Skip to content

अफ द बिट : फुट्सलको रमाइलो त छँदैछ, कार्यक्रममा ‘हल्का रमाइलो’ गर्दै सिएहरुले गरे छुट्टै राजनीति !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको पहिलो फुट्सल मेनियामा फुट्सलको रमाइलोसँगै सिएहरुले राजनीति गर्न पनि भ्याए । हुन त पाएपछी ‘प्वाक्क’ दिने मामलामा एक्यानका पहिलेकादेखि अहिलेका पधाधिकारीहरुपनि माहिरनै छन् । आइतबारपनि त्यस्तै भयो । फुट्सल मेनियाको कार्यक्रममा आएका सिएहरुले फुट्सलको रमाइलो त लिए नै, त्योभन्दा बढी आफ्नै खालको राजनीति गरे ।

जीपी राजवहाक एण्ड कम्पनी र सुबोध एसोसीएट्सबीचको खेल चल्दै थियो । कार्यक्रममा विभिन्न सिएहरु उपस्थित थिए । एक्यानका पधाधिकारी त हुने भइहाले नै । विभिन्न कोचीङ सेन्टरका प्रतिनिधि सिएहरु, एक्यानका पूर्वअध्यक्ष भरत रिजाल, आइक्यानका पूर्वअध्यक्ष प्रकाश लम्साल लगायत कार्यक्रममा उपस्थित थिए ।

कुनैबेला एक अर्काका खुलेआम प्रतिद्वन्दी देखिएका प्रकाश लम्साल र भरत रिजाल डेटिङमा बसेका जोडीजसरी आफ्नै कुरामा मस्किरहेको देख्दा धेरैले अचम्म माने । अझ रमाइलो त त्यो बेला भयो, जुनबेला लम्सालसँग लामो समय संगै काम गरेर छुटिएका युद्ध ओलीसँग पनि प्रकाश लम्सालले मस्केझैं गरे ।  मनभित्र जति आगो भएपनि आ-आफ्ना कुरा भए । उनीहरुको बसाइ र कुरा गराई अरुबेलाको भन्दा असामान्य पक्कै थियो । यो दृश्य अलि परबाट हेरिरहेकाहरुले, ‘पीवाईसी फेरी मर्ज हुन थालेछ कि क्या हो ?’ भनेर रमाइलो गरे । नदेखेजस्त गरी लम्साल, ओली र रिजालको समुहलाई धेरैले हेरिरहे । कतिले चुनावको तयारी होला समेत भने।
प्रतियोगीता सकियो । जीपी राजवहाक एण्ड कम्पनीले जित्यो । ४ बजे पोष्ट म्याच कार्यक्रम आयोजना गर्ने भनिएको थियो । त्यहि रुटिन अनुसार सिए तथा पत्रकारहरु कार्यक्रममा उपस्थित थिए । ‘कार्यक्रम किन ढिलो भयो ?’ सबैको जिज्ञासा थियो । कुरा बुझ्दा त एक्यानका अध्यक्षनै कार्यक्रममा रहेनछन् । करिव ४ :४० बजे अध्यक्ष हरि सिलवाल कार्यक्रममा देखिए । ‘समयको बारेमा बोल्न दिनु, हाम्रो हरि दाइलाइ, २ घण्टा बोल्नुहुन्छ, आउनचाहिं बेला बेलामा आफैं भ्याउनुहुन्न ।’ एक सिएले प्वाक्क बोलीहाले । सुन्नेहरु हाँसे ।

पोष्ट म्याच सुरु भएपछी अर्को रमाइलो भयो । सन्तोष लम्साल उद्घोषक थिए । एक्यानको कार्यक्रम भएर हो कि, प्रकाश लम्सालसँगको सम्बन्धका कारण कुरा काट्छन् भनेर हो, उनले आइक्यानका पूर्वअध्यक्षभन्दा पहिला एक्यानका पूर्वअध्यक्षलाई पहिला आसन ग्रहण गराउन नाम बोलाए ।

भरत रिजाललेपनि हल्का राजनीति गरिहाले । ‘सँगै जाउँ भनेर लम्साललाई सार्वजनिक रुपमै अनुरोध गरे रिजालले । जाउँ भने नामनै बोलाएको छैन । नजाउँ भने भरत रिजाल, सँगै जाउँ भनेर हिंड्दै हिंडेनन् । फसादमा परे उनी । पुलुक्क संगै रहेका सिए सरोकारका पत्रकार प्याकुरेललाई हेरे, र मुसुक्क हाँसे । एकछिनपछि नाम बोलाइयो, संगै दुवैजना आसन ग्रहणमा गए । यता उनीहरुको राजनीति बुझेकाहरु खित्का छोडेर हाँस्दै थिए । ‘सधैं यस्तै हुन्छ । रिजाल सर संगै जाउँ भन्छन्, लम्साल मान्दै मान्दैनन’ अडिएन्सतिर बसेका एक अर्का सिए बोलीहाले । सुन्ने सबै हाँसे ।

