
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ- अहिले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आउँदो जेठ २५ गते हुन लागेको चुनावको सरगर्मी बढेको छ । १० पदका लागि हुन लागेको चुनावमा १५ उम्मेदवारहरु छन् । साम, नाम, दण्ड, भेद सबै प्रयोग गरेर चुनावका लागि सबै उम्मेदवारहरु लागि परेका छन् । तर आइक्यान र समग्र लेखा व्यवसायको हितमा काम गर्नका लागि पार्षद् बन्न चुनावमा उठेकाहरुमध्ये केहि उम्मेदवारहरु आफैं काइक्यानले जारी गरेको कोड अफ इथिक्स बाहिर छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर हो, आइक्यानको काउन्सिल चुनावमा उठेका केहि उम्मेदवारहरु गैरकानुनी र कोड अफ इथिक्स बाहिर लागेको तथ्य सिए सरोकारले फेला पारेको छ । हामी एक- एक गरी ती उम्मेदवारका कर्तुत सार्वजनिक गर्दैछौं ।
सुजन काफ्लेकै फर्मले गर्छ कोड अफ इथिक्सविपरित काम !
आइक्यानले जारी गरेको कोड अफ इथिक्सअनुसार कुनै पनि सिए फर्मले बिज्ञापन गर्न पाउँदैन । अझ वेव साइट बनाउने कम्पनीले गरेजसरी यी-यी हाम्रा क्लाइन्ट हुन् भनेर वेव साइटमा राख्नु त कोड अफ इथिक्सकै धज्जी उडाउने काम हो । तर सुजन काफ्लेले यहि काम गरेका छन् । उनले आफ्नो वेव साइटमा आफ्ना क्लाइन्टहरु यी-यी छन् भनेर खुलेआम रुपमै राखेका छन् । अझ अचम्मको कुरा त के छ भने उनले अस्तित्वमै नरहेका कम्पनीहरुको नाम र लोगो प्रयोग गरेर आफ्नो क्लाइन्ट भएको दावी गरेका छन् । यतिमात्र होइन उनले हाल आफ्ना क्लाइन्ट नभएका केहि कम्पनीहरुलाई समेत आफ्ना क्लाइन्ट भनेर झुटको खेती गरेका छन् । काफ्लेले आफ्नो साइटमा राखेका कतिपय कम्पनीहरु अहिले उनका क्लाइन्ट नै होइनन् । तर कोड अफ इथिक्स विपरित काम गरेर उनले आइक्यानको नियमको धज्जी उदाएका छन् ।
के भन्छन् सुजन काफ्ले ?
हामीले यस विषयमा सुजन काफ्ले एण्ड एसोसीएट्स् का मेनेजिङ पार्टनर सुजन काफ्लेलाइ सम्पर्क गरेका थियौं । ‘त्यो त अरुले पनि गरेका छन् । हामीले पनि हालेका हौँ ।’ सिए सरोकार डटकमसँग कुराकानी गर्दै काफ्लेले भने, ‘कुन कुनमा काम गरियो भन्ने राखेको हो । त्यो प्रोफाइल अन्तर्गत नै पर्छ होला ।’ उनले आफुलाई कोड अफ इथिक्समा यस विषयमा के छ भन्ने कुरा थाहा नभएको स्पष्ट पारे । ‘म आइक्यानमा सोधौंला । नमिल्ने भए हटाइदिउँला नि !’ सिए सरोकारसँग काफ्लेले भने, ‘त्यो वेव साइटमा पहिला राखेको हो, अहिले पनि होला । म आइक्यानमा बुझ्छु नि के रहेछ भनेर । तर त्यो बिज्ञापन होइन, प्रोफाइल भनेर राखेको हो ।’ अनि तपाईंले त केहि अस्तित्वमै नरहेका कम्पनीहरु पनि हाम्रा क्लाइन्ट भनेर राख्नुभएको रहेछ, त्यो त गलत भएन र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यो पहिला थियो, अहिले छैन । तर अहिलेसम्मका क्लाइन्ट भनेर राखेको हो ।’
‘यो ‘सोलीसीटिङ’ भयो’, क्लाइन्टलाई प्रभाव पार्ने काम गर्नु हुँदैन : आइक्यान अध्यक्ष थापा
यता आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले यसरी कुन-कुन कलाईन्टको आफु काम गर्छु भन्ने देखाउनु कुनै न कुनै रुपमा आफ्ना अन्य क्लाइन्टहरुलाई प्रभावमा पार्न काम भएको र त्यस्तो गर्न नहुने बताएका छन् । सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘नेपालमा सिए फर्महरुले बिज्ञापन गर्न पाउँदैनन् । बिज्ञापन गर्न नपाएपछि त्यहि इन्टेन्सन राखेर कसैले आफ्ना क्लाइन्टको डिटेल राखेर प्रचार गर्छ भने त्यो गलत हो । अझ नियममा स्पष्ट लेखिएको हुनुपर्छ । म यो हेर्छु र आइक्यानमा यसबारेमा कुरा पनि राख्छु । ‘तर यो काम कोड अफ इथिक्स विपरित भएकोचाहिं हो नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘एक्ज्याक्टली हो, म पनि यस विषयमा कुरा राख्छु ।’
(नोट : हाम्रो कुनै उम्मेदवारप्रति पूर्वाग्रह वा सदासयता छैन । तर आइक्यानको नेतृत्व नै लिन्छु भन्ने उम्मेदवारले नै कोड अफ इथिक्स नमान्नु दुखको कुरा हो भन्ने कुरामा हामी प्रष्ट छौं । अन्य उम्मेदवारका यस्ता कर्तुतहरु पनि हामी एक एक गरी प्रस्तुत गर्दैछौं । – सम्पादक)
प्रतिक्रिया दिनुहोस्