरिवारमा छलफल,सिनियर/कोचिङ सेन्टर/आइक्यान परामर्श केन्द्रमा गहन परामर्श गर्नुहोस्, किनकी हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु उचित हुदैन ।
एउटा कुरा सत्य के हो भने सिएको पढाईमा प्रवेशद्वार ठूलो अनि चौडा छ तर निकासद्वार सानो र साघुरो।त्यही साघुरोद्वारबाट बाहिर निस्कने सपना देख्नुहोस,तपाईंलाई  स्वागत गर्न परिवार,समाज,देश अझ दुनियाँ पर्खिरहेको हुनेछ।त्यसपछि जीवनको अर्को अध्याय शुरु हुनेछ जस बारे आगामी लेखमा बयान गरौंला।जेठ १ र २ गते आइक्यान सिए करियर एक्स्पो हुदैछ बुझ्न पक्कै जानुहोला।सहि निर्णय गर्नुहोस् सफल करियर बनाउनुहोस,प्लस टु पछि सिए पढ्न चाहने भाइबहिनीहरुलाई समग्र सिए परिवारको तर्फबाट यस क्षेत्रमा हार्दिक स्वागत छ।
सिए केपी उपाध्याय

प्रतिक्रिया दिनुहोस्