Skip to content

एक्यानको कार्यक्रममा राष्ट्रपति पौडेलले भने- ‘लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन्’

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताएका छन् । उनले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताएका हुन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज यहाँ आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने, ‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’

लेखापरीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टका विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

‘कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुन सक्दछ ।’, राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्