
२०४१ सालमा तेह्रथुमको सिंहबाहिनी माध्यमिक विद्यालयबाट मैले एसएलसी उतीर्ण गरेको हुँ । म दोश्रो श्रेणीमा उतीर्ण भए पनि त्यो साल जिल्लाभरिबाट पास हुने ५ जनामध्ये म जिल्ला फस्ट हुँ । त्यसबेला प्रथम डिभीजनमा एसएलसी उतीर्ण हुनु भनेको निकै ठूलो कुरा हुन्थ्यो । मैले पनि अपेक्षा प्रथम श्रेणीकै गरेँ पनि दोश्रो श्रेणीमा चित्त बुझाउनु पर्यो ।
त्यो बेला एसएलसीसम्म पढ्नु नै ठूलो कुरा हुन्थ्यो । अझ ग्रामीण र दुर्गम भेगमा त एसएलसी उतीर्ण गर्नु निकै ठूलो उपलब्धि मानिन्थ्यो । अहिलेको जस्तो पढ्न पाउने सुविधा थिएन । गाउँमा शिक्षकको उस्तै कमी थियो, बाहिरबाट शिक्षक गाउँमा पढाउन जान मान्दैन थिए । गाउँमा जस्तो शिक्षक उपलब्ध थिए, तिनीहरुले जानी–नजानी पढाएको कुरामा हामी भर पर्नुपर्ने अवस्था थियो । कयौं कुरा सही पढियो होला, कयौं कुरा गलत । स्रोत साधन थिएन, ट्यूसन पढ्ने भन्ने संभावना पनि थिएन ।
जिल्ला फस्ट भए पनि भने मेरो रिजल्ट ५६ प्रतिशत मात्र हो । त्यतिबेला ७०० पूर्णांक हुन्थ्यो । पहिला ९ सय पूर्णांकको एसएलसी भए पनि हाम्रो ब्याचदेखि ७ सयमा झरेको थियो ।
रिजल्टको छटपटी
त्यसबेला सामान्यतया परीक्षा सम्पन्न भएको यति महिनापछि रिजल्ट आउँछ भन्ने तालिका हुन्थ्यो र लगभग तोकिएको समयभित्रै एसएलसी रिजल्ट बाहिर आउथ्यो । त्यसबेला एसएलसीको रिजल्ट आयो रे भन्ने कुरा मैले रेडियो नेपालको समाचारबाट थाहा पाएको थिएँ । आफ्नो रिजल्ट त करिब ४ दिनपछि मात्र थाहा भयो ।
त्यसबेला रिजल्ट थाहा पाउने दुईवटा माध्यम मात्र थियो, एउटा गोरखापत्र र अर्को दूरसंचारको आकाश वाणी(आवा) सेवा । आकाशवाणीका लागि समेत काठमाण्डौमा कोही आफन्त हुन आवश्यक थियो । चिनेजानेको नहुनेले कयौं दिनपछि गाउँमा पुग्ने गोरखापत्रको भर पर्नुपर्ने अवस्था थियो ।
तपाईहरुलाई अचम्म लाग्नसक्ला, एसएलसी उतीर्ण हुँदासम्म पनि मैले टेलिफोन देखेको थिइँन । मलाई सम्झना भएसम्म कसैले काठमाण्डौबाट दूरसंचारको आवा सेवामार्फत तेह्रथुम र सिंहबाहिनीबाट उतीर्ण हुनेहरुको सूचि उपलब्ध गराइदिएछ, रिजल्ट भएको ४ दिनपछि । बुबा बजार जानु भएको थियो, आवाले भनेको कुरा थाहा पाएपछि साँझमा घर आई उहाँले सुनाएपछि मात्र मैले दोश्रो श्रेणीमा एसएलसी उतीर्ण गरेको थाहा पाएको थिएँ ।
साकार भएन फस्ट डिभीजनको सपना
सामान्यतया मलाई पास हुन्छु भन्ने चाहि थियो । आफैंले थाहा पाएको कुरा लेख्ने हो, जानेको कुरा लेखिएकै थियो । फेरि मैले त सबै प्रश्नहरुको उत्तर दिएको थिएँ, कुनै प्रश्न छुटाएको थिइँन । म १ कक्षादेखिकै फस्ट ब्वाई थिएँ । फस्ट डिभीजन आउला कि नआउला, कति चाहि नम्बर आउला भन्ने छटपटीले सो बेला मलाई निकै सताएको थियो ।
