Skip to content

एक्यानको ३३औँ साधारणसभा भव्य रुपमा सम्पन्न, तर नेतृत्वको लापरवाहीका कारण खड्किए यी ५ कुरा !

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३३औं साधारणसभा राष्ट्रिय सभा गृहमा भव्य रुपमा सम्पन्न भएको छ । एक्यानको इतिहासमै पहिलोपति त्यति धेरै सिएहरु एक ठाउँमा जम्मा भएर साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभामा १००० बढी सिएहरुको उपस्थिति भएपछि सभामा पुगेका सिएहरु नै छक्क परेका थिए । केहि बर्ष अघिसम्म खोजेर सिएहरु ल्याएर नेतृत्वमा राख्नुपर्ने बाध्यता भएको एक्यानमा सिएहरुको यस्तो ‘क्रेज’ लाई निकै सकारात्मक रुपमा हेरिएको छ ।
तर खड्किए ५ कुरा !
हुन त अघिल्लो नेतृत्वको कार्यकाल सकिएको छ । उसका कमजोरी खोतल्नुको कुनै औचित्य छैन भन्ने विचारपनि आउन सक्छ । तर अवको नेतृत्वलाई पाठ होस् भन्ने हेतुले हामीले एक्यानको साधारणसभामा खड्किएका ५ कुरा प्रस्तुत गर्दैछौं ।
१. भित्र एक्यानको निर्वाचन ठुलै माहोलका साथ अगाडी बढेको थियो । तर गेटमा संघको ब्यानर चुँडीएर भुइँमा लतारिएको कसैले ख्याल गरेनन् । यसमा आयोजकको व्यवस्थापन कमजोर देखियो । कसको चुनाव ? सिएको । अनि पारा यस्तो । टुडीखेलमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रचार गर्नका लागि आइपुगेका हजारौं नेपाली त्यहि बाटो हिंडे । उनीहरुले के सोचे होलान् ? यो त सफा र विद्वानमान्छे फाटेको स्याण्डो लगाएर सडकमा हिंडेको जस्तो भएन र ?
२. आयोजक साधारणसभा आयोजना गर्ने, मान्छेहरुको व्यवस्थापन गर्ने, लगायतका कुरामा कमजोर देखियो । चुनावको माहोलमा मान्छेले गफ कम सुन्छन् भन्ने हेक्का आयोजकले राखेन । हलभित्र अनुसाशन देखिएन । यतिसम्मकी अतिथिले मुखै फोरेर सिएहरुको अनुशासनमाथि प्रश्न उठाए । दर्शकदिर्घाको कुरै छाडौं।  स्टेजमा नै कहिले एक्यानका पदाधिकारीहरुको आवत जावत अनुसाशनबाहिर देखिएको थियो । भीडलाई व्यवस्थापन गर्न आयोजकले सकेन । व्यवस्थापनको पाटो खड्कीरह्यो ।  
३. १००० बढी मान्छेलाई खुवाउनु कम्ति चुनौतीपूर्ण थिएन । तर एक्यानले यति गैरजिम्मेवार र ‘किचकिचे’ समूहलाई क्याटरिनको जिम्मा दिएको रहेछ कि क्याटरिनका कर्मचारीहरु खुलेरै सिएहरुसंग सानोसानो कुरामा बाझ्ने, मनपरी बोल्ने, गाली गर्ने गरिरहेका थिए । सानो कुरामा अनावश्यक विवाद गरिरहेका थिए । आयोजकले खर्च कम गर्ने बहानामा यसरी अनप्रोफेसनल समूहलाई क्याटरिनको जिम्मा दिनाले ‘हामी सिएहरुलाई त गल्ती नै नगरेको विषयमा पनि नचाहिने कुरामा एउटा भाँडा उठाउनेले समेत गाली गर्यो’ भन्ने चर्चा सुनियो ।  
४. धेरै मान्छे आएर भव्य भएको कार्यक्रम अरु कुराले भव्य हुन सकेन । एक्यानको नेतृत्वको भेदभावको चरम रुप देखाएको प्रष्ट भयो । अन्य विभिन्न मिडियाबाट आएका पत्रकारहरु अक्क न बक्क हुनुपर्यो । कार्यक्रमबारे न कुनै प्रेस रिलिज दिइयो, न केहि । कार्यक्रममा आउने, र कार्यक्रमको फोटो खिचेर रिलिजका भरमा समाचार बनाउने पत्रकारहरु अक्क न बक्क परे । पत्रकारहरुले त कार्यक्रम केहि पनि नबुझेको प्रतिक्रिया दिए । मिडिया मेनेजमेन्टमा पनि नेतृत्व फेल खायो ।   
५. सुरक्षाको विषयलाई लिएर एक्यानले चाल्नुपर्ने कदम नचालेको देखियो । सानो कुरामा विवाद भएको भएपनि त्यहाँ ठुलै दुर्घटना हुन सक्थ्यो । तर सुरक्षाको व्यवस्था निकै फितलो देखियो । 
६.  महिला सिएहरुलाई भेदभाव नै गरियो । ६ बजे सुरु हुने भनिएको निर्वाचन ७ बज्दा बल्ल सुरु भयो । कतिपय महिला सिएहरुलाई घर फर्कन अफ्ट्यारो पर्यो । कतिपय महिला सिएहरुले त अध्यक्ष हरि सिलवाललाई गाली गर्दै फर्के ।        
हुन त यति धेरै सिएहरुको भीड र आफ्नो भाषणमै ध्यान दिनुपर्ने भएकाले पनि एक्यान नेतृत्वले यी कुरामा ख्याल गर्न सकेन होला । तत्कालीन उपाध्यक्ष अध्यक्षका प्रत्यासी भएकाले भोट माग्नमै व्यस्त हुनुपर्यो । कोषाध्यक्षको पनि त्यहि हालत थियो । महासचिव सन्तोष लम्साल आफैं अलमलमा थिए भने दीपक पाण्डे निर्विरोध भएको कुराले उनलाई टोकसेको पनि हुन सक्छ । उनी ‘फ्रेस’ देखिंदैनथे । हुन त यत्रो कार्यक्रममा प्रेसर हुनु सामान्य पनि हो । यसो त भाषण नै बढी गरेर चरम विवादमा मुछिएर, आइक्यानमा बाटो नै बन्द गराएर अध्यक्ष पदको कार्यकाल सक्काएका हरि सिलवालबाट खास ठुलो अपेक्षा गर्नु नै गलत हो भन्नेहरु पनि छन् ।       

प्रतिक्रिया दिनुहोस्