- सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई पेश गरेको प्रतिवेदन सार्वजनिक भएपछी अहिले यो विषयले नेपाली सिए क्षेत्र तातेको छ । अझ उक्त प्रतिवेदनमा यस विषयमा एक्यानसँग छलफल भएको छ भन्ने उल्लेख भएपछी यस विषयमा थप बहस सुरु भएको छ । टास्क फोर्सले आइक्यानलाई बुझाएको प्रतिवेदनको पूरा विवरण सिए सरोकार डटकमले सार्वजनिक गरेपछि अझ यस विषयमा सिए क्षेत्रको माहोल तातेको छ । तर यस विषयमा काठमाडौँमा सरगर्मी बढ्दा एक्यानको नेतृत्व कहाँ छ भन्ने प्रश्न सबैले सोधिरहेका बेला हामीले एक्यानका उपाध्यक्ष रहेका सिए रमेश धितालसँग विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ सिए सरोकारका प्रतिनिधि सुरज प्याकुरेलले उनै धितालसँग गरेको संक्षिप्त कुराकानी :
-रमेशजी कहाँ हुनुहुन्छ ? सम्पर्कमै हुनुहुन्न नि ? फोन लाग्न किन गाह्रो ?
-खासमा म काठमाडौँभन्दा बाहिर छु । त्यसैले होला । तिहार लगत्तै परिवार र साथीभाईसँग कर्णाली घुम्न आएका थियौं । कतै फोन नलाग्ने कतै लाग्ने तर कुरा गर्न थाल्यो कि काटिने भएर सम्पर्क हुन नसकेको हो । काठमाडौँ फर्कने तयारी गरिरहेका छौं ।
-आइक्यानले गठन गरेको एउटा टास्क फोर्सले आइक्यानलाई बुझाएको प्रतिवेदनबारे थाहा पाउनुभयो ?
अँ ! थाहा पाएँ । सिए सरोकारले पूरै प्रतिवेदन नै हालेको रहेछ, पढेको थिएँ ।
-एक्यानसँगको सल्लाहमै सबै कुरा भएको भन्ने आशय छ नि त प्रतिवेदनमा के भन्नुहुन्छ ?
त्यो देखेर म पनि छक्क परेको छु । साथीभाइहरु पनि अचम्मित भएका छन् । हामीसँग त्यस्तो कुनै पनि छलफल भएको छैन । यस्तो विषयमा हामीले छलफल गर्ने कुरा पनि भएन । सिएको आफ्नै ‘भ्यालु’ छ । सिएको पाठ्यक्रम अनुसार नपढी कसैलाई सिए बनाउने भन्ने कुरामा हामी छलफल गर्न त के, त्यो कुरा सोच्न पनि सक्दैनौं । यो विषयमा म स्पष्ट पार्न चाहान्छु कि हामीसँग कुनै पनि खालको छलफल भएको छैन । आरएहरुलाई कर्मकाण्डी प्रक्रिया पूरा गरेर सिए बनाउने भन्ने कुरामा हामी छलफल गर्न पनि सक्दैनौं । यो पूरापूर सिएको कोर्सको अन्तरभावना र यसको संवेदनशीलता विरुद्ध छ ।
-तपाईंहरुले छलफल नगरी कसरी नाम आयो त ?
हाम्रो कुरा पनि त्यहि हो । हाम्रो खण्डन र विरोध पनि त्यहि कुरामा हो । हामीबीच कुनै सल्लाह नै नभएको अवस्थामा एक्यानकै सहमतिमा सब भएको जसरी एक्यानलाई गलत देखाउने र साथीहरुबीच मतभेद ल्याउने काम भएको छ । जसको जति खेद गरे पनि पुग्दैन । हाम्रो नाम गलत रुपमा आयो भनेर एक्यानले विज्ञप्तिमार्फत पनि भनिसकेको छ । काठमाडौँ आएपछि अध्यक्षसहितको बैठक बस्नेछ । हाम्रो स्पष्ट कुरा यहि हो- आरएलाई सिए बनाउन बाटो सहज गर्ने भन्ने विषयमा हाम्रो गम्भीर असहमति पनि छ र त्यस विषयमा हामीसँग छलफल भएको भन्ने कुरा पनि गलत हो ।
-भनेपछि तपाईंहरुलाई आइक्यानले यस विषयमा राय मागेको छैन ?
