Skip to content

एक्यान र लर्ड बुद्धबीचको सम्झौता के हो ? के होइन ? भर्ना गर्नु अघि यी तथ्य जरुर बुझौं है !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)ले आफ्ना सदस्यहरुको हितका निम्ति विभिन्न काम गरिरहेको छ । केहि समययता आनन्द वाग्लेको नेतृत्वमा विभिन्न ट्युसन प्रोभाइडर, बैंक तथा रेष्टुरेन्टसँग एक्यानले विभिन्न छुटको तथा सहुलियतको व्यवस्था गरेको छ । यसै बीच एक्यानले लर्डबुद्ध एजुकेसन फाउन्डेसनले संचालन गरिरहेको एसिया प्यासिफिक युनिभर्सिटीको डिग्री पढ्न चाहाने आफ्ना सदस्यहरुलाई छुटको व्यवस्था गरेको छ ।
आफ्ना सदस्यहरुलाई हित होस् भन्ने सफा नियत बोकेर एक्यानले गरेको काम उदाहरणीय, प्रशंसनीय र उल्लेखनीय त पक्कै छ । तर यो सम्झौतालाई समकक्षतासंग मात्र जोडेर प्रचार गरिंदा कतै कतिपय सदस्यहरु भ्रममा पो पर्ने हुन् कि भन्ने डर सिएहरुमै देखिएको छ । र त भर्ना गर्नु अघि यी तथ्यहरु बुझ्न जरुरी छ ।
एक्यान र लर्ड बुद्धबीचको सम्झौता के हो ? के होइन ?
१. नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)ले आफ्ना सदस्यलाई नेपालमै अध्ययन गरेर मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीबाट स्नातकोत्तर डिग्री लिन सक्ने व्यवस्था मिलाएको छ, त्यो पनि छुटसहित । यो प्रशंसनीय काम हो । यसअघि पनि विभिन्न बैंकमा कर्जा लिन सहज गराउने, रेष्टुरेन्टमा छुट दिनेगरी एक्यानले विभिन्न संस्थासंग सम्झौता गरेको छ ।  
एसिया प्यासिफिक युनिभर्सिटीको डिग्रीलाई नेपालको त्रिभुवन विश्वविद्यालय लगायत विश्वभरका विख्यात विश्वविद्यालयले समकक्षता दिएका छन् । यो पनि सत्य हो । तर समक्षकता लिनकै लागि लर्डबुद्धकै सोहि कोर्स पढ्नुपर्ने भने होइन । विभिन्न विश्वविद्यालयका विभिन्न मास्टर्स कोर्सलाई टियुले समकक्षता दिन्छ । सिए कोर्सबाट सिधै पढ्न अन्य विश्वविद्यालयबाट पनि पाइन्छ ।
२. समककक्षतालाई जोडेर अलि बढी नै प्रचार भएको छ बजारमा । तर प्रचार गरिएजस्तो एक्यानले सिएहरुको समकक्षताको इस्युलाई समाधान गरेको भने होइन । माष्टर्स पढ्नु नै छ भने समकक्षता हुने जुन माष्टर्स पढे पनि हुन्छ । सिएपछी पढ्न मिल्ने एमबिए अरुले पनि दिन्छन् ।  लर्डबुद्धले पढाउने कोर्सभन्दा सस्तो, र समकक्षता पनि पाइने कोर्स अन्य कलेजहरुले पनि पढाउने गरेका छन् । केलाएर बुझ्ने हो र एमबिए गर्ने नै हो भने लर्ड बुद्धले पढाउने कोर्सभन्दा बढी फाइदाजनक कोर्सहरु छन् है ! जसले टियुबाट समकक्षतासमेत पाउँछ । फेरी तपाईंहरुले माष्टर्स सकुन्जेल यो समकक्षताको ‘क्लज’ उही रहन्छ भन्ने पनि होइन । जस्तै सिएलाई पनि पहिला समकक्षता दिन्थ्यो, अहिले दिन छोडेको छ । फेरी टियुले कुनै संघले गरेको सम्झौता अनुसार आएकाहरुलाई भोलि म समकक्षता दिन्न भन्न पनि पाउँछ । हिजोको सम्झौताको समाचार बाहिरिएपछी टियुकै अधिकारीबीच पनि यस्तो छलफल चल्न थालिसकेको छ । आइक्यानले पहल गर्दा त नमानेको टियुले एक्यानले गरेको एउटा सम्झौतालाई लिएर निहुँ खोज्दैन भन्ने छैन । त्यसैले समकक्षताकै लागि मात्र हो भनेचाहिं १० पटक सोचेर मात्र यो कोर्स पढ्दा राम्रो होला ।
३. लर्डबुद्ध अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजले यो कोर्ष पढ्ने एक्यानका सदस्यहरुलाई ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराउने भनिएको छ । तर अचम्मको कुराचाहिं के हो भने एक्यानका सदस्य नभएकाहरुले त्यहि कोर्स त्यहाँभन्दा बढी छात्रवृतिको अफर कलेजले अनौपचारिक रुपमा दिन्छु भनेको छ र केहीलाई दिएको पनि छ । त्यसैले कलेजले तपाईंलाई सम्झौता गरेअनुसार २५ प्रतिशतलाई दिमागमा राखेर होइन अलि बढी नै बार्गेनिङ गर्छु भनेर कलेजसंग कुरा गर्नु राम्रो हुन्छ । धेरै डिस्काउन्ट आउँछ भने किन छोड्ने ? 
