बैंकहरुले सिए माग्ने तर नराख्ने, वा आफ्ना मान्छेहरुलाई मात्र जागिर खुवाउने गरेको तथ्य सार्वजनिक भएसँगै यससँग सम्बन्धित अन्य तथ्य पनि सार्वजनिक हुँदै आएका छन् । सिभि बटुलेजस्तो गर्ने तर आफ्नैलाई जागिर खुवाउने परिपाटीले योग्य सिएहरु मारमा पर्नुले पनि बैंकिङ करियर सिएको लागि उचित होला त भन्ने प्रश्नमा ठूलो प्रश्नचिन्ह लागेको छ । यसै बीच बैंकहरु मर्ज हुँदा अनुभवि सिएहरुलाई समेत गाह्रो परेको, रोजगार कम्पनीको राजनीतिले गाह्रो पारेको र बार्गेनिङले समेत अफ्ट्यारो पारेको तथ्य सार्वजनिक भएको छ ।
मर्जरले अनुभवीलाई समेत घाटा
पछिल्लो समय नेपाल राष्ट्र बैंकको नीतिका कारण धेरैजसो बैंक मर्जरमा गएका छन् । दुई वा सो भन्दा बढी बैंक मर्ज हुँदा सबै बैंकका सबै कर्मचारी रहन्छन् भन्ने हुँदैन । त्यसैले पनि अनुभव भएका तर मर्जरको समयमा जागिरका लागि ‘थप सिफारिस’ नपुगेकाहरू बिचल्लीमा पर्ने गरेका छन् । मर्जरको समयमा कुन कर्मचारीलाई राख्ने वा कसलाई नराख्ने भन्ने विषयमा निकै ठूलो राजनीति हुने गरेकाले पनि अनुभवीले समेत घाटा हुने गरेको सिएहरु बताउँछन् ।
रोजगार कम्पनीको अर्को राजनीति
धेरैजसो बैंकले कर्मचारी पदपूर्तिका लागि अन्य रोजगार प्रदायक कम्पनीको ‘आउटसोर्स’ गर्ने गर्छन् । तर, तीनै कम्पनीका माथिल्लो तहका कर्मचारी समेत आफ्ना मान्छेलाई सिफारिस गर्न पछाडि नपर्ने हुनाले पनि सोझो–सीधा तरिकाले बैंकमा जागिर खान निकै नै गाह्रो छ । कतिपय अवस्थामा कर्मचारीले पाउने तलबमा रोजगारदाता कम्पनीको ‘कमिसन’ को कुरा नमिल्दा समेत सक्षम मानिसलाई पनि बैंकमा जागिर खान पछिल्लो समय निकै गाह्रो पर्ने गरेको छ ।
बार्गेनिङले झनै गाह्रो
बैंकमा जागिर खान खोज्नेको संख्या यसरी वृद्धि भएको छ कि कतिपय अवस्थामा सिएहरु तल्लो तहमा पनि जागिर खाना राजी भइरहेका छन् । कतिपयले बैंकमा जागिर खान वा बैंकमा आफ्नो करिअर सुरु गर्नकै लागि निकै कम तलबमा काम गर्न राजी हुने कारणले पनि बैंकको जागिर निकै कठिन हुने गरेको छ । बैंकमा अन्तर्वार्ताकै क्रममा आफूले अपेक्षा गरेको तलब सुविधा भन्न लगाउने र कम शुल्कमै प्रतिस्पर्धा हुने गरेकाले पनि बैंकमा जागिर खान अझ गाह्रो भएको जानकार बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्