
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । प्रशासनले कोरोनाको कारण देखाउँदै चुनाव गर्न नदिने भएपछी आइक्यानको चुनाव अन्तत: निर्धारित मितिमा नहुने भएको छ । आइक्यानको आशन्न चुनावका लागि संस्थाले जिल्ला प्रशासनसँग अनुमति मागेको थियो। जिल्ला प्रशासनले सीसीएमसीलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएको थियो। तर सीसीएमसीका पदाधिकारीहरुले ‘तपाईंहरुजस्तो पढेलेखेका मान्छेले यस्तो गैरजिम्मेवार काम गर्ने हो ?’ भनेर उल्टै थर्काएर पठाईदिएपछी अन्तत: आइक्यानको चुनाव नहुने पक्कापक्की भएको हो ।
यसअघि आइक्यानको चुनाव नगर्ने र सहमतिमा काउन्सिल सदस्य छान्नेगरी छलफल भएको थियो। केहीलाई आइक्यानले प्रतिनिधि पठाउने विभिन्न संस्थामा पठाउने र बाँकीलाई काउन्सिल सदस्य बनाउनेगरी सहमति पनि भएको थियो। तर चुनाव कन्फर्म हार्नेहरुलाई सिनियर भएको बहानामा काउन्सिल सदस्य बनाउने काम भएको र राजनीतिक भागबण्डा जसरी पद छोडेलाई अन्त एडजष्ट गर्न खोजेर आइक्यानलाई विशुद्ध राजनीतिक अखडा बनाउन खोजेको भन्दै केहिले सो निर्णय नमान्ने अडान लिएपछि अन्तत: सो सहमति पनि तोडिएको थियो । प्रशासनले चुनाव गर्न नदिने भएपछी अव आइक्यानको चुनाव अनिश्चित बनेको छ ।
अनलाइनबाट चुनाव गर्ने विकल्प हुँदा हुँदै चुनाव नै नगर्ने बदनियतका साथ आइक्यानको नेतृत्व लागेको आरोपसमेत विभिन्न उम्मेदवारहरुले लगाउदै आएका छन् । ‘अनलाइनबाट पनि चुनाव गर्न सकिन्थ्यो। तर अहिलेको नेतृत्वले चुनाव गर्न नै खोजेन। ‘ काउन्सिलका उम्मेदवारमध्येका एकले सिए सरोकारसँग भने, ‘आइक्यान अव काउन्सिल बिहीन हुने भयो । मदन शर्मा नै अध्यक्ष रहिरहनुहुने भयो।’
प्रतिक्रिया दिनुहोस्