छैन । संघ भनेको कोहि व्यक्ति विशेष होइन । यसका आफ्नै प्रक्रिया हुन्छन् । आइक्यानमा हामीलाई बोलाइयो होला, हामी कुनै विषयमा कुरा गर्न गयौं होला, त्यो फरक कुरा हो, तर आरएहरुको विषयमा कुराकानी गर्न हामीलाई बोलाइएको पनि छैन, र यस विषयमा कुनै पनि छलफल पनि भएको छैन । हामीले राय दिने भनेको मौखिक पक्कै हुँदैन । म आइक्यानलाई हामीले यस विषयमा कुनै राय दिएको भए सो देखाउन चुनौती दिन्छु । कोहि एक्यानका सदस्यसँग सुटुक्क कुरा कसैले गरेको हो भने थाहा भएन । म एक्यानको उपाध्यक्ष हुँ, एक्यानसँग राय मागेको भएपनि वा एक्यानले राय दिएको भएपनि मलाई थाहा त हुनुपर्यो नि ! मैले त एक्यानको नाम जोडिएको रहेछ भन्ने कुरा नै सिए सरोकारले छापेको उक्त प्रतिवेदन हेरेर थाहा पाएको हुँ । त्यसैले यो सरासर गलत छ । हामीले राय दिएको भए त राय मागिएको भन्ने चिठी होला, राय दिएको भन्ने पत्र होला, राय यस्तो दिने भनेर हाम्रो बैठकमा छलफल भएको हुनुपर्ने होला । यी कुराहरु केहि छैनन् । त्यतिकै हावा तालमा कसैको नाम जोडेर कसैलाई बदनाम गर्न मिल्दैन । यो कार्यको फेरी पनि भ्रत्सना गर्दछु ।
भनेको तपाईंहरुको संघको नाम मुछेर फर्जी काम गरियो ?
हो, यो त सरासर फर्जी काम भयो । फर्जी भन्दा पनि गलत केहि छ भने त्यहि भयो । तर जे भयो गलत भयो । एक्यानको हालको नेतृत्वलाई गलत देखाउने काम भयो । एक्यानका सदस्यहरुबीच फाटो ल्याएर कसैले आफ्नो स्वार्थपूर्ति गर्न खोजेजस्तो भयो ।
अव के गर्नुहुन्छ ?
हामी यस विषयमा थप छलफल गर्नेछौं, गर्दैछौं पनि । पेल्न खोजियो भने थप संघर्षका कार्यक्रमहरु अगाडी बढ्छन् । समग्र प्रोफेसनको हित विपरित हुने काम एक्यानले गर्न दिंदैन । म आइक्यानका आदरणीय सरहरुलाई पनि त्यहि अनुरोध गर्छु, सिए भनेको सिए हो, आरए भनेको आरए हो । प्रोफेसनको मर्म विपरित जान खोजे दुर्घटना हुन्छ ।
अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
यस्तो संवेदनशील घडीमा आफ्नो कुरा राख्न दिएकोमा सिए सरोकारलाई धन्यवाद ! म फेरी पनि हाम्रा सदस्यहरु र अन्य सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहान्छु कि आरएहरुलाई कुनै पनि हालतमा सहज बाटोमा सिए बनाउने कुरामा हाम्रो गम्भीर असहमति छ । यो प्रक्रिया कुनै हालतमा पनि निर्णयार्थ प्रस्तुत हुनु हुँदैन भन्ने कुरामा हामी अडिक छौं । आइक्यानलाई पनि यस्ता कामको पछी नलागी समग्र प्रोफेसनको हितका लागि अगाडी बढ्न आग्रह गर्न चाहान्छु । केहि व्यक्ति विशेषलाई भन्दा पनि समग्र प्रोफेसनका लागि काम गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्