अन्य कक्षाको रिजल्ट वा परीक्षाको कुरामा खासै दवाब र डर हुन्थेन । तर एसएलसीको अनौठो किसिमको दवाब थियो । एसएलसी पास नभए पढ्नै नपाइने भो, क्यारियर पछाडि पर्छ भन्ने थियो । पास नभए क्यारियरमा असर पर्छ, जिन्दगी नै बर्बाद हुन्छ भन्ने खालको डर थियो ।
खुशी क्षणिक, टेन्सन थपियो
म निकै खुशी भएँ । साथीभाईमा ३ जना मात्र पास हुनु अर्को दुःखको कुरा थियो । हाम्रो विद्यालय सदरमुकामको विद्यालय भएकोले त्यहाँबाट धेरै पास हुने आशा गरिएको थियो, तर रिजल्ट उल्टो आयो । रिजल्ट आएपछिको खुशी क्षणिक हुँदो रहेछ । त्यसपछि कहाँ जाने, के पढ्ने, कुन विषय छनौट गर्ने भन्ने टेन्सनले खूबै सताएको थियो । पास भएको खुशी क्षणभरमै सिद्धियो र अब के गर्ने भन्ने बिषयको टेन्सन थपिएको थियो ।
घरमा स्वभाविक प्रतिक्रिया
हामी ३ जना दाजुभाई हौं, म चाहि कान्छो छोरा हुँ । एसएलसीमा म उत्तीर्ण भएपछि त्यो खुशियालीमा घरमा केही न केही मीठो पाक्यो, तर यो नै पाक्यो भन्ने कुरा मैले बिर्सिएँ, ३२ वर्ष बितिसकेको छ त्यो क्षण । धेरै ठूलो हर्ष उल्लास चाहि छाएन । कारण हाम्रो परिवारमा एसएलसी पास गर्नु अनौठो वा नौलो थिएन । कारण माइलो दाई, जेठो दाई दुवैले एसएलसी पास गरिसक्नुभएको थियो । मेरो बुबाले समेत २०१५ सालमै एसएलसी पास गर्नुभएको थियो । हाम्रो परिवार पढ्ने परिवारमै पथ्र्यो, यसकारण मेरो एसएलसी पासले ठूलै खुशी ल्यायो वा उल्लास छायो भन्न मिल्दैन ।
बरु त्यतिबेलाको पढाईमा हुने गरेको लैंगिक विभेदको कुरा म अझै सम्झन्छु । त्यतिबेला छोरी मान्छेहरुले एसएलसी पास गर्नु साच्चिकै ठूलो कुरा मानिन्थ्यो । कयौं छोरी मान्छेहरु एसएलसीसम्म नै नपुगी विवाह गर्न बाध्य हुन्थे, बनाइन्थे ।
भरियाले ल्याए मार्कसिट
दुर्गम पहाडी क्षेत्र भएकोले त्यसबेला मोटरबाटो पुग्ने कुरै भएन । यसकारण धरानमा आएको हाम्रो विद्यालयको मार्कसिट रिजल्ट भएको १ महिनापछि भरियाले बोकेर ल्याइदिए । मार्कसिट पाएपछि मेरो अपेक्षा विपरीतको रिजल्ट देखियो । मेरो मुख्यतया तीनवटा विषयमा अपेक्षा गरेभन्दा कम नम्बर आएको थियो, यही कारण म फस्ट डिभीजन हुन सकिँन । अनिवार्य गणितमा सोचेभन्दा कम नम्बर आयो, नेपाली र अंग्रेजीमा पनि त्यस्तै भयो । बरु अरुमा चाहि सोचेभन्दा बढी नै आयो । अनिवार्य गणितको चाहि परीक्षामा पनि गाह्रै लागेको थियो । जाने जति अंग्रेजी सबै लेखेजस्तो लाग्थ्यो, अहिले सम्झन्छु, सायद हामीले जे जानेको थियौं, त्यो पर्याप्त होइन रहेछ । त्यो बेला ४ कक्षादेखि मात्र एबीसीडी पढ्नुपथ्र्यो ।
५ महिना कुर्दा झण्डै छुटेको !
