- सिए सरोकार सम्बाददाता
रजिष्टर्ड अडिटरहरुलाई सिए बन्ने बाटो झन् सजिलो बनाउने गरी रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई प्रतिवेदन बुझाएपछी यस विषयमा विभिन्न टिकाटिप्पणीहरु सार्वजनिक हुन थालेका छन् । आरएहरुको क्षमता अभिवृद्धिका नाममा छोटो बाटोबाट आरएहरुलाई सिए बनाउने खेल भएको भन्दै यसको चर्को विरोध भइरहेको छ । यसैबीच सिए विद्यार्थीका मुद्धामा बिगत लामो समयदेखि सक्रिय भएर काम गरेका सिए नेविसंघका पूर्व अध्यक्ष सिए पदम भट्टराईले आइक्यानको काउन्सिल फर्मेसनमै समस्या भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
‘आइक्यानले कसरी सोच्न सक्यो होला कि आरएहरुलाई सिए बनाउन सकिन्छ भनेर ? अध्यक्ष र उपाध्यक्ष बन्न जहिले उनीहरुकै मुद्धामा मोहर लगाउने कस्तो विकृति बढ्यो यो ?’ सिए भट्टराईले सिए सरोकारसँग भने-‘जे भइरहेछ सो सरासर गलत छ । टास्क फोर्सको प्रतिवेदन नसच्याई हुँदैन । अर्कोतर्फ आइक्यानको फर्मेसन पनि अव परिमार्जन गर्न आवश्यक छ । सिएहरु बढी सक्रिय हुनुपर्ने संस्थामा आरएहरु हाबी भए ।’
आरएहरुको क्षमता अभिवृद्धि लगायतका एजेन्डाहरुबारे अध्ययन गर्न उक्त टास्क फोर्स बनेको थियो । नोभेम्बर १ तारिखका दिन आइक्यानमा बुझाइएको उक्त प्रतिवेदनमा आरएहरुलाई सिए बन्ने बाटो सहज हुनेगरी सुझावहरु दिइएको छ । यो प्रतिवेदन सिए सरोकारले सार्वजनिक रुपमै ‘फ्ल्यास’ गरिदिएपछि पछिल्लो माहोल तातेको छ ।
प्रतिक्रिया दिनुहोस्