Skip to content

क्यान्डिडेट वाच-१ : अवका आइक्यानका कन्फर्म अध्यक्ष युद्धराज ओलीलाई भोट किन दिने ? किन नदिने ?

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् युद्धराज ओली ?
सिए युद्धराज ओली आइक्यानका हालका उपाध्यक्ष हुन् । कोभिडका कारण सम्भवत उपाध्यक्षको रुपमा सबै भन्दा लामो कार्यकाल सम्हालेका तर कोभिडकै कारण सम्भवत: सबै भन्दा छोटो समयका लागि अध्यक्ष हुने सम्भावना बोकेका युद्ध ओली लामो समयदेखि प्राक्टिसमा छन् । सबैलाई मिलाएर लैजाने क्षमता भएका ओलीसँग राम्रो लिडरशिप क्वालिटी छ । लामो समय अध्यापन र अध्यापन गराउने संस्थालाई समेत लिड गरेका उनी हाल धितोपत्र बोर्डका संचालकसमेत छन् । आइसीएआइबाट सिए उतिर्ण गरेका उनी सटिक, स्पष्ट र दरिलो लिडरशिप राख्ने सिएका रुपमा चिनिन्छन् ।
तर,
केहि समय अगाडी आरएहरुलाई सिए बनाउने प्रतिवेदन सार्वजनिक हुँदा आइक्यानको उपाध्यक्षका हैसियतले सो प्रतिवेदन बनाउने समितिको संयोजक भएका कारण उनी विवादमा आएका थिए । एक्यानको सहमतिमै निकालिएको भन्ने तथ्य सार्वजनिक भएपछी, धन्न उनको विरोध कम भएको हो । तर त्यसको सबै अपजश उनलाई नै जान्थ्यो । उनी मान्छे चिन्ने मामलामा पनि निकै कमजोर देखिएका सिए हुन् । प्रकाश लम्सालसँग लामो सहकार्य गरेका उनलाई अन्तिममा अध्यक्ष हुने कन्फर्म भईसकेपछी लम्सालले धोका दिएको तर्क चौतर्फी रुपमा चलेको थियो । अहिले पनि उनले आफ्नो भनेर हिंडेका केहि भोटर अरु कसैको चुनावी क्याम्पेनमा पनि छन् । अघिल्लो चुनावमा उनको खेमामा रहेका केहि सिएहरु अहिले अरुका बनिसकेका छन् । तर बिर्सनु के हुँदैन भने जति सोझो ओली बाहिरबाट देखिन्छन्, उनी खासमा भित्रबाट कम्ती चलाख भने छैनन् ।
युद्ध राज ओलीलाई भोट किन दिने ? किन नदिने ?
युद्धराज ओलीले कन्फर्म चुनाव जित्ने देखिन्छ । उनले राम्रो संख्यामा पोष्टल भोटसमेत बटुलीसकेका छन् । हालका उपाध्यक्ष भएका कारण पनि उनलाई अध्यक्ष बनाउनुपर्ने धेरैको तर्क छ । अर्कोतर्फ उनकै पालामा विभिन्न निकायमा आइक्यानको प्रतिनिधित्व गरेर सिएहरु पठाउनुपर्ने छ । यसकारण पनि आइक्यानमा राम्रो अध्यक्षको खाँचो छ । सिए एजुकेसन राम्रो हुनुपर्छ भन्नेले पनि उनलाई भोट दिनुपर्छ । किनकि अहिलेका उम्मेदवारहरुमध्ये विद्यार्थीका र सिए कोचीङ सेन्टरका समस्या बुझ्ने सिए उनीजतिका मान्छे कोहि छैनन् । प्राक्टिसमा समेत लामो अनुभव मात्र भएका नभई, अनेक मुद्धा मामिला भोगिसकेका हुनाले आइक्यान पोलिसीगत रुपमा कहाँ कमजोर छ भन्ने बुझेका छन् उनले । उपाध्यक्ष हुँदा उपाध्यक्षकै हैसियतले गर्न नसकेका कामहरु उनले पूरा गर्ने योजना बनाएका छन् । त्यसैले उनलाई भोट दिन आवश्यक रहेको उनको तर्क छ ।
आइक्यान भनेको राजनीति नै गर्ने अखडा हो भन्नेहरुले उनलाई भोट नदिए हुन्छ । किनकि ओलीबाट त्यो सम्भव छैन । आइक्यानको उत्पादनलाई मात्र भोट दिन्छु भन्ने भावना राख्नेले उनलाई भोट दिने कुरै भएन । उनकै ग्यांगभित्र पनि उनका विरोधीहरु छन् जसले उनलाई भोट दिंदैनन् ।
समग्रमा,
उनले चुनाव जित्छन्। अझ भन्दा उनको औपचारिक जितको प्रक्रियामात्र बाँकी छ। उनी हुनेवाला अध्यक्ष पनि कन्फर्म हुन् । यसपाली चुनावमा आरएहरुका सुनिनसक्नुको मागसमेत छ भन्छन् बजारमा सिएहरु। त्यसैले चुनाव जितेर पनि उनको कार्यकाल सहज भने नहुने पक्का छ। जहिले पनि अपजशको भारी आइपर्ने ओलीले संयमित भएर आइक्यानको नेतृत्व गर्नुपर्ने देखिन्छ । खैर यी कुराहरु गर्नुभन्दा त पहिला उनले चुनाव जित्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्