Skip to content

आइक्यानसँग ‘बिजनेश’ लिएको नबिल बैंकले नै यसरी हेप्यो सिएलाई, भन्यो, ‘एमटिका लागि सिए चाहियो’ !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका निवर्तमान अध्यक्ष प्रकाश जंग थापाको पहलमा अनलाइन पेमेन्ट सिष्टमको कार्वनयन गराउन सहकार्य भएको नबिल बैंकले सिएहरुलाई हेपेर भ्याकेन्सी नोटिस प्रकाशित गरेको छ । बैंकले मेनेजमेन्ट ट्रेनी पदका लागि सिएलाइ मागेर आफ्नो हेपाहा प्रवृतिलाई छताछुल्ल बनाएको हो । यसअघि युनाइटेड फाइनान्स र ग्लोबल आइएमइ बैंकले मेनेजमेन्ट ट्रेनीमा सिए माग्दा माफी माग्दै भ्याकेन्सी सच्याएका थिए । अझ बैंकले घुमाउरो पारामा आइक्यानकै सिए चाहिन्छ जसरी भ्याकेन्सी प्रकाशन गरेको छ ।
काम पनि दिने, हेपाइ पनि सहने ?
अझ दु:खलाग्दो कुरा त के हो भने नबिल बैंकलाई अनलाइन पेमेन्टको काम दिन आइक्यानका कार्यकारी निर्देशक सन्जय सिन्हा आफैं लागेको चर्चा बाहिरिएको थियो । तर उनी विदेश गएका बेला नबिल बैंकको आएको यस्तो भ्याकेन्सीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आफैं बैंकलाइ काम पनि दिने अनि बैंकको यस्तो हेपाई पनि सहने आइक्यानको ताल पनि बुझिनसक्नु भएको भन्दै विभिन्न सिएहरुले आक्रोश पोखिरहेका छन् ।  आइक्यानमा रिजल्ट प्रकाशनजस्तो महत्वपूर्ण काम छोडेर आइक्यानका कार्यकारी निर्देशक सहित विनोद न्यौपाने पनि विदेश भ्रमणमा रहेका बेला आएको यस्तो भ्याकेन्सीले कतै यो काम उनीहरुकै मिलेमतोमा त भएन ? भन्ने आशंका एकातर्फ उब्जिएको छ भने नबिल बैंकको यो भ्याकेन्सीको चौतर्फी विरोध हुँदा पनि आइक्यानका तर्फबाट कोहि केहि पनि नबोल्नुले प्रायोजित रुपमै आइक्यानको उपल्लो तहका कर्मचारी यस्ता गलत काममा पो लागेका छन् कि भन्ने चर्चा पनि चलेको छ ।
उपल्लो तहका कर्मचारीकै मिलेमतोको शंका 
यता यस विषयमा नबिल बैंकपनि मौन छ । यसो त नबिल बैंकका सीइओ अनिल शाह पनि काठमाडौँमा नभएका बेला यो भ्याकेन्सी प्रकाशन भएको थियो । यस विषयमा थप जानकारी लिन खोज्दा नबिल बैंकका सीइओ अनिल शाहले फोन उठाएनन् भने आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले आफु व्यस्त भएकाले कुरा गर्न नसक्ने जानकारी एसएमएसमार्फत दिएका छन् । तर आइक्यानको नेतृत्व परिवर्तन हुनेबितिकै नबिल बैंकजस्तो चलेको बैंकले यस्तो भ्याकेन्सी निकाल्नुका पछाडी एकातर्फ उपाध्यायको कार्यकाल असफल बनाउने खेल आइक्यानका उपल्लो तहका कर्मचारीहरुबाट नै हुन थालेको चर्चा एकातर्फ बढीरहेको छ भने अर्कोतर्फ अध्यक्षको काम गर्न नसक्ने शैलीबारे थाहा पाएर बजारले नै आइक्यानलाइ हेप्न थालेको चर्चा बढीरहेको छ । यस विषयमा हामीले आइक्यानका सूचना अधिकारीसमेत रहेका कृष्ण आचार्यलाइ सम्पर्क गरेका थियौं । उनले यसबारे नबिल बैंकसंग पहल भइरहेको र छिट्टै सूचना सच्याईने आश्वासन बैंकले दिएको जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्