
१४ बर्षको फुच्चे केटो एसएलसी दिंदै थियो । एसएलसीको परिक्षा दिंदै छ भनेर कसैले पनि पत्याउँदैनथे । मलाई अझै पनि याद छ एसएलसीको परीक्षाको त्यो समय गणित विषयको परिक्षा थियो । म गणितमा निकै राम्रो थिएँ । गणित विषयमा २ घण्टा २० मिनेट मा आफ्नो परिक्षा सकेर कक्षाभर सिकाउंदै हिडियो । झन्डै पक्रिएको, धन्न बचियो । सरकारी स्कुलमा पढें । कोर्ष पूरा भएकै थिएन । अझ रमाइलो कुरा त के थियो भने पहिलो दिन मलाई झन्डै यो एसएलसी दिने विद्यार्थी नै होइन भनेर प्रहरीले भित्र छिर्ने दिएको थिएन । पछी बुझेर दियो । सानो भएकाले एसएलसी दिने जस्तो पनि देखिदिनथिएँ रे ।
म स्कुल टपर थिएँ । एसएलसीमा प्रथम श्रेणीमा उतिर्ण हुने हामी तीन जना थियौं । छुट्टै शान थियो । तर मैले व्यवस्थापन पढें भन्दा धेरैले नाक खुम्च्याए । गाउँको टपर, प्रथम श्रेणीमा उतिर्ण भएकोले बिज्ञान पढ्नुपर्छ भन्ने थियो । तर मलाई सिए बन्नु थियो र मैले व्यवस्थापननै पढें । अहिले ११ बर्ष भइसकेछ । त्यतिबेला ६४ प्रतिशत ल्याउँदा कति शान हुन्थ्य्यो । अहिलेको नतिजा सम्झेर छक्क पर्छु । गणितमा ८४ आउँदा गाउँ भरिकै गणितको माष्टर जस्तै शान हुन्थ्यो । सरकारी स्कुल भएकाले पूरै कक्षामा झन्डै ३०० विद्यार्थी हुन्थे । एसएलसीमा पास हुनु ठुलो कुरा मानिन्थ्यो ।
हाम्रो परिवारमा सबै टपर नै थिए । त्यसले झन् तनावको महसुस हुन्थ्यो । आफ्नो नतिजाचाहिं कस्तो हुने हो भन्ने तनाव हुन्थ्यो । अहिले मेरी एक बहिनी एमबिए सकेर बस्नु भएको छ । दाइ इन्जिनियर हुनुहुन्छ र म सिए छु । त्यो एसएलसी सम्झंदा साच्चै रमाइलो लाग्छ ।
(सिए शेषमणि दाहालसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्