Skip to content

आफ्नो कामबारे बुझाउँदै आइक्यान : संस्थाको भूमिका तथा गतिविधिहरुबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न…

काठमाडौँ । नेपाली लेखाव्यवसायीहरुको एकमात्र नियमनकारी निकाय भएर पनि विभिन्न तह र तप्काले आइक्यानको खास भूमिकाबारे थाहा नपाउँदा देशका विभिन्न व्यक्ति, संस्था, तह र तप्कामा रहेकाहरुलाई विभिन्नखाले भ्रम पर्न थालेपछि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था आफ्ना गतिविभी र भूमिकाबारे विभिन्न तह र तप्काका व्यक्ति तथा संस्थाहरुलाई बुझाउन सक्रिय भएको छ । अझ त्यसमा पनि पछिल्लो समय विभिन्न संस्थाहरुले आइक्यानको क्षेत्राधिकारको समेत दुरुपयोग गरेको चर्चा चलिरहेका बेला आइक्यानले लेखा व्यवसायीहरुको नियमन गर्ने काम आफ्नो भएको बुझाउन विभिन्न कार्यक्रमको योजना गरेको हो ।
यसै बीच आइक्यानले प्रदेश नम्बर १ को अस्थायी राजधानी बिराटनगरमा सनास्थाको भूमिका तथा गतिविधिहरु विषयक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा आइक्यानले आइक्यान के हो ? यसले के गर्छ ? लेखा व्यवसायीहरुलाई नियमन गर्ने काममा यसले के के काम गरिरहेको छ ? यसका अधिकारहरु के के हुन् ? आइक्यानले आफ्ना सदस्यहरुलाई कस्तो कस्तो कारवाही गर्न सक्छ ? आइक्यानले विद्यार्थी तथा सदस्यहरुका लागि के के गर्छ ? लगायतका विविध विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो । सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा सरोकारवाला सहभागीहरुले सोधेको प्रश्नमा आइक्यानका अध्यक्ष, आइक्यानका कार्यकारी निर्देशक लगायतले आफ्नो भनाई राखेका थिए भने कार्यक्रममा आइक्यानका उपाध्यक्ष, अडिटर्स एसोसिएसनका अध्यक्ष, आइक्यानको प्रदेश नम्बर १ का कर्मचारीहरु, विभिन्न नियमनकारी निकायका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधिहरु तथा स्थानीय संचारकर्मीहरुको समेत उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा उपस्थितहरुले आइक्यानको भूमिका र आइक्यानको गतिविधिकाबारे प्रश्न गरेका थिए भने पछिल्लो समय अडिटरहरु विभिन्न प्रकरणमा मुछिनुको कारण र यसमा आइक्यानको भूमिका के हो भन्ने विषयमा पनि प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्नमा आइक्यानका कार्यकारी निर्देशक संजय सिन्हा र आइक्यानका अध्यक्ष युद्धराज ओलीलगायतले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्