Skip to content

परिक्षा सारिदेऊ आईक्यान ! (सम्पादकीय)

महाँभूकम्पको दर्दले आज देश रोहिरहेछ । आज कयौं नागरिकहरुले  यहि बिपत्तिका कारण यो संसारबाट बिदा हुनु परेको छ । कयौं घाइते छन् त कयौं अपाङ्ग । घर ढलेको  खबरले त्राही त्राही भएका जनता हुन् वा आफन्तको निधनले शोकाकुल भएका नागरिकहरु । आज सब रोहिरहेछन् । बाँकी भएको एक मुठी सासको भरमा फगत भगवानको प्रार्थनामा दिन हरु बितिरहेछ । कुन् बेला के हुने हो भन्ने पत्तो छैन । र पनि आज यो पीडाहरुको भिडमा यहि देशको एउटा स्वायत्त भनिएको संस्थाले दिएको परिक्षा पिडा छ बिधार्थीहरुसंग।
हुन त बिधार्थीहरुले केहि आश पनि गरेका थिएनन् होला आईक्यानसंग र पनि आफ्नो भन्नेले नहेरीदिंदा दुख्दोरहेछ मन । र दुख्दो रहेछ देश भित्रको एउटा स्वायत्त स्वाभिमान । आज देश रोहिरहंदा भारतको आईसीए आईले समेत नेपाली हरुलाई धैर्य गर्न एउटा संचारमाध्यम बाट अनुरोध गरिरहँदा मेरो देशको त्यहि स्वायत्त भनिएको संस्था अझै केहि बोलेको छैन । सायद अलिअलि सुन्ने कान पनि भूकम्पका कारण बहिरो भएछ क्यार !
सुर्य न्यौपाने, घर सिन्धुपाल्चोक । गाउँ पुरै सोतर भएको छ । एउटा पाल पनि छैन बस्नलाई । भएको सबै पुरियो । आफन्तहरुलाई सान्त्वना दिन बाहेक उनीसंग केहि छैन उपाय । र पनि बाच्नु त छ दै छ । नजिकिएको परिक्षाले राती आउने भूकम्पजस्तै तर्साउँछ पल पल । अनि भूकम्पको क्षतिमा मल्हम लगाउन नसक्ने देशलाई धिक्कार्नुजस्तै आईक्यानको गैर जिम्मेवारीका प्रति चित्त दुखाउनु बाहेक केहि बिकल्प छैन । उनी त एक प्रतिनिधि पात्र मात्र हुँन्, उनी जस्तो देश दुख्ने र आईक्यानले अझै दुखाई दिएकाहरु हजारौं छन् यो देश भित्र ।
कुन बेला भूकम्प आउँछ थाहा छैन । अनि कसरी ढोका थुनेर पढुन् बिधार्थीहरु । न त पढ्नुको विकल्प छ, न त पढ्नै सकिन्छ । अनि के गरुन् बिचरा बिधार्थीहरु । भोलि फेल हुनुको दोष त आफैंलाई दिनु छ अनि फेरि पराजित भएर लाग्नु छ पढाइको रसाकास्सीमा । तर के र किन बुझोस् आईक्यानले यो पिडा । ऊ त सायद आउँदो आईक्यानको चुनावको तयारी गरिरहेछ । बिधार्थीको बाल मतलब ! फेल भए  अर्को चोटी देलान !
होइन आईक्यान ! एक पटक बुझा बिधार्थीलाई ! अहिले पढ्न सक्ने अवस्था छैन । र नपढी तिम्रो परिक्षामा पास हुन असम्भव छ । विधार्थी धेरै होइन केहि समयका लागि परिक्षा सारिदेउ भनिरहेछन् । बस् त्यति गरिदेउ । तिमीलाई धर्म लाग्छ । तिमीलाई के थाहा आईक्यान तिम्रो ढुकुटीमा सात हजार दुई सय तिरेर फर्म भरेको छोरो, गाउँमा आमाको किरिया गरिरहेछ । तिमीलाई के थाहा आईक्यान, तिमीलाई सर्बस्व  ठानेर दीन रात लागि परेकी एउटी छोरी पुरिएका आफ्ना बाबुलाई खोश्रीएर खोज्दैछिन् । तिनीहरुलाई तिमि केहि गर्न सक्दैनौ र सके पनि गर्दैनौ । बस् केहि दिनका लागि परिक्षा सारिदेउ, तिमीलाई धर्म लाग्नेछ ।
जे कुरा पनि आईसीएआईको सिको गर्नेले यो बेला पनि सिको गरोस् । जानाकारी नभए फोन गरेर सोध्नु आईसीएआईले परिक्षा सारिसकेको छ । यो देशमा टियु लगायत सबै निकायले आ-आफ्ना परिक्षा सारेका छन् अनि तिमि यहि देशका नागरिकहरुको नुन खाएर महल ठड्याउने आईक्यान किन बुझ्दैनौ बिधार्थीका पिडा । प्लिज आईक्यान बिधार्थीका लागि यति कस्ट गरिदेऊ  । केहि समयका लागि सारिदेउ आईक्यानको परिक्षा ।  

प्रकाशित मिति : २०७२ साल बैसाख १६ गते बुधबार समय : बिहान ११ बजे 

प्रतिक्रिया दिनुहोस्