Skip to content

आइक्यानको परीक्षा आइतबारबाट हुन्छ कि हुँदैन ?

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । कोभिड महामारीको बढ्दो क्रमलाई बेवास्ता गर्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आइतबारबाट सिएको विभिन्न तहको परिक्षाको तयारी गरेको छ । गत जुन महिनामा हुनुपर्ने परिक्षा लकडाउनकै कारण धकेलिएको थियो । तर त्रिभुवन विश्वविद्यालयलेसमेत विभिन्न तहको परिक्षा गर्ने भएपछी आइक्यानले पनि लकडाउनकै बीचमा परिक्षा संचालन गर्ने निर्णय गरेको छ । तर शनिबार कक्षा १२को परिक्षा स्थगित भएसँगै आइक्यानको परिक्षा हुन्छ कि हुँदैन भन्ने चासो चौतर्फी बढेको छ । शुक्रबारमात्र स्वास्थ्यराज्यमन्त्रीले कोरोनाको त्रास बढेको भन्दै कक्षा १२ लगायतका परिक्षा सार्न सीसीएमसीको बैठकमा सिफारिस गर्ने बताएका थिए । शनिबार परिक्षा बोर्डले कक्षा १२को परिक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ । आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भएपछी अव ३१ गतेसम्मचाहिं कोरोना नलाग्ने हो र ? भन्ने प्रश्न उब्जिएको छ ।
आइक्यानको अत्यन्तै फितलो तयारी, कोरोनामाथि नै मजाक ! जोखिममा विद्यार्थी
यसो त आइक्यानले गर्न लागेको परिक्षाको तयारी हेर्दा कोरोनालाई आइक्यान स्वयमले पनि मजाकजस्तै ठानेको भान हुन्छ । कोभिडको लक्षण देखिएकाहरुका लागि कुनै पनि व्यवस्था गरिएको छैन । कोरोनाको स्पष्ट लक्षण देखिएका तर परिक्षण नगराएका विद्यार्थीहरुको संख्या पनि ठुलो हुने जान्दाजान्दै पनि आइक्यानले यस विषयमा कुनै पनि तयारी गरेको छैन । परिक्षा हलबाहिर सम्भावित भीडभाड रोक्न पनि आइक्यानको कुनै पनि तयारी छैन । यसले परिक्षा दिंदै गर्दा विद्यार्थीहरु कोरोनाको मारमा पर्ने देखिएका छन् । अर्कोतर्फ आफुलाई संक्रमण भएको थाहा भएका र आइसोलेसनमै बसेका कतिपय विद्यार्थीहरु पनि परिक्षामा जाने तयारीमा छन् । यो सम्भावित जोखिमलाई रोक्न आइक्यानले कुनै पनि तयारी गरेको छैन भने परिक्षा हलमा केहि स्वास्थ्य मापदण्ड अपनाईएपनि परिक्षा हलसम्म जानका लागि सार्वजनिक सवारी प्रयोग गर्ने विद्यार्थीहरु कोरोनाको जोखिममा पर्ने देखिएका छन् ।
शनिबार बेलुका सरकारको निर्णय नआए आइतबारबाट परिक्षा हुन्छ : आइक्यान
यता सीसीएमसीको बैठकले सम्पूर्ण परिक्षा स्थगित गर्ने निर्णय नगरेसम्म परिक्षा नरोकिने आइक्यानले जनाएको छ । ‘सरकारको स्पष्ट सूचना नआएसम्म परिक्षा रोकिंदैन। ‘ आइक्यानका उपाध्यक्ष युद्धराज ओलीले सिए सरोकारसँग भने, ‘सरकारको परिक्षा स्थगनको सूचना आएन भने आइतबारबाट परिक्षा हुन्छ ।’ यता सीसीएमसीको बैठकमा कक्षा १२ लगायतका सम्पूर्ण परिक्षा स्थगन गर्ने सिफारिस हुनै लागेका बेला कक्षा १२ को परिक्षा स्थगित भईसकेको छ। अव यो एजेन्डा नै सीसीएमसीको बैठकमा नजाने देखिंदा आइतबारबाट हुने भएको परिक्षा भएरै छाड्ने देखिएको छ । तर एक वा दुई परिक्षा भईसकेपछि सरकारले परिक्षा रोक्ने निर्णय भए के गर्ने भन्ने विषयमा पनि आइक्यानको खासै केहि तयारी छैन ।
विद्यार्थीको स्वास्थ्यमाथि यसरी हुँदैछ खेलबाड, परिक्षामाथि पनि यसरी भयो राजनीति
आइक्यानले यस्तो बेलामा किन जवर्जस्ती परिक्षा लिंदैछ ? यसका २ कारण छन्। एउटा त परिक्षा रोकिएको अवस्था छ । यसअघि पनि एक एटेम्ट परिक्षा रोकिएको थियो। यसपाली त्यसरी ६ महिना लस नहोस भन्ने आइक्यानको बुझाइ छ। अर्कोतर्फ जताततै कोरोना बढिरहेका बेला डिसेम्बरमा स्थिति के हुन्छ भन्नेसमेत एकिन नभएका बेलामा टियु लगायतले परिक्षा गर्न थालेपछि आइक्यान परिक्षा गर्ने निर्णयमा पुगेको हो। अर्को महत्वपूर्ण कारण भने आइक्यानको राजनीति रहेको जानकारहरुको ठम्याई छ। यहि भदौमा आइक्यानको चुनावसमेत हुँदैछ। विद्यार्थीको परिक्षा रोकेर चुनाव संचालन गर्न नैतिक रुपमा नमिल्ने हुनाले पनि आइक्यान जसरी पनि यसपटक परिक्षा गराईछाड्ने रणनीतिमा छ ।
‘यस्तो त्रासको बेलामा परिक्षा रोक्दा कुनै फरक पर्दैनथ्यो । रोक्ने तयारी पनि थियो। तर विद्यार्थीको परिक्षा रोकेर चुनाव गर्न गाह्रो हुने र चुनाव नगरी नहुने अवस्था भएकाले विद्यार्थीको परिक्षा पनि सकिदिउन भनेर सबै लाग्नुभएको हो।’ आइक्यानको उच्च स्रोतले भन्यो, ‘परिक्षा नगर्दा केहि बिग्रिन्नथ्यो। तर चुनाव गर्नुपर्ने चेपुवामा विद्यार्थीहरुमाथि नै राजनीति भएको सत्य हो। ‘

प्रतिक्रिया दिनुहोस्