Skip to content

राजनीतिमा पोलिटिक्स: सिए हरि कुमार सिलवालको रोचक अनुभव



म बिदेश जांदा लामो समय उतै बसेका पहिला नेपालमा हल्का राजनीतिमा हिंडेका परदेशी नेपालीसंग भेट र भलाकुसारी भयो।
परदेशी: तपाईं राजनीतिमा किन नलाग्या?
म: पहिले धेरै न लागेको हो, जेल नेल पनि खाको
प: किन छोड्या त?
म: अर्काको भाग्यमा टिक्नु पर्ने। उही मान्छेले कहिले फूलको माला लगाइदिन्छ कहिले जुत्ताको माला लगाइदिन्छ। ममा राजनीति गर्न चाहिने मुख्य गुण पनि छैन के
प: कस्तो गुण चाहिन्छ र?
म: गलत लाई ठीक र ठीकलाई गलत भन्न सक्ने, काम सकिए पछि आफ्नालाई लात हान्न सक्ने, गलत निर्देशन पनि मान्ने
प: पार्टीहरूमा विद्वान मान्छेहरू पनि छन् कसरी टिक्याछन् त?
म: कोही परिबर्तन होला कि भनेर कुर्याछन्, कोही कहाँ जानु र खै भनेर त कोही लोभले नि बस्याछन्
प: एउटा पार्टी त्यस्तो भए अर्को राम्रो बिचार र सिद्धान्त भएको पार्टीमा लागे हुन्न र?
म: सबै उस्तै हुन्। सुरूमा खोल्दा मात्र बिचार हुन्छ। पछि त जे जे भन्दा धेरै मान्छे तान्न सकिन्छ त्यही भन्ने हो
प: कत्ति मान्छे पार्टी फेरिरहन्छन् नि त?
म: त्यही त भनेको मैले। बिचार हेरेर लाग्या भए के एक रात मै टाउकोमा त्यत्रो उथलपुथल के हुन्छ होला र मान्छेको बिचारै फेरिने? यी सब cocacola र pepsicola जस्ता मात्रै हुन्
प: पार्टीमा जनता किन लाग्छन् र झुम्मिन्छन् त?
म: गरीबीले गर्दा। धन, बुद्धि र बल मा कमजोर लागे पछि मान्छेले आफूलाई संरक्षण दिने बिधाता खोज्छन्। बाठाहरू पार्टी खोल्छन् र भन्छन् तिम्रा हरेक दु:खको एउटै समाधान हाम्रै पार्टी हो, तिम्ले यहाँ सब पाउंछौ, तिम्रो बिधाता हामी हौं भन्छन्। उ मक्ख पर्छ सुरक्षित ठान्छ, अन्धो भएर हिंड्छ। पछि केही नभए पछि झल्यांस्स हुन्छ। ढीलो भइसकेको हुन्छ। पछुताउंछ र थचक्क बस्छ। त्यो बाठाको झुणडले अर्को गरीब मान्छे खोज्छ वा अर्कै बाठाको झुण्ड आएर भन्छ धत् त्यो पार्टीले कहाँ गर्न सक्छ तपाईंको समस्याको समाधान? ती त फटाहा हुन्, हाम्रो पार्टी पो हो त राम्रो। बिचरो ग़रीब फेरि लाग्छ नयाँँ पार्टीमा। ३-४ वटा पार्टी फेर्दा आफू नि थोत्रो भैसक्छ। अब खुल्ने नयां पार्टीले उसलाई खोज्दैन नयां गरीब खोज्छ जोसिलो र बलियो। गरीब सकिइन्छ ग़रीबी रहिरहन्छ पार्टी चलिरहन्छ
प: नयां पार्टी खुलेको खुल्यै छन् त?
म: ग़रीबी रहे सम्म यो क्रम जारी रहन्छ
प: गरीब त बिधाता चाहिएर पार्टीमा लागे धनी चाहीं किन लाग्या होलान्?
म: अझ धनी हुन
प: अनि यी कलिला युबाहरू के हेरेर बुझेर फ्याट्ट एउटा पार्टीमा लाग्छन् भन्या?
म: यो प्रेममा पर्या जस्तै हो। आँखा जुध्यो मायां बस्यो
प: पार्टीहरूले ग़रीबी नहटाउने हो भने के हामी नेपाली संधै गरीबै रहने त?
म: होइन। हामी सम्पन्न बन्न सक्छौं। तर सरकार, पार्टी, नेताको सहयोग र कार्यक्रमबाट तत्काल सम्भव छैन। हरेक नागरिकले स्वबिकासमा लाग्नु पर्छ। सबै जनाले अरूलाई र देशलाई नबिगारी आफु अगाडी बढ्नुपर्छ। स्वबिकास नै देश बिकास हो।
प: यो राजनीति साह्रै फोहोरी खेल भा चाहीं किन होला?
म: किनभने यहांको राजनीतिमा पोलिटिक्स घुस्या छ के!




(अग्रजको अनुभवबाट  केहि सिकौं भन्ने अभिप्रायका साथ् सिए सरोकारले सिए हरिकुमार सिलवालको अनुभवलाई निरन्तर प्रकाशित गरिरहेको छ।) 

प्रतिक्रिया दिनुहोस्