Skip to content

अतिरन्जित हेडलाइनको पछि लागेर भ्रममा नपरौं ! एसीसीए र टियुको समकक्षताका बारेमा यी तथ्यहरु बुझौं !

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- आफ्ना छोरालाई एसीसीए पढाएका एक अभिभावकले टियुले समकक्षता नदिएको भन्दै विभिन्न ठाउँमा हार-गुहार गरे । उनको हारगुहार स्वाभाविक पनि थियो । किनकि समकक्षता पाइने भएर नै उनले आफ्ना छोरालाई एसीसीए पढाएका रहेछन् । त्यतिबेला समकक्षता दिइन्थ्यो पनि । 
तर विना कारण टियुले समकक्षता दिन रोक्यो । त्यसपछि आत्तिएका ती अभिभावकले सिए सरोकारलाई पनि यस विषयमा जानकारी गराएका थिए । एसीसीए नेपालका प्रतिनिधि र पाठ्यक्रम विकास केन्द्रबीच यस विषयमा छलफल भइरहेकाले हामी निर्णयको पर्खाइमा थियौं । ती अभिभावकको छटपटी रोकिएनछ सायद उनी एक टेलिभिजन कार्यक्रममा यहि गुनासो लिएर गए । अभिभावकको माग जायज थियो र टेलिभिजनले कार्यक्रम बनायो ।
कार्यक्रममा एसीसीए पढाउने केहि संस्थाहरुले गलत काउन्सिलिङ गर्ने गरेको तथ्य बतायो । जुन हामीले पनि यसअघि देखि भन्दै आएका थियौं । केहि कलेजहरुमा त्यो समस्या छ नै । टेलिभिजनका पत्रकारले अभिभावक र पाठ्यक्रम विकास केन्द्रका निर्देशकलाइ सँगै राखेर कुराकानी गराए । यो पनि निकै सकारात्मक कुरा हो । तर गल्ती उक्त टेलिभिजन कार्यक्रम युट्युबमा राख्ने रामसर मिडियाले गर्यो । कार्यक्रमको कन्टेन्ट एकातिर छ, उसले अतिरन्जित हेडलाइन बनायो । नबनाओस् पनि किन ? जसरी पनि दर्शकले हेर्नुपर्यो र उसलाई डलर आउनुपर्यो । उसले त्यतिका लागि न टेलिभिजनसँग युट्युब राइटको सम्झौता गरेको हो नि ! तर यसले अभिभावक, विद्यार्थी वा एसीसीए सदस्यहरुलाई भ्रममा पार्यो कि भन्ने चिन्ता हो ।  

समकक्षताबारे तथ्य :
अभिभावक, र विद्यार्थीले के बुझ्नुपर्ने आवश्यक छ भने अहिले एसीसीए सकेका र प्लस टु गरेकाहरुले स्नातकको समकक्षता पाउँदैनन् । टियुले पहिला यस्तो समकक्षता दिन्थ्यो । अहिले दिंदैन । किन नदिएको भन्ने कारण पनि टियुले भनेको छैन । बाहिर आएको चर्चाचाहिं टियुका केहि पदाधिकारीले यस विषयमा एसीसीएका केहि विद्यार्थीहरुसँग पैसाको बार्गेनिङ गरेका थिए । केहि पदाधिकारीहरुले एसीसीएलाइ टेकेर लन्डन घुम्न जाने इक्षा पनि राखेका थिए । त्यो पैसा नपाएपछि टियुका ठालुहरुले समकक्षता दिन नै रोकिदिए । एसीसीए र प्लस टु उतिर्ण गरेकाहरुले समकक्षता भोलिका दिनमा पाउँदैनन् भन्ने पनि होइन, पाउँछन् भन्ने पनि होइन । टियुमा यो विचाराधीन कुरा हो । पहिला दिइन्थ्यो भने अहिले किन रोकियो भन्ने एसीसीए पढ्ने र सदस्य भएकाहरुको प्रश्न हो ।
कलेज संचालकहरुले बुझ्नुपर्ने कुरा !
उक्त टेलिभिजन कार्यक्रमले एउटा कुरा छर्लंग बनाएको छ, कलेजमा काउन्सिलिङ गर्न बसेकाहरुले गलत बोले । हो, विद्यार्थी भर्ना गर्ने नाममा केहिले अनावश्यक गफ दिने गेरको तथ्य पनि साँचो हो । ब्रिटिस कलेजले यस्तो गफ अलि बढी नै दिन्छ भन्ने कुरा सिए सरोकारमा पनि पटक पटक कम्प्लेन आएको हो । यस विषयमा हामीले कलेजका केहि प्रतिनिधिहरुलाई पनि भनेकै हौँ । एसीसीए पढाउने अर्को कलेज एनसीएमा काउन्सिलिङ गर्न बसेकाहरु त यतिसम्म आंटीला छन् कि तिनीहरुले काम गरेको पारिश्रमिक माग्ने र समाचार बनाउने पत्रकारलाई त थर्काउन् छोड्दैनन् भने एक-दुईवटा गफ बढी नदेलान् भनेर कसरी भन्नु ? तर ठिकलाइ ठिक भन्नु पर्छ, बेठिकलाइ बेठिक । काउन्सिलिङचाहिं गलत गर्नु हुँदै हुँदैन ।
अर्को कुरा कुनै टेलिभिजनले एसीसीएका बारेमा बुझ्न कलेज संचालकहरुलाई बोलायो भन्दैमा टाई सुटमा चट्ट परेर जानुभन्दा अघि विषय के हो र उक्त विषयमा बोल्न आफुले ठिक कि एसीसीएका नेपाल प्रमुखले ठिक हो भन्ने कुरा उनीहरुले बुझ्नुपर्ने हो । मिडियामा बोल्नु चानचुने विषय होइन । त्यसलाई हेरेर पब्लिकले आफ्नो धारणा बनाउँछन् । बहसकै क्रममा कतिपय ठाउँमा कलेज संचालकहरुकै कुरा बाझिएका छन् । ‘लिटिल नलेज इज डेन्जरस्’ भनेको यहि हो ।
अन्त्यमा,
अभिभावक र विद्यार्थीले चाहिं स्पष्ट बुझ्नुपर्छ, एसीसीए अन्तराष्ट्रिय मान्यता प्राप्त कोर्ष हो । यो अध्ययन गर्दा फाइदा नै हुन्छ । रोजगारीको अवसर उस्तै राम्रो छ । कुनै युट्युब च्यानलको हेडलाइन हेरेर धारणा बनाउनु सहि नहुन सक्छ । 

प्रतिक्रिया दिनुहोस्