शुक्रबार नयाँ पत्रिकाले लेखेको नेपाल भूकम्प राहत कोष दिल्लीको राहत सम्बन्धि समाचार “दिल्लीमा नेपाली दिल दुखेपछि“ मा कपोकल्पित र भ्रामक तथ्यांक उल्लेख गरिएको भन्दै नेपाल भूकम्प राहत कोष दिल्लीका संयोजक सिए नागेन्द्र साहले आपत्ति जनाउनुभएको छ। शुक्रबार बेलुका सिए सरोकारसंग कुराकानी गर्दै उहाँले समाचारमा सम्प्रेषण भएको तथ्यांक गलत भएको बताउनु भएको हो। सिए साहले पत्रिकामा उल्लेख गरिएको संकलित रकम सम्बन्धि तथ्यांक गलत भएको स्पष्ट पार्दै आफुहरुले अहिले सम्म कुल ३८,५०,३१६ भारु रकम र २५ लाख भारु बराबरको सामान संकलन भएको बताउनुभएको छ। साथै उहाँले नयाँ पत्रिकामा प्रकाशित उक्त समाचार भ्रामक भएको भन्दै उक्त समाचारले निम्त्याउन सक्ने कुनै पनि खालको नतिजाप्रति नेपाल भूकम्प राहत कोष दिल्ली जिम्मेवार नभएको समेत स्पष्ट पार्नुभएको छ। समाचारमा नेपाल भूकम्प राहत कोषका तर्फबाट सुवाष पाण्डेलाई उदृत गरिएको छ।
नयाँ पत्रिकाको समाचार गलत : सिए नागेन्द्र साह

के भन्छन् सिए नागेन्द्र साह ? : यता सिए नागेन्द्र साहले भने सुवास पाण्डेलाइ उदृत गर्दै लेखिएको समाचारमा कुनै सत्यता नरहेको बताउनुभएको छ। ” नयाँ पत्रिकाले बढाई चढाई लेख्यो कि सुबास पाण्डेले बढाई चढाई भन्नुभयो, थाहा छैन। तर पत्रिकामा लेखिएको समाचार भने गलत छ। ” सिए नागेन्द्र साहले सिए सरोकारलाई बताउनु भयो। “मैले पहिलाको प्रेश बिज्ञप्ति मै गलत तथ्यांक भएको सुबासलाई बताईसकेको थिएँ। उहाँले तथ्यांक सच्याईसकेको बताउनु भएको थियो। जव बिहान पत्रिकामा आएको समाचार पढें ,अचम्म लाग्यो। सुवास पाण्डेलाई फेरि फोन गरेर सोध्दा नयाँ पत्रिकाले नै बढाई चढाई लेख्यो भन्नु भयो। कहाँ नेर ‘कम्युनिकेसन ज्ञाप’ भयो थाहा छैन। ” नागेन्द्र साहले बताउनु भयो। संचार क्षेत्र निकै नै सम्बेदनशील भएको बताउंदै उहाँले भन्नुभयो ,” मिडिया भनेको एकदम सम्बेदनशील कुरा हो। नेपालमा रहनु भएका विधार्थीले त्यसलाई सामान्य रुपमा लिनुभए जस्तो छ। “उहाँले फेरि थप्नु भयो ” समाचार पढेर नुवाकोट बासीले के सोचे होलान् ? ” साथै उहाँले आफुहरुले नुवाकोटमा विद्यालय बनाउन कुनै पनि अनुमति नदिएको स्पष्ट पार्नु एको छ। “हामीले सिन्धुपाल्चोकमा बिद्यालय बनाउने अनुमति दिएका हौँ , नुवाकोटमा होइन। अब नुवाकोटका जनताले हाम्रो जिल्लामा विद्यालय बन्ने भयो भनेर सोचिरहेका होलान् जुन अहिलेको स्थितिमा सम्भव छैन। ” साथै उहाँले समाचारमा सत्य तथ्य जानकारी ल्याउन समेत आग्रह गर्नुभयो। सिए समेत संग्लग्न भएको काममा यस्तो हुनुले बाहिर नकारात्मक संदेश जान सक्छ। त्यसैले सबै जना सचेत हुन र समाचार सच्याउन जरुरि छ।” नागेन्द्र साहले बताउनु भयो।
के भन्छन् सुवाष पाण्डे ? “सामानको मूल्य झन्डै एक करोड नै भएको भए पनि हामीले त्यस समयमा उक्त सामानहरु नेपालमा किन्दा लगभग ५ करोडको हाराहारी पर्छ भनेका थियौं जुन पत्रिकामा गलत रुपमा आएछ। “सिए सरोकारसंग कुराकानी गर्दै सुवास पाण्डेले बताए। सिए नागेन्द्र साहलाई हामीले समूर्ण विवरण पठाएका छौं। उहाँ बाट छिट्टै नै केहि कुरा बाहिर आउला। सुवास पाण्डेले भने।
शुक्रवार नयाँ पत्रिकामा प्रकाशित समाचार यस्तो थियो :
