‘बैंकको जागिर पो जागिर त ! राम्रो तलब, राम्रा सुविधा अनि सामाजिक प्रतिष्ठा पनि । जे छ बैंककै जागिरमा छ ।’ भन्ने सोच्नेहरू धेरै छन् । तर धेरैलाई थाहा नहुन सक्छ कतिपय बैंकले निकाल्ने भ्याकेन्सी औपचारिकताका लागि मात्र हुने गरेको तथ्य फेला परेको छ । कतिपय अवस्थामा यस्ता भ्याकेन्सी ‘सिभि’ बटुल्ने बाटो मात्र हुने गरेका छन् भने कतिपय अवस्थामा यस्ता भ्याकेन्सीहरु आफ्ना मान्छे भर्ती गर्ने बाटो मात्र हुने गरेको छ ।
काठमाडौंमा रहेका विभिन्न वाणिज्य बैंकले विभिन्न समयमा सिए चाहिएको भन्दै सूचना निकाल्ने गर्छन् । तर तीमध्ये अधिकांश सूचना सूचनाका लागि मात्र हुन्छन् । आफ्ना चिनेका मान्छेहरू राख्ने ‘सेटिङ’ गरेर यस्ता सूचनाहरू औपचारिकताका लागि मात्र निकालिने गरिएको बैंककै कर्मचारी स्विर्काछन् ।
आफ्नो नाम नबताउने सर्तमा काठमाडौं, थापाथलीमा प्रधान कार्यालय रहेको एनआइसी बैंकका एक कर्मचारीले भने ‘हाम्रो बैंकले पनि सिए चाहिएको भन्दै विभिन्न पत्रपत्रिकामा थुप्रै पटक सूचना निकालेको थियो । तर, सूचनामा भनिएअनुसारका कर्मचारी राखिएन ।’ उनका अनुसार एनआईसी एसिया मात्र होइन, अन्य थुप्रै बैंकहरूले यस्तो गर्ने गरेका छन् ।
बैंकले सिएको आवश्यकता भन्दै थुप्रै पटक भ्याकेन्सी निकाली सकेको छ । तर बैंकका एक कर्मचारीले भने बैंकले खोलेको भ्याकेन्सी अनुसार सिएहरु नराखिएको दावी गरेका छन् । ‘एक पटक सिएहरु राखियो । त्यसपछि पटक पटक सिएको आवश्यकता भन्दै भ्याकेन्सी खोलियो तर, भ्याकेन्सी अनुसारको सिए राखिएन।
यसबारे बैंकका एचआर विभागका कर्मचारी बैंकले खोलेको भ्याकेन्सी अनुसार छनोट प्रक्रिया अगाडी बढ्ने गरेको दावी गर्छन् । ‘समय लागेको होला, तर सिए राखिने गरेको छ । ‘ यता बैंकमा भ्याकेन्सीको नौटंकीमात्र गरिएको थाहा भएपछी एनआइसी एसियाले बैंकको भ्याकेन्सी मागेको बारे बैंककै कर्मचारी हाँसोको विषय बनाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्