Skip to content

सिएको कथामा मह जोडी अभिनित टेलिफिल्म बन्यो, लेखा व्यवसायीहरुको सम्मेलनमा हुँदैछ प्रिमियर शो !

काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रमा सर्वाधिक लोकप्रिय जोडी, मह जोडीको अभिनय रहेको सिए सम्बन्धित लघुचलचित्र निर्माण भएको छ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २५औँ बार्षिकोत्सवको अवसरमा आइक्यानले निर्माण गरेको सो लघुचलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, मोहित आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सो लघु चलचित्रमा सिएको जीवन, आइक्यानको भूमिका लगायत विषयलाई ‘रमाइलो’ तरिकामा प्रस्तुत गरिएको छ ।
‘चलचित्र निर्माणको काम सकिएको छ । लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको दोश्रो दिन हामी सो लघु चलचित्र प्रिमियर गर्ने तयारीमा छौं ।’ सिए सरोकारसँग कुराकानी गर्दै आइक्यानका अध्यक्ष सिए युद्धराज ओलीले भने, ‘यस लघु चलचित्रमार्फत हामी आइक्यानको भूमिकाबारे आम जनतालाई बुझाउन सफल हुनेछौँ भन्ने विश्वासमा छौं ।’ उनका अनुसार आइक्यानले आयोजना गर्ने लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनमा यो लघुचलचित्रको प्रदर्शन पनि खास आकर्षण हो ।
सो कार्यक्रममा हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि आफ्नो जीवनका अनेक भोगाईबारे बोल्ने कार्यक्रमसमेत छ । ‘अहिलेसम्म हामीले सिएका बारे बोल्यौँ । अव महजोडीले नै सिए र आइक्यानका बारे सबैलाई थाहा दिंदा हाम्रो भूमिका झन् प्रष्ट हुनेछ । यो लघुचलचित्रका माध्यमबाट आइक्यान के हो र यसले के के गर्छ भन्ने विषय आम जनतामाझ थप स्पष्ट हुनेछ ।’ आइक्यानका अध्यक्ष ओलीले भने, ‘अझै केहि दिन नाम दर्ताका लागि समय छ ।सम्मेलनका लागि नाम दर्ता गर्न छुटेकाहरुले गर्नुहोला भन्ने सन्देश दिनुहोला ।’
आइक्यानले पहिलोपटक यस्तो लघुचलचित्रको निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्