१२ वैशाखको बिहानसम्म दिल्लीमा चार्टर्ड एकाउन्टेन्सी पढ्दै गरेका सुवास पाण्डे आफ्नो नियमित पढाइकै काममा केन्द्रित थिए । सहकर्मीबीच कोर्समाथि संवाद पनि चल्दै थियो । तर, त्यस दिनको मध्याह्न १२ बजेपछि पाण्डेको दैनिकी यसरी फेरियो कि उनी विद्यार्थी नभएर स्वयंसेवी संस्थाका कार्यकर्ता बने । १२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि देशमा भएको मानवीय र भौतिक क्षतिले पाण्डेलाई जस्तै दिल्लीमा चार्टर्ड एकाउन्टेन्ट अध्ययन गर्दै गरेका हजाराँै विद्यार्थीलाई ठूलो चोट पुर्यायो र उनीहरू त्यसै दिनबाट भूकम्पपीडितका लागि सहयोग जुटाउने अभियानमा लागे । लगत्तै पाण्डेसहितको टोलीले ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड दिल्ली’ घोषणाको आह्वान गरे । यो फन्डको अध्यक्षको जिम्मेवारी दिल्लीमा बसेर लामो समयदेखि चार्टर्ड एकाउन्टेन्टको अध्यापन गराइरहेका जनकपुरनिवासी नागेन्द्र साहलाई दिइएको थियो । उनको संयोजनमा भारतमा विभिन्न कोर्सको अध्ययन गरिरहेका करिब १० हजार विद्यार्थी भूकम्पपीडितलाई राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउन आर्थिक संकलनमा लागेका थिए । नेपाली दाजुभाइ पीडामा परेका वेला जहाँ रहे पनि सहयोग गर्नु अर्को नेपालीको दायित्व हुने साहको तर्क छ । नेपालमा भूकम्पपछि दिल्लीमा दु:खेको दिलले सहयोग जुटाउन सम्भव भएको उनी बताउँछन् । दिल्लीमा दुखेको मनकै काण छोटो समयमै उनीहरूले एक करोड ५० लाख रुपैयाँबराबरको राहत सामग्री नेपाल पठाएर वितरण सुरु गरेका थिए । भारतमा ज्याला–मजदुरी गरेर जीवन निर्वाह गरिरहेका नेपालीहरूसँग रकम जुटाउन युरोप, अमेरिकामा जस्तो सजिलो थिएन । तैपनि, विद्यार्थीले साहस गरे र आफ्नो अभियान भारतभर चलाए । ‘हाम्रो अभियानका सदस्यहरू एक–एक रुपैयाँ उठाउन हिँडे, भारतमा ४०–४५ डिग्रीको तापमान थियो, तैपनि हाम्रो टोलीले दिनरात नभनी विभिन्न कार्यक्रम गरेर राहतका लागि रकम संकलन गर्यौँ,’ ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड दिल्ली’का कार्यक्रम सयोजक पाण्डेले भने, ‘देशमा आठ हजारभन्दा बढी मानिस मरेको तथा लाखौँ घर भत्केको अवस्थामा नेपाली हुनुको नाताले पीडितलाई सहयोग नगरी बस्नै नसकिने रहेछ ।’ भारतमा विभिन्न कार्यक्रममार्फत आर्थिक संकलनसँगै र १५ वैशाखमा ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’का चिकित्सक र नर्ससहित २५ जना चार्टर्ड एकाउन्टेन्ट पढ्दै गरेका विद्यार्थी काठमाडौं आएर काम सुरु गरेको कार्यक्रम संयोजक पाण्डेले बताए । ‘देशमा भूकम्पले ठूलो क्षति पुर्याएपछि हामी विद्यार्थी पनि सहयोगमा जुट्यौँ, यसैका आधारमा कोष बनाएर काठमाडौं आएर काम थालेका हौँ,’ पाण्डेले भने, ‘पहिलो चरणको राहत वितरणको काम सकिएको छ । अब हामी विद्यालय निर्माणको दोस्रो चरणको योजना कार्यान्वयनमा प्रवेश गरेका छौँ ।’ ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड दिल्ली’ले एक महिनायता भूकम्प प्रभावित १६ जिल्लामा पाँच करोडभन्दा बढी राहत वितरण गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय, गाउँ विकास समितिको कार्यालयसँग सहकार्य गर्दै फन्डले काम गरिरहेको विद्यार्थी पाण्डेले बताए । फन्डले भूकम्प प्रभावित जिल्लाका पीडितहरूलाई पाँच हजार सात सय ७३ त्रिपाल, चार हजार कम्बल र ११ हजार किलो खाद्यान्न वितरण गरेको छ । कार्यक्रम संयोजक पाण्डेले भारतको राजधानी दिल्ली, हरियाणा, मुम्बई, बेंग्लोरलगायत सहरमा पुगेर विद्यार्थीले भूकम्पपीडितको सहयोगका लागि आर्थिक संकलन गरेका थिए । यो फन्डले १५ वैशाखयता हालसम्म सिन्धुपाल्चोकको पाङताङ, गोल्चे, गुम्बा, सेलाङ, मेलम्ची, भोटेचौर, कालिका, चिलाउने, फल्पिङकोट, कदम्बास गाविसमा तथा नुवाकोटको