गाउँमा सपना देख्नलाई पनि विपनामा देख्नुपर्दो रहेछ । जुन चिज देखेको छैन, सपनामा त्यो कसरी आउँछ र ? यस्तै भएको थियो मलाई पनि । हामीलाई डाक्टर, इञ्जिनियर, पाइलट के हो केही थाहा थिएन । गाउँमा खरदार, सुब्बा, अधिकृत, शिक्षकसम्म देखेका थियौं, अरु कोही देखेको थिएन । मेरो बुबाको सपना चाहि मलाई इञ्जिनियर बनाउने भन्ने थियो । यसमा पनि खास कारण लुकेको छ । मेरो बुबा ठेक्कापट्टामा संलग्न हुनुहुन्थ्यो, सो क्रममा सायद उहाँले इञ्जिनियरको रवाफ देख्नुभएको थियो र त्यहीबाट प्रभावित भएर मलाई इञ्जिनियर पढाउने भन्नुहुन्थ्यो । म इञ्जिनियर नै पढ्न भन्दै कस्सिएर काठमाण्डौको पुल्चोक कलेज गएको थिएँ, त्यहाँ जाँदा पो थाहा भयो मैले ल्याएको प्रतिशतले इञ्जिनियर पढ्न नपाइँदो रहेछ ।
त्यसपछि कुनै नेताले बुबालाई ग्रामीण कोटाबाट कलेजमा भर्ना दिलाइदिने आश्वासन दिएछन् । आश्वासनको पछि लागेर कुर्दा कुर्दा ५ महिना बितेको थियो । यस्तो अवस्था आयो कि, मैले पहिलो वर्ष नै गुमाउनुपर्ने भयो । त्यसपछि धरान फर्किएर त्यहाँको महेन्द्र बहुमुखी क्याम्पसका सरहरुलाई अनुरोध गरियो । सरहरुले ४ महिना पढाई भइसक्यो, तिमीले सक्दैनौं भन्नुभयो । तर मैले कभर गर्नसक्छु भनेपछि त्यहाँ बल्लतल्ल एड्मिसन पाएँ आइकममा । पछि बुबाले नै आइडिया दिनुभयो । पछि सिए पढ्नुपर्छ भनेर, उहाँले नै देखाउनुभएको बाटोमा म हिडँेको हुँ ।
हाउगुजी होइन एसएलसी
वास्तवमा हाम्रो देशमा शिक्षा प्रणालीहरु धेरै परिवर्तन भएका छैनन् । अन्तर्राष्ट्रिय स्तरमा १२ कक्षासम्म स्कूल र त्यसपछि मात्रै कलेज हो भन्ने प्रणाली वर्षौअघिदेखि लागू छ । हामीले पनि यो काम धेरै पहिला गर्नुपथ्र्यो । मान्छेले एसएलसीलाई यति ठूलो हाउगुजी बनाए कि, एसएलसी फेल हुने बित्तिकै जिन्दगी नै सिद्धियो भन्ने भ्रम छरियो । तर त्यस्तो होइन । एकवर्ष ढिलो भएर के फरक पर्छ ?
यी सबै परिस्थितिका कारण सरकारले यसपटकदेखि विद्यार्थीको ज्ञान अनुसारको ग्रेडिङ गरिदिएको छ । किनभने समाजमा हरेक व्यक्ति फरक हुन्छ, हरेक व्यक्तिको ज्ञान र नलेजको आवश्यकता पर्छ समाजलाई । पास र फेल भन्दा पनि ग्रेडिङ र एजुकेसन लेभल यो है भनिदिंदा त्यही अनुसारको काममा जाने, फर्दर स्टडीमा जाने कुरा राम्रो हो । एसएलसीमा ग्रेडिङ धेरै पहिले हुनुपथ्र्यो भयो, राम्रै होला । अब अर्को वर्षदेखि १२ कक्षासम्म स्कूल नै बनाउनुपर्छ ।
तर, म सुन्दैछु निश्चत ग्रेड भन्दा तलको मान्छेले प्लस टुमा एडमिसन नपाउने भन्ने कुरा, यो चाहि फेरि गलत भयो । यस्तो भन्नु त फेरि फेल जस्तै भइहाल्यो नि । कुनै कुनै कलेजमा विद्यार्थी नपाएर खालि हुने अवस्था आउन सक्छ । कलेज आफैले छानेर विद्यार्थी लिने व्यवस्था गरिदिए भइहाल्यो नि । विद्यार्थीले एउटामा नपाए अर्कोमा, अर्कोमा नपाए अर्कोमा अवसर पाउँछ नि ।जस्तो मैले इञ्जिनियरमा पाइँन, शंकरदेवमा नाम निस्किएन, तर धरानमा त पाएँ नि ।
विद्यार्थी आफूले छानेर पढ्न पाउनुपर्छ । यो ग्रेड भन्दा तलकोले नपाउने भनिदिएपछि त फेरि कुरा पहिलाकै ठाउँमा पुगिहाल्यो नि । यसले दुर्घटना हुनसक्छ । ग्रेडिङ दिने अनि पढ्न पनि नपाउने भन्ने पनि कहीँ हुन्छ ?एसएलसीको ग्रेडिङको काम फर्दर पढ्न पाउने भन्ने हो, अनि पढ्नै नपाएपछि ग्रेडिङको के अर्थ ?
