
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं काउन्सिलको चुनावमा संस्थाको उपाध्यक्षका दाबेदार चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार काफ्ले र पियुष आनन्द बिजयी बन्न सफल भएका छन् । आइतबार र सोमबार सम्पन्न सो चुनावमा काफ्ले र आनदले जित हाँसिल गर्न सफल भएका हुन् ।
सुजन कुमार काफ्लेले यस अघिको चुनाव हारेका थिए भने आनन्द यो काउन्सिलमा पनि पार्षद् थिए । आनन्दलाई यसपटक उपाध्यक्ष बनाउने जेन्टलमेन्ट एग्रीमेन्ट भईसकेको छ । अर्थात अवको आइक्यानका उपाध्यक्ष पियुष आनन्द नै हुनेछन् । यद्यपी त्यसका लागि औपचारिकता भने बाँकी छ ।
सुजन काफ्ले पनि अर्को कार्यकालमा उपाध्यक्ष हुने लगभग निश्चित छ । अर्कोपटक भाष्कर लालालाई उपाध्यक्ष बनाउने कि पहिला सुजन काफ्लेलाई बनाउने भन्ने कुरा मात्र छिनोफानो गर्न बाँकी हो । काफ्ले र पियुष दुवै हाल प्राक्टिसमा छन् ।
काफ्ले र आनन्दसँगै युद्धराज ओली, भाष्कर लाला, सन्तोष काफ्ले, राम चन्द्र खनाल, छेत्र गोपाल ध्वजु, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठले आइक्यानको चुनावमा जीत हात पारेका छन् ।
कुल १० पदका लागि चुनावमा १६ जना भिडेका थिए । जसमा कुनाल क्याल, सन्तोष लम्साल, जयनारायण प्रतिहस्त, सतिश चन्द्र लाल, बिनय प्रकाश श्रेष्ठ, र अमन उप्रेतीले चुनाव हारेका छन् । यी मध्ये पनि कुनाल कयालको सबैभन्दा लज्जास्पद हार भएको छ । सिंगो एक्यानको नेतृत्व गरिरहेका आनन्द शर्माको समूहको समर्थनमा उठेका कयालको हारलाई विशेष अर्थका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्