Skip to content

भ्याकेन्सीको नौटंकी : मर्जरले अनुभवीलाई समेत अफ्ट्यारो, बार्गेनिङले झनै गाह्रो

बैंकहरुले सिए माग्ने तर नराख्ने, वा  आफ्ना मान्छेहरुलाई मात्र जागिर खुवाउने गरेको तथ्य सार्वजनिक भएसँगै यससँग सम्बन्धित अन्य तथ्य पनि सार्वजनिक हुँदै आएका छन् । सिभि बटुलेजस्तो गर्ने तर आफ्नैलाई जागिर खुवाउने परिपाटीले योग्य सिएहरु मारमा पर्नुले पनि बैंकिङ करियर सिएको लागि उचित होला त  भन्ने प्रश्नमा ठूलो प्रश्नचिन्ह लागेको छ । यसै बीच बैंकहरु मर्ज हुँदा अनुभवि सिएहरुलाई समेत गाह्रो परेको, रोजगार कम्पनीको राजनीतिले गाह्रो पारेको र बार्गेनिङले समेत अफ्ट्यारो पारेको तथ्य सार्वजनिक भएको छ ।  




मर्जरले अनुभवीलाई समेत घाटा 

पछिल्लो समय नेपाल राष्ट्र बैंकको नीतिका कारण धेरैजसो बैंक मर्जरमा गएका छन् । दुई वा सो भन्दा बढी बैंक मर्ज हुँदा सबै बैंकका सबै कर्मचारी रहन्छन् भन्ने हुँदैन । त्यसैले पनि अनुभव भएका तर मर्जरको समयमा जागिरका लागि ‘थप सिफारिस’ नपुगेकाहरू बिचल्लीमा पर्ने गरेका छन् । मर्जरको समयमा कुन कर्मचारीलाई राख्ने वा कसलाई नराख्ने भन्ने विषयमा निकै ठूलो राजनीति हुने गरेकाले पनि अनुभवीले समेत घाटा हुने गरेको सिएहरु बताउँछन् ।

रोजगार कम्पनीको अर्को राजनीति
धेरैजसो बैंकले कर्मचारी पदपूर्तिका लागि अन्य रोजगार प्रदायक कम्पनीको ‘आउटसोर्स’ गर्ने गर्छन् । तर, तीनै कम्पनीका माथिल्लो तहका कर्मचारी समेत आफ्ना मान्छेलाई सिफारिस गर्न पछाडि नपर्ने हुनाले पनि सोझो–सीधा तरिकाले बैंकमा जागिर खान निकै नै गाह्रो छ । कतिपय अवस्थामा कर्मचारीले पाउने तलबमा रोजगारदाता कम्पनीको ‘कमिसन’ को कुरा नमिल्दा समेत सक्षम मानिसलाई पनि बैंकमा जागिर खान पछिल्लो समय निकै गाह्रो पर्ने गरेको छ ।
बार्गेनिङले झनै गाह्रो 
बैंकमा जागिर खान खोज्नेको संख्या यसरी वृद्धि भएको छ कि कतिपय अवस्थामा सिएहरु तल्लो तहमा पनि जागिर खाना राजी भइरहेका छन् । कतिपयले बैंकमा जागिर खान वा बैंकमा आफ्नो करिअर सुरु गर्नकै लागि निकै कम तलबमा काम गर्न राजी हुने कारणले पनि बैंकको जागिर निकै कठिन हुने गरेको छ । बैंकमा अन्तर्वार्ताकै क्रममा आफूले अपेक्षा गरेको तलब सुविधा भन्न लगाउने र कम शुल्कमै प्रतिस्पर्धा हुने गरेकाले पनि बैंकमा जागिर खान अझ गाह्रो भएको जानकार बताउँछन् ।
काठमाडौंमा प्रधान कार्यालय रहेको एक बैंकका ‘एचआर’ विभाग प्रमुख गम्भीर हुँदै भन्छन्, ‘मेरो नाम नखुलाइदिनुस्, तर सत्य यही हो, बैंकमा जागिर खान राम्रो सिफारिस चाहिन्छ । हाम्रो काम पनि त्यही सिफारिसको सुनुवाई गर्न संयोजन गर्ने मात्र भएको छ ।’

यो पनि पढ्नुहोस् :
भ्याकेन्सीको नौटंकी :  योग्य सिए ‘भुतुक्क’… उता अर्कैले जागिर पाउँछ सुटुक्क !


भ्याकेन्सीको नौटंकी ! कतिपय बैंकमा सिए मागिन्छ बस्, राखिंदैन!

प्रतिक्रिया दिनुहोस्