थानापती, सुतल, पाँचकन्या, घले, सामरी, समुन्द्रटार, मदनपुर, गोखु, बालकुमारी, विदुर र दुईपीपल गाविसमा राहत वितरण गरेको छ । त्यसबाहेक यो फन्डले दोलखाका खोपाचागु, नाम्दु, जफे, मकैबारी, लामिडाँडा गाविसमा, गोरखाका बुंकोट, तालिनचोक, मकैसिङ गाविसमा, रसुवाका कालिका, लहरेपोखरी, गताङे र यार्सा गाविसमा राहत साम्रगी वितरण गरेको छ । त्यसबाहेक यो फन्डले धादिङको मूलपानी, रामेछापको लखनपुर, मन्थली, सुनारपानी गाविस, काभ्रेको कुसादेवी, पाँचखाल, देउपुर, महादेवस्थान, तिनघरे, भक्तपुरको निकसेरा र सुडाल गाविस, ललितपुरका मंगलबजार, लामाटार र चापागाउँ गाविस काठमाडौंका मजमैजु, साँखु, सुन्दरीजल र कीर्तिपुरमा राहत सामग्री वितरण गरेको छ । फन्डको यो राहत वितरण तथा उद्धार अभियानमा दिल्लीस्थित नेपाली राजदूतावासदेखि ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ टेक्नोलोजी सेल्स प्रालि काठमाडौं, प्राइम सिए दिल्ली, डक्टरर्स टुडे इन्डियालगायतका संघ–संस्थाले समेत सहयोग पुर्याएका थिए । काठमाडौंसहित भूकम्प प्रभावित अन्य जिल्लामा आयोजना गरिएका स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी भूकम्पपीडितको उपचार गरिएको पनि संयोजक पाण्डेले बताए । यो अभियानमा पोल्यान्ड र काठमाडौं मेडिकल कलेजको चिकित्सक टोलीले समेत सहयोग पुर्याएको थियो । पहिलो चरणको राहत वितरण अभियानमा पुल्चोक इन्जिनियरिङ कलेजका १५ जना इन्जिनियरसमेत जोडिएका थिए । उनीहरूले काठमाडौंमा पाँच सय र काठमाडौंबाहिरका करिब एक हजार घरको अवस्थाको समेत स्थलगत निरीक्षण गरेर पीडितलाई सुझाब दिएको कार्यक्रम संयोजक पाण्डेले बताए । फन्डले दोस्रो चरणमा भूकम्प प्रभावित दुई विद्यालयका भवन निर्माणको काम पनि यही साताबाट सुरु गर्ने भएको छ । यसका लागि फन्डले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एमई गरिरहेका इन्जिनियर आरसी पाण्डेलाई जिम्मा दिएको छ । आरसी पाण्डेले दुईवटा विद्यालयमा नमुना भवन बनाउने योजना तयार पारेर कार्यान्वयन प्रक्रिया सुरु गर्न लागेको बताए । उनका अनुसार दिगो विकासको सोचअनुसार कम्तीमा पाँच वर्ष चल्ने विद्यालय भवनहरू बनाइनेछ । पाण्डेका अनुसार नुवाकोटको मदानपुर–२ मा रहेको भृकुटी माविको १० कोठे भवन तथा सिन्धुपाल्चोकको सेलाङ गाविसमा रहेको सेलाङ प्राविको चारकोठे भवन निर्माणका लागि फन्डले जिल्ला शिक्षा कार्यालय र सम्बन्धित विद्यालयबाट अनुमति लिएको छ । ‘हामी एक–दुई दिनभित्र त्यहाँ काम सुरु गर्छौँ, हाम्रो टोली हिँडिसकेको छ,’ इन्जिनियर पाण्डेले भने । भृकुटी माविको भवनसँगै त्यहाँ भूकम्प सुरु हुनासाथ बज्ने ‘अर्थक्वेक अर्लाम’, शिक्षकहरूका लागि ‘बायामेट्रिक हाजिर’ र १० वटा कम्प्युटरसहितको ‘ई–लाइब्ेररी’ पनि तयार गरिने उनले बताए । ‘हामीले गरेको काम नमुना होस् भनेर नै अस्थायी टहराभन्दा अलि व्यवस्थित काम गर्न खोजेका हौँ,’ उनले भने । फन्डका कार्यक्रम संयोजक सुवासले नुवाकोटको भृकुटी मावि र सिन्धुपाल्चोकको सेलाङ प्राविको भवन निर्माणको काम सकिएपछि भूकम्प प्रभावित जिल्लाका लागि थप योजना बनाएर काम गरिने बताए । फन्डले भावी योजनासहित भारतबाहेक अन्य मुलुकमा बसेर अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई समेत जोड्ने तयारी गरेको छ । ‘यसो भयो भने हामीले नयाँ–नयाँ र राम्रो काम गर्न सक्छाँै,’ संयोजक पाण्डेले सुनाए ।
तस्वीर सौजन्य : नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्