
चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लेखा प्रणाली व्यवस्थित बनाउन
पहल गर्ने अभियान स्वरूप सबै कम्पनीहरूमा सीए राख्ने व्यवस्था गर्ने भएको छ
। यसका
लागि आइक्यानले पहिलो चरणमा सूचीकृत कम्पनीहरूमा अनिवार्य सीए राख्नुपर्ने
व्यवस्था गर्न सम्बन्धित नियमनकारी निकायलाई अनुरोध गरेको छ । आइक्यानले
सोमबार राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा समिति तथा कम्पनी राजिस्ट्रारको
कार्यालयलाई पत्र लेख्दै आफूले नियमन गर्ने निकायमा अनिवार्य सीए
राख्नुपर्ने व्यवस्था गर्न पत्रचार गरेको हो । मुलुकको लेखा प्रणालीलाई
अन्तर्राष्ट्रिय स्तरको बनाउन, विश्वसनीय र परादर्शी बनाउन पनि दक्ष
जनशक्ति आवश्यक पर्ने आइक्यानको बुझाइ छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मुलुकको लेखा प्रणाली सुधार गर्न ‘नेपाल
फाइनान्सियल रिपोर्टिङ स्टयान्डर्ड’ (एएफआरएस) लागू गरिसकेको छ । यसको
पालनाका लागि पनि लेखा क्षेत्रमा दक्ष जनशक्ति हुनुपर्ने आइक्यानको जिकिर छ
। ‘हामी अन्तर्राष्ट्रिय समुदायको सदस्य भइसकेकाले अबको मुख्य समस्या
भनेको अन्तर्राष्ट्रिय स्तरको लेखा प्रणाली बनाउनु हो,’ आइक्यानका
कार्यकारी निर्देशक विनयप्रकाश श्रेष्ठले भने, ‘त्यसैले पहिलो चरणमा
सूचीकृत कम्पनीलाई सीए लिन आग्रह गरेका हौं ।’
साउनदेखि सूचीकृत कम्पनीले एनएफआरएस लागू गर्नैपर्ने निर्णय गरिसकेको छ ।
तिनमा दक्ष जनशक्ति हुनुपर्ने जनाउँदै सम्बन्धिन नियमनकारी निकायलाई
पत्रचार गरेको हो । श्रेष्ठले यी निकायहरूसँग विभिन्न औपचारिक अनौपचारिक
बैठक भइसकेको, सीए राख्ने विषयमा सकारात्क रहँदै सैद्धान्तिक सहमति भएको
जानकारी दिए । ‘ऐन नियममा कसरी मिलाउने भन्ने विषयमा छलफल चलिरहेको छ,’
उनले भने । आजको कान्तिपुरमा खबर छ।
प्रतिक्रिया दिनुहोस्