एसएलसी दिने भनेको बच्चा नै उमेर हो। एसएलसीमा खासै प्रगति गर्न नसक्नेले प्लस टु र त्यसभन्दा माथिको लेभलमा पनि थप प्रगति गर्न सक्छ भन्ने कुरा बिर्सनु हुन्न । जस्तो मेरै हेर्नु न, मेरो प्रतिशत एसलएसली भन्दा आइकममा बढी छ, आइकमको भन्दा बिकममा र बिकम भन्दा सिएमा बढी छ । मानसिक रुपमा परिपक्व हुँदै गएपछि त्यो मान्छेले आफूलाई अझ विकास गर्न सक्छ । एकवर्ष पछि पर्ने बित्तिकै मानिसमा डिप्रेसन आउँछ, नकारात्मक कुरा आउँछ, यी कुरालाई चाहि कम्तीमा १२ कक्षासम्म छाडिदिनुपर्छ भन्ने भनाई हो ।
विद्यार्थी–अभिभावकबीच छलफल आवश्यक
एसएलसी दिने बित्तिकै म यो पढ्ने भन्ने कुरामा विद्यार्थी आफैंले निर्णय गर्न सक्दैन, कारण उसको निर्णय परिपक्व नहुन सक्छ । अभिभावकसँग छलफल गर्नुपर्छ । आफ्नो चाहना पनि हेर्नुपर्छ, हाम्रो जमानाको भन्दा विद्यार्थी अहिले धेरै एड्भान्स छन्, इन्टरनेट लगायतका रिसोर्सेजहरुका कारण । विद्यार्थीले बिषयको छनौट गर्दा आफ्नो क्षमता र कमजोरी पनि हेर्नुपर्छ । बाबुआमाको चाहना एउटा र विद्यार्थीको अर्को हुँदा द्वन्द्व हुनसक्छ, यसमा विद्यार्थी र अभिभावक बसेर सही निर्णय गर्नुपर्छ ।
विद्यार्थीको इच्छाविपरीत भएको निर्णय पछि आत्मघाती हुनसक्छ । अभिभावकको दवाबमा पढेको कुराले गलत परिणाम निकाल्छ, उसले नराम्रो गर्नसक्छ, मानसिक यातना हुनसक्छ । विद्यार्थी र अभिभावक बसेर सल्लाह गरेर बेटर निर्णय लिनुपर्छ ।
व्यवस्थापन पनि उत्तम विकल्प
व्यवस्थापन पनि राम्रो विषय हो । भोलिको स्कोप पनि राम्रै छ । तर सबै क्षेत्रमा स्कोप छ, आफूले राम्रो परफर्म गर्नुपर्छ । प्राविधिक बिषयमा चाहि तत्काल जागिर पाउने संभावना हुन्छ । व्यवस्थापन, मानविकी लगायतमा अलिक ठूलो प्रतिस्पर्धा होला, तर राम्रो गर्न सके यी क्षेत्र पनि कम दमदार छैनन् । तर रुचि नभएको बिषयमा नजान म विद्यार्थीलाई सुझाव दिन्छु । विद्यार्थीले गरेका सबै निर्णय परिपक्व नहुन सक्छन, यसमा विद्यार्थीलाई अभिभावकले सघाउनु पर्छ ।
(नेपाल बंगलादेश बैंकको सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगानासँग बिजशालाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्