४. यो कोर्षमा विकेन्ड मोडमा विद्यार्थीहरुले शुक्रबार र शनिबार मात्रै कलेज आउनुपर्ने हुन्छ । शुक्रबार बेलुका ४ः३० देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ः०० देखि बेलुका ४ः०० बजेसम्म कक्षा सञ्चालन हुनेछ । शनिबार कलेजले दिउँसो खाना पनि उपलब्ध गराउने जनाएको छ । खानाको पैसा त फी मै जोडिएको हुन्छ, सकिहाल्यो । मास्टर्स पढ्नु नै छ भने यसरी वीकेन्ड मोडमा पढाउने अन्य कलेज / कोचिङ सेन्टरहरु पनि छन् है !
अर्को मुख्य कुरा के हो भने समकक्षता चाहिने ठाउँ भनेको साच्चै एकेडेमिक क्वालिफिकेसन खोज्ने ठाउँमा  हो । त्यसै हो भने ‘भोलि के होला होला’ भन्ने रिस्क लिएर पैसा खन्याउनु भन्दा समय लिएर टियुमै ब्याचलर पछी मास्टर्स पढ्दा राम्रो हो है !
५. लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई एसिया प्यासिफिक युनिभर्सिटीका ११ वटा अनलाइन लाइब्रेरीमा पहुँच उपलब्ध हुनेछ भनेर समेत प्रचार गरिएको छ । यो सार्है राम्रो कुरा हो । तर यस्ता लाइब्रेरीमा पहुँच हुने कोर्स वा कोचीङ सेन्टर यो मात्र चाहिं होइन है । यद्यपी एक्यानले राम्रै सोचेर यो सम्झौता गरेको हो ।  त्यसैले पैसा पनि खर्च गर्छु, छोटो समय पढ्छु, एउटा डिग्री लिन्छु र मलाई लर्ड बुद्ध ठिकै लाग्छ भने यो कोर्समा भर्ना गर्दा हुन्छ ।  तर यसको विकल्प नै छैन र एक्यानमार्फत गए सार्है सस्तो पर्छ भन्नुचाहिं भ्रम नै हो । 
कतिपयले यो कोर्स पढेपछि मैले ब्याचलरको समकक्षता लिएर मास्टर्सचाहिं टियु पढ्न पाउँछु कि पाउँदीन भनेर पनि सोधेका छन् । त्यसोचाहिं गर्न नपाइने रहेछ ।
एक्यानको उदाहरणीय कामको प्रसंसा गर्न कन्जुस्याई नगरौं ! तर बुझेर मात्र भर्ना गरौँ !
एक्यानले आफ्ना सदस्यहरुको हकहितका लागि विभिन्न संघ संस्थाहरुसँग मिलेर अगाडी बढ्नु सार्है प्रसंसनीय काम हो । यसका लागि एक्यानलाई धन्यवाद दिनैपर्छ । तर केलाएर बुझ्ने हो भने लर्डबुद्धमा पढ्नुभन्दा एमबिएस गर्न धेरै फाइदा छ । एमबिएसमा सेमेस्टर हुन्छ भन्ने तर्क होला, यसमा पनि सेमेस्टर अन्तर्गतकै परिक्षा हुन्छ । एमबिएसमा न्युनतम हाजिरी चाहिन्छ भन्ने समस्या हो भने विदेशी डिग्री पढ्दा यो समस्या हुँदैन तर सबैभन्दा राम्रो लर्डबुद्धकै हो त्यसैले एक्यानले सम्झौता गरेको हो भन्ने भ्रमचाहिं पाल्नु हुँदैन । तुलना नै गर्ने हो भने लर्डबुद्धको कोर्स अलि महँगो पनि छ ।
सिएलाई सिधै मास्टर्स पढ्न होइन भारतीय बोर्डबाट पास गरेको हो भने त कतिपयले सिधै पीएचडीको बाटोसमेत खोलिदिएका छन्।
(नोट : हामीले माथिका सुझाव विभिन्न विज्ञहरुसँगको कुराकानीका आधारमा तयार गरेका हौँ ।)

प्रतिक्रिया दिनुहोस्