Skip to content

सिए कन्फेरेन्सको राउण्ड टेबलमा प्रभुराम भण्डारी : भन्छन् ‘सिएको विज्ञतालाई विकासमा किन प्रयोग नगर्ने ?’

  • नयाँ पत्रिका राउण्ड टेबल 
नेपालमा सञ्चालित सबै प्रकारका संस्था, उद्योग (निजी–सरकारी) सबै राष्ट्रिय सम्पत्ति हुन् । एउटा उद्योग फस्टाउँदा त्यसले अन्ततः राज्यलाई नै योगदान गरिरहेको हुन्छ । उदाहरणका लागि एनसेल, यो कम्पनीमा कुनै समस्या आउँदा त्यसले पूरै राज्यमै असर पारेको हुन्छ । त्यसकारण, सिए भनेको पर्दापछाडि बसेर केवल अडिट गर्ने मात्र हो भन्ने सोचाइ राख्नु गलत हुन्छ । एउटा उद्योगीको लक्ष्य पैसा कमाउने भन्ने हुन्छ, तर सिएहरूको सोचाइ यसरी कमाएको पैसालाई कसरी व्यवस्थापन गर्ने भन्ने हुन्छ । एउटा कम्पनीले कमाएको पैसालाई कसरी व्यवस्थापन गर्ने ? यो विशेषज्ञता हामी प्रदान गर्छौं ।
राज्य अहिलेको कर संकलनमा केन्द्रित छ । अनेक उपाय लगाएर राज्य कर संकलनमा जुटेको हुन्छ । लक्ष्यमा प्रतिस्पर्धा हुन्छ । तर, कर संकलनभन्दा ठूलो काम उठेको रकम खर्च गर्नु हो, अर्थात् उक्त रकमको सही व्यवस्थापन र सदुपयोग हो । पैसा त उठायो, तर ढुकुटीमा थुपारेको रकम प्रयोगविहीन छ । त्यसले राष्ट्रिय विकासमा के योगदान गर्‍यो त ? जब प्रयोग नै नगर्ने हो भने जनतालाई त्यति धेरै कर किन लगाएको ? त्यसकारण, कोषको व्यवस्थापनमा हामी दक्ष छौँ । हाम्रो विज्ञता त्यता छ । सिए पढ्ने वेला अर्थतन्त्रको एउटा साइकलको हरेक क्षेत्रबारे हामी जानकार हुनैपर्छ । एउटा चार्टर्ड एकान्टेन्ट बन्दाखेरि नै उसले निकै अनुभव लिइसकेको हुन्छ र विशेषज्ञ बनिसकेको हुन्छ । यो जनशक्तिले अध्ययनकै क्रममा रकमको व्यवस्थापन, कानुनी पाटो र अर्थतन्त्रबारे बुझिसकेको हुन्छ । त्यसैले, राज्यले संकलन गरेको रकम उपयोगमा सिएको उपयोगबाट सरकारले लाभ लिन सक्छ । 
नेपालमा सिएका रूपमा एउटा ठूलो दक्ष जनशक्ति तयार भएर बसेको छ । हामीले उसलाई राज्यको विकास र समृद्धिमा किन प्रयोग गर्न सकेका छैनौँ ? केवल अडिटमा मात्र सिएको कामलाई सीमित नपार्नुहोस्, किनकि यो जनशक्तिले बिजनेस बढाउन, कोषको सही सदुपयोग गर्न र त्यसबाट समग्र अर्थतन्त्रको विकासमा योगदान गर्छ । 
नेपालले अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न निरन्तर आह्वान गरिरहेको छ । तर, खै लगानी ? अहिले पनि देश लगानी सम्मेलनको तयारीमा छ । देश र लगानीकर्ता आउँछन् र प्रतिबद्धता पनि गर्छन् । ठूलो रकम दिने प्रतिबद्धता प्राप्त हुन्छ । तर, खै त पैसा ? त्यसकारण, के बुझ्नुपर्‍यो भने नेपालमा केही न केही गलत भइरहेको छ । नेपालले जति लगानीकर्ताका लागि अफर गर्छ, त्योभन्दा राम्रो अफर अन्य मुलुकले गरिरहेको छ । त्यसकारण, पैसा अन्त गयो । अब नेपालले करसम्बन्धी प्रणालीमा परिवर्तन गर्नुप¥यो । मजदुरसँग सम्बन्धित कानुनमा परिवर्तन गर्नुपर्‍यो या नेपालमा पैसा ल्याउन जति सजिलो छ, फिर्ता लैजान उत्तिकै कठिन पो छ कि ? यसबारे पनि मूल्यांकन गर्नुपर्‍यो । 
लगानीकर्ताले नाफाघाटाको मूल्यांकन गरेको हुन्छ । त्यही आधारमा लगानी गर्छ । हामीले आऊ भन्दैमा आउने होइन, त्यसकारण के कमजोरी छ, त्यसमा सुधार गर्नुपर्छ, यसमा सिएको विज्ञता सहयोगी बन्न सक्छ । राज्यले विज्ञ समूहबाट सहयोग लिन सक्नुपर्छ । अहिले सरकारको काम गर्ने–गराउने क्षमता कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्