कार्यक्रममा एक्यान अध्यक्ष बोल्न सुरु गर्दा अर्को राजनीति भयो । अध्यक्ष सिलवालले सार्वजनिक रुपमै भरत रिजालको बिल्ला उडाए । ‘भरतजीपनि आउनु भएको छ । उहाँ आफ्नो बिजनेसमामात्र बढी ध्यान दिनुहुन्छ, सोसल कार्यक्रममा खासै वास्ता गर्नुहुन्न ।’ अध्यक्ष सिलवालले यसो भन्दा सबै हाँसे । रिजाल पनि मुस्कुराए तर उनीभित्रको रिस मुहारमा ठ्याक्कै झल्कन्थ्यो ।

‘बुढाले फुर्ती गरे है । भरत रिजालले एक्यानमा गरेको काम र सिलवालले गरेको काम जोख्ने हो भने रिजालको एक किलो हुँदा सिलवालको मुस्किलले ‘पावा’ पुग्ला’ अर्का सिए बोल्दा अडियन्समा बसेका केहि हाँसे । अगाडी बसेकाहरुले अरु हाँस्नुको मेसो पाएनन् । यस्तो कुरा सुनेपछि अर्को एक सिएको पारा तातेछ । ‘पावा र किलोको फुर्तीचाहिं नलाउँ है ! हरि सिलवालले कति गर्याछन्, हामीलाई थाहा छ ।’ उनी बोल्दा अरु कोहि बोलेनन् ।   

हरि सिलवालको मन्तव्य प्राय: छोटो हुन्न । हिजो पनि भएन । उनले नाम नछुटाई सबैलाई धन्यवादपनि दिए । सन्तोष लम्सालको नाम छुटेछ । मन्तव्य सकिएपछी माइक फेरी मगाएर सन्तोष लम्साललाई धन्यवाद दिए  सिलवालले ।

पोष्ट म्याच कार्यक्रममा पत्रकारहरु पनि बोलाइएको थियो । एक त कार्यक्रम ढिलो भयो । अर्को अध्यक्षको लामो मन्तव्यका कारण पत्रकारहरु अत्तालिए । यो त पत्रकारहरुको पनि रोग हो यो । अरुले बोलेको कम सुन्ने, आफु बोल्न थालेपछी बोलेको बोल्यै गर्ने । अर्कोतर्फ ६ बजेदेखि डेस्कमा बस्ने पत्रकारहरु अत्तालिए । एक्यानका कोशाध्यक्षकै अनुरोधमा सिए सरोकारका पत्रकारले अरु पत्रकार साथीपनि कार्यक्रममा लागेका थिए । यता सोहि दिन बेलुका ६ बजे नेपाल इन्भेष्टमेन्ट बैंकको बार्षिक उत्सव कार्यक्रममापनि अधिकांस पत्रकारहरु जानुपर्ने थियो । अध्यक्षको मन्तव्य लामो भएपछी अरु पत्रकार हिंडे ।

अपेक्षा थियो, भरत रिजालले पनि अव दरो दिने भए भनेर । तर त्यहाँपनि रिजालले राजनीति गरे । ‘समय ढिलो भइसक्यो, मन्तव्य नराखौं, कार्यक्रम अगाडी बढाउँ’ भनेर रिजालले संज्ञा दिए । रिजालको यो कुरा सुनेपछि प्रकाश लम्साललाई नैतिक अफ्ट्यारो पर्यो । उनलेपनि बोलेनन् । रिजालले मन्तव्य नराखौं भनेको खासखुस अगाडी बाट नसुनिएपनि बुझ्न सकिन्थ्यो ।

‘साइलेन्ट रुपमै कडा दिए है भरत सरले । ढिलो गर्ने अध्यक्ष, मन्तव्य नराखेर कार्यक्रम छोट्याउने पूर्वअध्यक्ष ! सक्किए न त !’ दर्शक दीर्घामा बसेकाहरु कानेखुसी गर्न थाले । ‘अर्को सोसल काम गरे है रिजाल सरले, ढिलो भइसक्यो, अव कार्यक्रम सकिने भो !’ दर्शकहरु बोले ।      

प्रतिक्रिया दिनुहोस्